मकवानपुरको मनहरी गाउँपालिकाले शिक्षा क्षेत्रको सुधार गर्न भन्दै एकसाथ १७ जना प्रधानाध्यापकको सरुवा गरेको छ।
गाउँपालिकाले ‘शिक्षामा परिवर्तन’ नाराका साथ प्राथमिक तहका प्रधानाध्यापकलाई एकैपटक सरुवा गरेको हो।
शुक्रबार सरुवा भएका शिक्षकहरुलाई गाउँपालिकाले सरुवाको पत्रसहित आगामी जिम्मेवारी प्रदान गर्दै बिदाइ गरेको छ।
गाउँ शिक्षा समितिको साउन २९ गतेको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए।
‘गाउँपालिकाले शिक्षा र स्वास्थ्यको बजेट बढाएको छ। यस्तो अवस्थामा अब नतीजमुखी काम गर्नुपर्ने हुन्छ। त्यसकारण पहिलो चरणमा प्रअको सरुवा गरिएको हो’, उनले भने।
अध्यक्ष कालाखेतीका अनुसार शिक्षक सरुवामा कुनै पूर्वाग्रह राखिएको छैन।
‘हामीले शिक्षकसँगको सहमतिमै सरुवा गरेका हौं’, उनले भने।
सरुवा भएका शिक्षकहरुलाई मासिक १५ सय रुपैयाँ भत्ताको समेत व्यवस्था गरिएको उनले जानकारी दिए।
‘हाम्रो प्राथमिकता स्वास्थ्य र शिक्षा हो। प्राथमिक तहबाटै शिक्षालाई बलियो बनाएर लैजाने योजना अनुसार यसो गरिएको हो’, उनले भने। दुर्गमका शिक्षकका लागि छुट्टै भत्ताको समेत व्यवस्था गर्न लागिएको उनले जानकारी दिए।
Shares
प्रतिक्रिया