डिसेम्बर २४ बिहीबार। बाउछाेरी युवराज कँडेल र कृतिका कँडेलको अन्त्येष्टि।
स्थान : फनरल पार्लर हुङहम, हङकङ।
गत नोभेम्बर १५ तारिख हङकङको जोर्डनस्थित ‘जिरे खुर्सानी’ रेस्टुरेन्टमा भएकाे भयानक आगलागीमा परेर ज्यान गुमाउने सातै जना नेपालीको अन्त्येष्टिमा मलगायत हामी धेरै जना मलामी बनेका थियौं।
दिउँसो हुङहम फनरल पार्लरबाट चाइवानसम्म दाहसंस्कार सकेर फर्केपछि साँझ ७ बजे अत्यधिक ‘स्ट्रेस’ महसुस भयो। भर्खरै हुर्किंदै गरेकी छोरी कृतिकाको मासुम अनुहार झल्झली आइरह्यो। युवराज कँडेलको परिवार बागलुङको बिहु घर भई हङकङमा बसोबास गरिरहेको थियो। यो सुखी परिवारमा जोर्डनको ‘जिरे खुर्सानी’ रेस्टुरेन्टमा भएको भीषण आगलागीले ठूलो दुःख ल्याइदियो। त्यस रात युवराज कँडेल र उनकी छोरी कृतिका कँडेललगायत अरू ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो। अन्य धेरै नेपाली घाइते भए।
यो घटनालाई हङकङको इतिहासमै दोस्रो ठूलो आगलागी भनिएको छ। हुर्किंदै गरेकी काखकी छोरी र श्रीमानले एकैसाथ सधैंका निम्ति छाडेर जाँदा भक्कानिएकी श्रीमतीको गहिरो वेदना शब्दमा व्यक्त गर्न कठिन छ। जो आफैं त्यो भयानक आगलागीमा परी सख्त घाइते भएकी थिइन्। यस्तो कारुणिक दृश्य देख्दा साँच्चिकै भगवान् छन् र भनेर प्रश्न गर्न मन लाग्थ्यो। कति क्रूर हो दैव? साँच्चै भगवान् छन् भने उनले किन यति ठूलो अन्याय र बज्रपात भोग्नुपर्याे?
उसै त कोरोना महामारी, त्यहीमाथि परदेशमा मलामी जानु पक्कै सहज कुरा होइन। हरेकपटक मलामी गएर फर्केपछि मनमा अनेक कुरा खेल्ने गर्छन्। मलामी जाँदा देखिने कारुणिक दृश्यले मन फाट्दा बसमै रुँदै फर्किएको छु। तर जतिसुकै कठिन र असहज स्थितिसँग जुध्नु परे पनि मानव कर्म र धर्म निर्वाह गर्नुको विकल्प पनि त छैन। अझ एकैसाथ श्रीमान् र सन्तान गुमाएकी आमाको वेदनाले छाती चिरिन्छ।
आफन्त गुमाएका आफ्नाहरूको पीडासामु बाँकीका कष्ट त केही होइन। यी यावत् कारण यो घटनामा ज्यान गुमाएका ८ जनाको मलामी जाने निधो गरेको थिएँ। जीवनमा एकैपटक एकै परिवारका दुई जनाको मलामी गएको यो दोस्रोपटक हो। पहिलोपटक बाबा-छोराको मलामी गएको थिएँ। योपटक बाबा-छोरीको।
पहिलोपटक पनि एकै परिवारका दुई सदस्यको मलामी गएका हामी धेरै जना भाव विह्वल भएका थियौं। त्यो कारुणिक दृश्यले धेरैका आँखा रसाएका थिए। आज सँगै भएका आफ्नाहरूसँग कुन बेला कुन मोडमा सदाका लागि अलग्गिनुपर्ने हो? भेटेका परिचितसँग कुन भेट अन्तिम हुने हो? निदाएपछि कुन रात अन्तिम हुने हो, कसलाई के थाहा छ र ! यति लेखेर नोट सेभ गरें।
नेपालमा संसद् विघटनपछि उत्पन्न राजनीतिक तरंगप्रति चासो भएका कारण न्युज हेर्न फेसबुकको नोटिफिकेसन चेक गरें। नोटिफिकेसन धेरै थिए। तर एउटा नोटिफिकेसन भने कसैले फलो गरेको बारे थियो। सीधै नोटिफिकेसनमा गएर हेर्दा फलोअर्सको लिस्ट आयो। लिस्ट हेर्दाहेर्दै एउटा फेसबुक अकाउन्टको प्रोपिक्चर कतै देखेदेखेजस्तो लाग्यो। हतारहतार प्रोफाइल भिजिट गरें। प्रोफाइल हेरें। तब अवाक् भएँ।
धेरै पहिले ‘शर्मा राज’ नामको अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आएको रहेछ। यी तिनै शर्मा राज रहेछन्, जसको म आज मलामी गएको रहेछु। जसको खास नाम युवराज कँडेल थियो। उफ् कस्तो संयोग ! जो मान्छेले मलाई फेसबुक साथी बन्न रिक्वेस्ट पठाएको रहेछ, आज उसैको मलामी ! कहिले रिक्वेस्ट आयो, पत्तो भएन। देखभेट त भएको थियो जस्तो लाग्छ।
