काठमाडौँ उपत्यकामा झन्डै एक महिनापछि आइतबार (आज) साँझ वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आइतबार साँझपख काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भएको हो।
‘काठमाडौँ उपत्यकाका सबै ठाउँमा वर्षा भएको छैन, हाम्रो स्टेसन (वर्षा मापन केन्द्र) भएका स्थान सुन्दरीजलमा ४ मिलिमिटर र बूढानीलकण्ठमा २.८ मिलिमिटर वर्षा भएको छ’, उनले भने, ‘यसैगरी चाबहिललगायत स्थानमा पनि पानी परेको छ।’
उनका अनुसार अहिले पनि उपत्यकाका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। ‘तर यो क्रम रातभर जारी रहने देखिन्न, केही समयपछि पानी पर्न रोकिने सम्भावना देखिन्छ’, उनले भने।
उनका अनुसार आइतबार दिउँसोलाई काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना नदेखिए पनि रातिलाई भने पानी पर्ने सम्भावना २० प्रतिशत देखिएको थियो।
‘आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना निकै नै कम थियो’, उनले भने, ‘तर गण्डकी प्रदेशमा विकास भएको स्थानीय वायुको बादल पूर्वतर्फ सर्दै बागमतीसम्म आइपुग्दा काठमाडौँमा पनि हल्का वर्षा भयो।’
यसअघि काठमाडौँमा गत चैत ३० गते मौसम महाशाखाको कार्यालय रहेको त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा २.५ मिलिमिटर वर्षा भएको थियो। त्यसयता २३ दिनपछि आज काठमाडौँमा वर्षा भएको हो।
हेर्नुहोस् भिडिओ-
मौसमविद् पुडासैनीका अनुसार गण्डकी प्रदेशअन्तर्गत कास्कीको चोमोरोङमा भने २९ मिलिमिटर वर्षा भएको छ।
Shares
प्रतिक्रिया