आज (शनिबार) बिहान काठमाडौँ उपत्यकामा अलि बाक्लो हुस्सु लागेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार हुस्सुका कारण काठमाडौँ उपत्यकाको भिजिबिलिटी (पारदर्शिता) २ किलोमिटर (२ हजार मिटर) मात्रै छ।
‘यसले हवाई यातायात प्रभावित हुनसक्छ’, मौसमविद् झाले भने, ‘सामान्यतया विमान ल्यान्ड गर्न २८ सय मिटर भिजिबिलिटी हुनुपर्छ।’
उपत्यकामा लागिरहेको हुस्सु एक/दुई घण्टापछि सुधार हुँदै जाने अनुमान गरिएको उनले बताए।
‘हावा चल्यो भने पनि हुस्सु चाँडै हट्छ’, मौसमविद् झाले भने, ‘तर अहिले हावा चलेको छैन।’
उनका अनुसार यतिबेला काठमाडौँ उपत्यकाको आकाशमा बादल देखिएको छैन।
‘अहिले उपत्यकाको मौसम मुख्यतया सफा नै छ’, मौसमविद् झाले भने, ‘आज यहाँको मौसम दिनभर मुख्यतया सफा नै रहने देखिन्छ।’
यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (शुक्रबार) को भन्दा केही घटेको जानकारी पनि उनले दिए।
आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको हो। ‘हिजो (शुक्रबार) ५ डिग्री सेल्सियस थियो’, मौसमविद् झाले भने।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको उनले बताए।
Shares
प्रतिक्रिया