रातो नदी बनेर म बगिरहेकै छु
जहाँ म हुनुको अर्थ अलग छ
हिन्दु धर्म संस्कृतिमा महिनावारी हुँदा महिलालाई कथित अछुतो मानिने चलन चल्तीमै छ। सुदूरपश्चिममा झन् छाउपडी प्रथा व्याप्त छ। किशोरीलाई प्रथम महिनावारी हुँदा २२ दिनसम्म पुरुष र सूर्यको मुख हेर्नु हुँदैन भन्ने मान्यता कायमै छ। बेलाबखत निकै हृदयविदारक समाचार पनि सुनिन्छ। बर्खामा ‘छाउगोठमै किशोरीलाई सर्पले डसेपछि मृत्यु’, हिउँदमा ‘युवतीको निसासिएर मृत्यु’।
परिवार र समुदाय छोरीबुहारीको मृत्यु स्वीकार गर्न तयार छन् तर परम्परालाई मिथ्या मान्न तयार छैनन्। आधुनिक मानिने सहरियाहरूमा पनि कहीँ कतै यो व्यथा जीवितै छ। मन्दिरभित्र नपस्ने। कुल देउतालाई नछुने। ३ दिन भए पनि भान्सा बार्ने गरिन्छ। तर, हङकङ कर्मथलो बनाएकी कवयित्री जुनू रानाले आफ्नो नयाँ कवितासंग्रहमार्फत चुनौती दिएकी छन्। रातो नदीको बिम्बका माध्यमबाट उनले सृष्टिको अस्तित्व बोकेको रजस्वालाप्रति अपमान होइन, गर्व गर्न आग्रह गरेकी छन्। वैज्ञानिक युगमा पुरातन मान्यतालाई बोकेर हिँड्ने आजका युवालाई रातो नदीमार्फत् कवयित्रीले सजग गराएकी छन्।
पूज्य छिन् आज पनि– ‘शास्त्रकी सीता’
तिरस्कृत छन् ‘राज्यका सीताहरू’
जसका लागि बन्द गरिन्छन् सिनेमा हलहरू
बन्छ, राष्ट्रिय बहस तर मूक छ दुनियाँ
राज्यका सीताहरूका निमित्त
‘सीताहरू’ शीर्षकको यो कविता निकै अर्थपूर्ण छ। प्रतिमाकी देवीलाई पूज्ने र नारीलाई थुक्ने परम्पराप्रति कविको धावा हो। भन्नलाई चाहिँ म शास्त्रकी सीताझक्त हुँ। नेता, मास्टर, डाक्टर, इन्जिनियरले पनि मन्दिरकी लक्ष्मीलाई पूजा गर्ने तर घरकीलाई कुलच्छिन मान्ने प्रवृत्ति दुःखदायी हो। राज्य सत्ता हाँक्नेहरु नै पितृसत्तात्मक चिन्तनले ग्रसित छन् अनि महिलालाई आत्मसम्मान र समान हक दिन हिचकिचाउँछन्।
जुनू कवितामार्फत् ती पिँधमा पारिएका नारी आवाज बनेकी छन्। ९ महिना कोखमा बोकेको अनि काखमा हुर्काएको छोराछोरीको नागरिकतामा आमाको नाम हुँदैन भनेर राज्यसँग असन्तुष्टि मात्रै पोखेकी छैनन् झकझक्याएकी पनि छन्। र, निस्सन्देह यो आजको आवश्कता हो। जसरी पक्षी एकातिरको पखेटाले मात्रै उडान भर्न सक्दैन त्यसरी नै नारीबिना मानव समाज असम्भव छ। जब यो सब बुझिसकेको बौद्धिक मानिने देशको नीति र नियम बनाउने ठाउँमा रहेकाले नै महिलालाई समान अधिकारबाट बञ्चित गरेको छ। कवयित्रीले ती ठूलाबडा मानिएकालाई प्रश्नको कठघरामा उभ्याएकी छन्।
जन्मस्थल र आफन्तलाई एक हातले बिदाइको सङ्केत गर्दै अर्को हातले आँसु पुछ्दै मुलुक छोड्नेबेला मुटु चुँडिएलाजस्तो हुन्छ। केही वर्षपछि त्यही देशले नागरिक हुनुको प्रमाण माग्दछ। जुनूले प्रवासीको पीडा ‘समुन्द्रपारि’बाट लेखेकी छन्।
