ad ad

बागमती


सांस्कृतिक पर्यटनको केन्द्र बन्दै सौराहाको थारू गाउँ

सांस्कृतिक पर्यटनको केन्द्र बन्दै सौराहाको थारू गाउँ

नेपालखबर
पुस ९, २०८० सोमबार १३:४९, चितवन

पछिल्लो एक वर्ष यता चितवनको सौराहा घुम्न जाने पर्यटकका लागि नयाँ गन्तव्य थपिएको छ- ‘थारू भिलेज’।

सौराहा जाने आन्तरिक तथा बाह्य पर्यटक थारू गाउँमा नगई फर्कने बिरलै भेटिन्छन्। एक पटक थारू गाउँमा पुगेर थारूहरूको संस्कृति र संस्कारमा रम्ने र रमाउने पर्यटकको ‘रुटिन’मा पर्ने गरेको छ।

थारू गाउँ पर्यटकका लागि थारू गाउँको पर्याय झैँ बनेको छ भन्दा फरक नपर्ला। किनभने सौराहा जाँदा जसरी जंगल सफारी गर्न पर्यटकहरू लालयित हुन्थे त्यसैगरी पछिल्लो समय यहाँ आइपुगेका पर्यटक थारू कला र संस्कृति हेर्नका लागि एक दिन भए पनि थारू गाउँमा पुगेर नरमाइकन फर्किनै सक्दैनन्।

थारू युवायुवती समूहगत झमटा नाच, ठेकरा नाच, लौरो नाच, झुमरा डम्फु नाच प्रस्तुत गर्दै पर्यटकलाई आकर्षित र रोमाञ्चित बनाउँछन्।

नेपालकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा परिचित सौराहामा कतिपय पर्यटकहरू त थारू संस्कृति र कला हेर्नकै लागि पटकपटक समेत जाने गरेका छन्। दोस्रो पटक थारू गाउँ पुगेकी लक्ष्मी निरौला संस्कृतिसँग पर्यटकलाई जोडेर हेर्दा चितवनले राम्रो प्रगति गरेको बताउँछिन्।

यसले सांस्कृतिक पर्यटनलाई जोगाउन महत्त्वपूर्ण योगदान गर्ने निरौलाको ठम्याइ छ। जति धेरै थारू संस्कृतिलाई विकास गर्न सकिन्छ त्यति नै पर्यटकको सम्भावना बढ्ने निरौलाको आँकलन छ।
‘चितवनले थारू कल्चर जति प्रमोट गर्छ, यसको सम्भावना त्यत्तिकै बढ्दै जान्छ। सौहारामा जंगल सफारी गर्न जो पर्यटक जान्छन् उनीहरूलाई हाम्रो कल्चरसँग मिलाउन र चिनाउनसके राम्रो हुन्छ,’ निरौला भन्छिन्।

त्यस्तै, ललितपुरबाट विद्यार्थी लिएर चितवन पुगेका दिनेश रावल बालबालिकाहरू अनलाइन केन्द्रित हुँदै गइरहेको बेलामा बाहिरी संस्कार र संस्कृति बुझाउन यस्त गन्तव्य महत्त्वपूर्ण हुने बताउँछन्।

‘यहाँ एकदमै राम्रो लाग्यो, आफ्नो संस्कृति बचाएर राख्नुपर्छ, विद्यार्थीहरूको लागि राम्रो हुनेछ। विदेशमा पनि आफ्नो कला, संस्कृति जोगाउन लागेको हामी देख्छौँ। हाम्रोमा पनि यसरी बचाउन लाग्नुपर्छ,’ रावल भन्छन्।

यस्ता क्षेत्र मनोरञ्जनका साथसाथै अध्ययनका लागि पनि काम लाग्ने रावलले बताए। थारू समुदायले झैँ अन्य समुदायले पनि लोप हुन लागेका आफ्ना संस्कार र संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको बताउँछन् उनी बताउँछन्।

चितवन थारूको पहिचानस्थल भएकाले लोप हुँदै गएको अवस्थामा सौराहा थारू गाउँले थारू संस्कार र संस्कृति बचाइरहेको बताउँछन् पर्यटन व्यवसायी रञ्जन भण्डारी।

थारूका संस्कार र संस्कृतिहरू थारू गाउँमा सहजै देख्न पाइने उनले बताए। रावल भन्छन्, ‘चितवन भनेको थारूको पहिचान हो। त्यसकारण यो हुन जरुरी छ। आदिवासीको पहिचानसँगै यहाँका स्थानीय चौधरीलाई रोजिरोटी मिलेको छ, युवा विदेश जानबाट जोगिएका छन्।’

सौराहा थारू गाउँका सञ्चालक मधुसुदन सिलवालले थारू समुुदायको परम्परा, संस्कृति र संस्कार बचाउने अभियानले बिस्तारै सार्थकता पाउँदै गएको बताए।

थारूको बाहुल्य भएको ठाउँ चितवनमा थारू संस्कृति लोप हुँदै गएपछि विदेशबाट आएर आफूले थारू गाउँका रूपमा अघि बढाई संस्कृति र संस्कार जोगाउने काममा लागेको सिलवाल बताउँछन्।

अहिले आन्तरिक तथा बाह्य पर्यटक थारू गाउँ खोजीखोजी आउन थालेको उनले बताए। जंगल सफारीसँगै थारू गाउँ पनि प्रमुख गन्तव्यस्थल बन्दै गएकोमा खुसी लागेको उनी बताउँछन्।

‘सौराहा आएका पर्यटकलाई थारू गाउँ अर्को एक दिनका लागि रोक्ने गन्तव्य बनेको छ। कहाँ जाने भन्दा थारू गाउँ जाने भन्ने छ। धेरै जना सोधीसोधी आउनुहुन्छ। स्पेसल थारू खाना खान र कल्चर हेर्नका लागि आउनुहुन्छ,’ सञ्चालक सिलवाल भन्छन्।

यहाँ थारू समुदायले लगाउने कपडादेखि खाने खाना र उनीहरूको संस्कृतिमा रमाउन सकिन्छ। गाउँमा हाल ५२ जना स्थानीय चौधरीले रोजगारी पाएका छन्। अझै १५० जनासम्मलाई रोजगारी दिने आफ्नो योजना रहेको सिलवालले बताए।

एक वर्षअघि ७ करोड लगानीमा सुरु भएको सौराहा थारू गाउँ अहिले पर्यटकको रोजाइमा पर्दै गएको छ। यो गाउँ झन्डै तीन बिगाहा क्षेत्रफलमा फैलिएको छ। यहाँ थारूको पोशाक, थारू जातिले प्रयोग गर्ने सामान, घरलगायत थारू संस्कृति झल्किने सामग्री राखिएको छ। न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .