राष्ट्रिय सभा सदस्य पदका १९ सिटका लागि आज सातवटै प्रदेशमा निर्वाचन हुँदै छ। जसअन्तर्गत बागमती प्रदेशमा ४ सिटका लागि मतदान हुँदै छ।
बागमती प्रदेशमा रिक्त हुन लागेका ४ सिटका लागि १५ उम्मेदवार चुनावी मैदानमा छन्। ६ राजनीतिक दलबाट १५ जनाले उम्मेदवारी दिएका हुन्। सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने यसबाहेक तीन दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
कांग्रेसका जितजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट धनश्याम रिजाल सत्ता गठबन्धनदलका साझा उम्मेदवार हुन्। कांग्रेसका बस्नेत अन्य क्लस्टरका उम्मेदवार हुन् भने कांग्रेसकी पुडासैनी महिला, माओवादी केन्द्रका अधिकारी अपांगता÷अल्पसंख्यक र एकीकृत समाजवादीका रिजाल दलित क्लस्टरका उम्मेदवार हुन्।
नेकपा एमालेबाट दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले चुनावी मैदानमा उत्रिएका छन्। नेमकिपाबाट अपांग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर लाल मुलले, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जनले मनोनयन दर्ता गराएका छन्। दलिततर्फ भक्तपुरकी संगीता नेपाली र महिलातर्फ कृष्ण लक्ष्मी दुवाल पनि राष्ट्रिय सभा निर्वाचनको चुनावी मैदानमा छन्।
राप्रपाबाट ३ जनाले उम्मेदवारी दिएका छन्। राप्रपाबाट अपांग क्लस्टरमा चितवनका भरतमणि भट्टले मनोनयन दर्ता गराएका छन् भने महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले मनोनयन दर्ता गराएका छन्।
यस्तो छ तयारी
आज हुने निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश र निर्वाचन अधिकृतको कार्यालयले बुधबार साँझसम्ममा सबै तयारी पूरा भएको बताएको छ। निर्वाचनमा मतदानका लागि दुईवटा मतदान केन्द्र छुट्याइएका छन्। जहाँ प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख- उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्र छन्। एउटा केन्द्रमा ४ वटा बुथको व्यवस्थापन गरिएको निर्वाचन अधिकृत श्री प्रसाद सञ्जेलले जानकारी दिए।
एक मतदान केन्द्रमा ४ का दरले कूल ८ वटा बुथको व्यवस्था गरिने भएको छ। मतदान अधिकृतसमेत तोकिएको र मतदान स्थल व्यवस्थापनका लागि एउटा बुथमा १० जना गरी कूल २० जना कर्मचारीको व्यवस्था गर्ने निर्णय भएको निर्वाचन अधिकृत सञ्जेलले बताए।
यस्तै, राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशका लागि निर्वाचन आयोगबाट कूल ४३० वटा मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत सञ्जेलले बताए।
उनका अनुसार निर्वाचनमा लागि बागमती प्रदेशमा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि २९० र प्रदेशसभा सदस्यका लागि १४० वटा मतपत्र प्राप्त भएका छन्। राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा ३ सय ७० प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजालले बताए।
बागमती प्रदेशका ४ सिटका लागि हुन लागेको निर्वाचनमा जितका लागि कूल मतभारको बहुमत ५ हजार १७७ मत ल्याउनुपर्छ।
प्रदेश सभातर्फ हाम्रो नेपाली पार्टीका २ जनाबाहेक ६५ सांसदको मतभार ३ हजार ४४५ मतभार हुन आउँछ।
यस्तै स्थानीय तहतर्फ २ सय ३७ मतदाता छन् भने मतभार ४ हजार ५०३ छ।
बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको गठबन्धन छ।
Shares
प्रतिक्रिया