पेट्रोल बाइकभन्दा सस्तो। खर्च पनि कम हुने। रेगुलर मेनटेन गर्नु नपर्दा अहिले बजारमा दुईपांग्रे सवारीको चर्चा बढी हुने गरेको छ। ग्राउन्ड क्लियरेन्स पनि राम्रो। रफ रोड वा उकालो–ओरालो जता पनि सजिलै गुड्नसक्ने दुईपांग्रे विद्युतीय सवारीको नेपालमा बजार बढ्दो छ।
धेरैलाई लाग्ने गर्छ– विद्युतीय स्कुटर उकालो चढ्नै सक्दैन। तर फेयर अटो प्रालिले ल्याएको टेरा मोटर्सका दुईपांग्रे सवारीसाधन भने उकालो–ओरालो बाटो भनेर चिन्ता गरिराख्नुपर्दैन। प्रतिघण्टा ६० किमि कुद्न सक्ने टेरा मोटर्सका विभिन्न मोडल नेपालमा छन्।
टेरा मोटर्स जापानी कम्पनी हो। सन् २०१० मा स्थापना भएको कम्पनीले सुरुदेखि नै विद्युतीय सवारीसाधन उत्पादन गर्न सुरु गरेको थियो। उत्पादन भएको दुई वर्षभित्र ३० हजार दुईपाङ्ग्रे जापानमा बिक्री गरिसकेको छ।
पछिल्लो समय कम्पनीले दक्षिण एसियाका बंगलादेश, भारत, नेपाल, भियतनाम, कम्बोडियामा बढी ‘फोकस’ गरेको छ। कम्पनीले बंगलादेश, भारत, भियतनाममा आफैँले काम गरिरहेको छ भने नेपालमा डिलर दिएर काम गर्दै आएको छ।
फेयर अटो प्रालिले नेपालमा बिक्रीे २०१४ बाट सुरु गरेको हो। सुरुमा विद्युतीय स्कुटर मात्र आयात गथ्र्यो। त्यो बेला कम्पनीसँग पाँच मोडलको स्कुटर थियो। सन् २०१५ को भारतको नाकाबन्दीले पेट्रोल आयातमा समस्या हुँदा कम्पनीका सबै स्कुटर बिक्री भए ।
२०१५ मै टेरा मोटर्सको तीनपाङ्ग्रे विद्युतीय रिक्सा नेपाल भित्रिए। बुटवल, चितवन, धनगढीलगायत तराईका सहरमा अहिले पनि चर्चित छन्। अहिले दुईपाङ्ग्रेमा काठमाडौंको मार्केट धेरै राम्रो छ भने तीनपाङ्ग्रेमा तराईको सहरमा खपत रहेको प्रविधिक प्रमुख इन्जिनियर श्याम सापकोटाले बताए। उनले भने, ‘दुई पाङ्ग्रे सवारी (स्कुटर) करिब १५ सय बिक्री भइसकेका छन् भने तीन पाङ्ग्रे (रिक्सा) २०१९ सम्म करिब छ हजार बिक्री भइसकेको छ।’
कम्पनीका नेपालभर १८ डिलर रहेका छन्। विद्युतीय सवारीमा मात्रै कर्पोरेट अफिस खोली सञ्चालन गरिरहेको ठूलो कम्पनी भएको सापकोटाको दाबी छ। कम्पनीले सिधै बिक्रीभन्दा पनि डिलरमार्फत बिक्री गर्ने गरेको छ।
२०१५ मा पुराना स्टक आउट भएपछि कम्पनीले नयाँ दुईवटा मोडल ल्याएको थियो। पुराना मोडल रिसर्च नगरी बजारमा ल्याएकोले परफरमेन्स खासै राम्रो देखिएन। त्यसैले सन् २०१६ देखि नयाँ इको मोडलका दुईपाङ्ग्रे स्कुटर भित्र्यायो।