किनभने नेपालमा हामी एकै जिल्ला बागलुङका हौं र जिल्लाका विभिन्न कार्यक्रममा पक्कै देखें हुँला। मान्छे परिस्थितिको दास न हो। जसका अगाडि निरीह बन्नुपर्छ। मान्छेसँग वर्तमान स्थितिले निर्धारण गरेको यथार्थलाई आत्मसात् गर्नुको विकल्प हुँदैन। मान्छेको जीवन आखिर के नै छ र ! बाँच्दासम्म यो पुगेन, त्यो पुगेन, यो भएन, त्यो भएन भन्दै गुनासो गर्छौं। रिस, राग, गुनासा र असन्ताेष जन्मसँगै लिएर आएका हुन्छौं। जुन बाँचुन्जेल बोकिरहन्छौं। जिन्दगी यस्तै चल्छ। चल्दोरहेछ। हामी त मलामी गयौं, फर्क्यौं। तर जसले आफ्नाहरूलाई सधैंका लागि गुमाएका थिए, उनीहरूको पीडा कल्पनाभन्दा बाहिरकाे विषय थियो।
त्यहाँ आमा गुमाएकी छोरीको विलौना देख्नुपर्याे। बुढेसकालको सहारा बन्ला भनेको छोरा गुमाएका आमाबाबुको आँसु पनि देख्नुपर्याे। आफ्नी छोरी गुमाउँदा डाँको छाडेर रोएकी आमा पनि देख्नुपर्याे। हजार सपना सँगै पूरा गर्ने कल्पना गरेकी जीवन संगिनी गुमाउनुपर्दा छाती दुख्नेगरी भक्कानिएका श्रीमानको चोट पनि देख्नुपर्याे। हामी ती आफ्नाहरूको पीडामा दुईथोपा आँसु झार्नबाहेक अरू के नै गर्न सक्थ्यौं र !
भनिन्छ नि- ‘अचानोको पीर अचानोले मात्रै जान्दछ।’ उसो त देशमा परेको वियोग र परदेशमा भोगेको वियोग अलग हुन्छ। देशमा आफ्नै माटो हुन्छ। आफ्नोपन हुन्छ। वरपर आफन्त हुन्छन्। मर्दापर्दा साथ र काँध दिनेहरू पाइन्छन्। तब वियोगको पीडा परदेशको वियोगभन्दा केही सहज हुन्छ। तर परदेशमा आफन्तको वियोगले मुटु फुट्नेगरी भक्कानिएकाहरूलाई आफ्नाहरूको वियोग सहनुपर्दा साह्रै कठिन हुन्छ। तर दशा र भवितव्यले स्वदेश र परदेश भन्दैन।
आगलागीको भयानक दुर्घटना त्यसैको उदाहरण हो। जसमा धेरै नेपालीले अकालमै ज्यान गुमाउनुपर्याे। त्यो कहालीलाग्दो दृश्यको कल्पनाले मात्रै पनि मुटु काँप्छ। त्याे बेलाकाे चित्कारले छटपटी गराउँछ। त्यो कुनै सपना थिएन कि जुन आँखा खोल्नासाथ हराएर जाओस्। त्यो कालो रातले दिएको चोट समयले नै निको पार्ला भन्ने अपेक्षा राख्नुको विकल्प पनि त छैन। यस्तैयस्तै मनोवादले मन रुमलिँदै गर्दा त्यही कुरा याद आउँछ र मनमा लागिरहेको छ, कस्तो होला यो कारुणिक संयोग !
जीवित हुँदा जोसँग बोलचाल र भेटघाट भएन, उनैको अन्त्येष्टिमा मलामी गएर फर्केपछि उनले पठाएको मित्रताको अनुरोध थाहा हुन्छ। सायद हामी एकै जिल्लाका भएर दिदीबहिनी ठानेर मित्रताको अनुरोध पठाएका थिए होलान्। उनी नै युवराज कँडेल हुन् भन्ने लागेपछि उनको फेसबुक प्रोफाइल राम्ररी हेरें। कभर फोटोमा उनका छोराछोरी श्रीमती देखें। त्यसपछि त यिनै युवराज कँडेल हुन् भन्ने पुष्टि भयो।
उनको प्रोफाइल फोटोमा हँसिलो मुहारको आकृति राखिएको रहेछ। र, उनको फेसबुक बायोमा यस्तो लेखिएको रहेछ- जति ढिलो सुते पनि निद्रा त बिहानसम्म न हो ! जति छिटो हिँडे पनि यात्रा त चिहानसम्म न हो !’
उनका यी दुई पंंक्तिमा जीवन र मृत्यु अटाएका छन्। बुढापाकाले भनेको सुनेको थिएँ- बेलाको बोली हुन्छ। अर्थात् कहिलेकाहीं बोलेको र लेखेको पुग्छ, संयोग मिल्छ। युवराज कँडेलले लेखेको ‘बायो’ पनि त्यस्तै बन्याे।
अन्त्यमा, त्यो भयानक दुर्घटनाको सिकार बनेर ज्यान गुमाएका आठै जनाप्रति पुनः श्रद्धाञ्जली ! अनि पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थलाभ होस् भन्ने प्राथना गर्छु।
क्रमशः
Shares
प्रतिक्रिया