नील आर्मष्ट्रङ जूनमा टुप्पलुक्कै पुगेको देखेर
सरगरमा इन्द्रेणीहरू तीन छक्कै परेर भने रे, ‘होइना हाउ, यो मन्छेको न उड्ने पखेटा छ, न गुड्ने चक्का। यस्तो लिंढे मन्छे कसरी तिहाँ पुग्यो?’
सगरमा हल्लिखल्ली मच्चियो, ‘एउटा लिंढेमन्छे जूनमा गोयो रे–एउटा लिंढेमन्छे जूनमा गोयो रे!’
विशाल सुन्यतालाई पार गरेर यात्रा गर्नसक्ने मान्छेको साहस देखेर
सगर सोच्न बाध्य भयो
उसले मान्छेबारे अनुसन्धान गर्न इन्द्रेणीहरूलाई पृथ्वीमा पठायो।
इन्द्रेणीहरू जब आफ्नो वायुयान पहाडको निधारमा अवतरण गरेर
पृथ्वीमा पैदल यात्रा निस्किए
उनीहरूको पहिलो भेट फूलसँग भयो
फूलको हार्दिकतासँग लट्ठ, पाखै रातो पारेर गुराँस फुले
पहरै सेतो पारेर सुनाखरी फुले
पानीसँग मिलेर कालोनीलो दह बनिए
खोलासँग मिलेर नीलो बग्दै समुन्द्र झन नीईईलो संसार बनाए।
अब इन्द्रेणी प्रकृति भयो, प्रकृति इन्द्रेणी भयो
यसरी बस्दाबस्दै हजार वर्ष बितेको पत्तै भएन
छिट्टै घर फर्किहाल्छुु भनेर हिंडेको परदेशीले घरै बिर्सेजस्तो इन्द्रेणीहरूले सगर
फर्कन बिर्सिएछन्
इन्द्रेणीहरू नफर्केपछि सगरले बतासलाई इन्द्रेणी खोज्न पठायो
बतास आउँदा पो थाहा भयो– इन्द्रेणीहरू त प्रकृतिसँग घरजम पो गरेर बसेछन्।
बतास रित्तै फर्केर गयो तर इन्द्रेणीहरू एकफेर झस्किए
अनि इन्द्रेणीहरु मानव बस्तीमा प्रवेश गरे
तर समय धेरै बितिसकेछ– त्यहाँ आर्मष्ट्रङजस्ता कोही भेटिएनन्।
भेटिए त केवल तेजावजस्ता मान्छेहरू
जसले इन्द्रेणीहरूलाई रङ्गहरूमा टुक्रा–टुक्रा बनाए
अब इन्द्रेणी रहेन, ऊ रङ्गहरूमा छताछुल्ल विभाजित भयो
त्यसपछि रङगहरू मान्छेसँगै बधशालामा रातो बग्दै गरेका भेटिए
मान्छेसँगै बारूदमा कालो मिसिंदै गरेका भेटिए
मान्छेसँगै बस्तीहरूमा नीलो आँसु बग्दै गरेका भेटिए
सुनसार बस्तीमा धिपधिपे आशा बालेर
सन्तानको बाटो कुरिरहने बृृद्दाहरूले जस्तै
सगरले पनि इन्द्रेणीहरूलाई हजार बर्ष पख्र्यो तर इन्द्रेणी फर्किएन।
अन्ततः सगरले पहाडलाई गुहार्यो
पहाडले आफूलाई देखाउँदै भन्यो, ‘एउटा पत्थरको मात्र अस्तित्वले बनेको होइन
पहाड, एउटा चट्टानको मात्र अस्तित्वले बनेको होइन पहाड, एउटा रुखको अस्तित्वले मात्र बनेको होइन पहाड।
साझा हार्दिकताले बनेको नाम हो पहाड
रङहरु हो!
फेरि पनि मिलेर उसैगरी इन्द्रेणी बन
फेरि पनि मिलेर उसैगरी सगर फर्क
मानिसहरूलाई एकता सिकाउनुछ प्रकृतिले।
प्रतिक्रिया