इको स्कुटर धेरै माइलेज दिने, लुक्स, पावर, पिकअप, क्वालिटी पनि राम्रो रहेको थियो। कम्पनीले नेपालमो भूगोलको अध्ययन गरी ल्याएकोले ग्राहकले धेरै रुचाए। कम्पनीले २०१७ मा अर्को मोडल ल्याएको थियो तर त्यो खासै सफल हुनसकेन। त्यसैले इको मोडलको स्कुटर नै अहिलेसम्म बिक्री गरिरहेको छ।
ब्याट्री
इको मोडल लिड एसिड ब्याट्री र लिथियम दुवैमा उपलब्ध छ। ग्राहकको प्रतिक्रिया राम्रो छ। यो स्कुटरले काठमाडौंमा ८० देखि ९० किमि दिएको छ भने तराईमा ११० सम्म माइलेज दिएको छ। यसको लागि फुल चार्ज गर्न ६ देखि ८ घण्टा लाग्छ। लिथियम ब्याट्रीले भने बढी माइलेज दिन्छ।
काठमाडौंमै १०० भन्दा बढी माइलेज दिन्छ । लिड एसिड ब्याट्रीमा १ वर्ष र लिथियम ब्याट्रीमा २ वर्षको ग्यारेन्टी छ। दुई हजारदेखि तीन हजार वाटसम्मको मोटर्स रहेको स्कुटरमा ३२ एम्पीएरका छवटा ब्याट्री रहेका छन्। लिथियममा सिंगल ब्याट्री ३२ एम्पिएरकै रहेको कम्पनीले बताएको छ।
ब्याट्रीअनुसार मूल्य फरक रहेको छ। लिड एसिड ब्याट्री भएको स्कुटर १ लाख ५५ हजार रुपैयाँ रहेको छ भने लिथियम ब्याट्री भएको स्कुटर १ लाख ९५ हजार रहेको छ।
त्यस्तै इलेक्ट्रक बडीजस्तै मोटर र चार्जर कन्ट्रोलरमा दुई वर्षको ग्यारेन्टी छ। ट्युबलेस टायर रहेका स्कुटरमा एलईडी लाइट जडान गरिएको छ। यसमा मल्टी फंक्स्नल मिटर बक्स रहेको छ। ब्याट्रीको भोल्टेज, कति प्रतिशत चार्ज छ लगायतका कुरा यसले देखाउँछ।
सर्भिस
विद्युतीय सवारीसाधनमा रेगुलर मेन्टिनेन्स खासै आवश्यक पर्दैन। तर कहिले कुनै पार्टस् फुटे वा ब्याट्रीमा समस्या आए काठमाडौंमा हेड अफिसमार्फत नै हुन्छ भने काठमाडौंबाहिर डिलरमार्फत ग्राहकलाई सेवा दिइरहेको छ। ब्याट्रीमा दुई वर्षसम्मको ग्यारेन्टी नै हुन्छ। यदि दुई वर्षपछि बिग्रियो भने ४० हजारमा ब्याट्रीको सेट पाइन्छ। कम्पनीले यातायात व्यवस्था विभागबाट नम्बर प्लेट र बिलबुकको लागि अनुमति पाएको छ।
काठमाडौंको सबैभन्दा बढी उकालो भनेर चिनिने सेतो गुम्बाको बाटोमा टेस्ट गरेर विभागले अनुमति दिएको हो। ग्राहकले नम्बर प्लेट र बिलबुक दर्ता गरेर चलाउन पाउँछन् ।
सन्तुष्ट ग्राहक
कम्पनीले लगातार राम्रो मोडल ल्याउन रिसर्चमा रहेको दाबी गरेको छ। हरेक वर्ष लगातार सेल्स बढ्नु भनेको कम्पनीप्रति ग्राहक सन्तुष्ट भएको सापकोटाले बताए। उनले मार्केटिङको कारणले भन्दा पनि एउटा ग्राहकले अरुलाई ‘रिफर’ गर्दा कम्पनीको सेल्स बढेको बताए।
Shares
प्रतिक्रिया