तस्करको सुन छिर्ने तर श्रमिकको एउटा टीभीमा पनि कर लगाउने नियम भएको राज्य व्यवस्था भए तापनि देशप्रति स्नेह त हुन्छ नै। त्यो धुलो उडाउँदै हुर्किएको माटो। त्यो चारी(गट्टा) खेल्ने ढुङ्गा। बर्खामा कुहिरो लाग्ने लेक। जाडोमा हिउँले ढाक्ने पहाड। गुराँस फुल्ने पाखो। कलकल बग्ने खोलालाई के थाहा को नागरिक? को अनागरिक? को विदेशी? को स्वदेशी? तिनलाई त अघाउन्जेल हेरिरहन मन लाग्छ। निर्जीव भए तापनि आफन्तझैँ बोल्छन् कि जस्तो। पुरानो तस्बिरमा धुलो टाँसिएर धुमिल भएजस्तो बचपनालाई स्मरण गर्छिन् कवितामार्फत् जुनू।
बिक्री भएको छाती
लाहुरे बन्छ
मगजभरि थाप्छ
वीर गोर्खालीको उपमा
किनकि
छातीहरूलाई
थाम्नु छ बाउ–बाजेको बिँडो
जोगाइरहनु छ वीरता
जोगाइरहनु छ लाहुरेको विरासत।
ज्यानको माया मारेर लाहुरेको उपमा थाप्नु त कसलाई रहर हुँदो हो। जहानियाँ राणाकालमा परिवारलाई दुई छाक खुवाउनु र एक सरो लाइदिनु हम्मे थियो। जनतालाई किञ्चित् स्वतन्त्रता थिएन। भोकै पनि मर्नु नै छ तर यसै मृत्यु पर्खिनुभन्दा बेचिएको छातीले सन्ततिलाई बचाउन सहायता गर्छ भने गोली थाप्न हाजिर भएका पुर्खालाई जुनूले ‘लाहुरे’ कवितामा व्यङ्ग्य गरेकी छन्।
वर्तमान अवस्थामा पनि कयौँ युवा लाहुरे बन्ने सपनाले एकाबिहानै उकालो चढ्छन् डोकोमा ढुङ्गा बोकेर। केही लाहुरे बन्छन्। कोही युक्रेन र रुसी सेनामा पुग्छन्। कति मारिए? कति रणभूमिमा छन् कुनै लेखाजोखा छैन। थाहा छ, पाइलापाइलामा मृत्यु छ। तर झिनो आशा बाँकी रहन्छ कतै बाँचिन्छ पो कि! आर्थिक सुधारको अभिलाषामा जन्मभूमि फर्किएर आत्मनिर्भर बन्ने कल्पना गर्दा/गर्दै कुन बेला ड्रोन हमला हुन्छ पत्तो छैन। लास घर पुग्ने आस पनि छैन। अन्तिम सत्य त वीरताको उपमा रहेनछ। पेट पाल्ने जोहो मात्रै। यसो त नहोला तर भन्न चाहिँ सकिँदैन युक्रेन–रुसको बर्दी र बन्दुकमा गोर्खाली आपसमै गोली हानाहान गरेर छाती प्वाल पारिरहेका। बमले शरीर क्षतविक्षत बनाइरहेका समाचार नेपालीले सुन्न नपरोस्। लाहुरेको हुरीले तहसनहस पार्दछ।
भेरीको बगरमा
कसैको बलि चढाइयो
एउटा अप्रिय इतिहास बन्यो
त्यो रात
कुमारी भेरी
प्रेम–आहुतिको साक्षी बन्यो।
जात व्यवस्थाले पीँधमा पारिएको दलितलाई राज्यले न जमिन दियो न त जिउन नै। शासकले बनाएको कथित उँचनीच मानिसको जातले एक मानव अर्को मानवद्वारा हेपिएको छ। लुटिएको छ। पिल्सिएको छ। सुन्नेलाई हो जस्तो लाग्दो हो। सुनाउनेलाई हो नै लाग्छ तर भोग्नेलाई थाहा छ जातको पीडा के हो? सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मानौँ या नयाँ नेपाल भनौँ, जातीय विभेद मानिसको मुखमा छैन मगजमा सिउँडीझैँ खडा छ। र, त बेलाबखत विस्फोट हुन्छ अनि मारिन्छन् नवराजहरू। नङ्गाइन्छन् दलित स्त्रीहरूलाई। केही होइन पूरै। बिस्तारै होइन विस्तारमा दलित मुक्ति मोर्चा आवश्यक छ।
प्रेमजस्तो दुई मनमस्तिष्क जोडेर एक हुने बन्धनलाई सामाजिक पर्खालले छेकेको हुँदा समाज आज पनि त्यहीँ अड्किएको छ जहाँबाट सुरु भएको थियो। जुनूले ‘भेरी साक्षी छ’ र ‘जातको ब्र≈माण्ड’ शीर्षकमा राजनीतिक, आर्थिक र सांस्कृतिकमा विभेद गरिएको दलितको मुद्दा मात्रै उठाएकी छैनन् जातको घमण्ड हुनेहरूलाई शब्दमार्फत् बेस्सरी झापड हानेकी छन्।
रातो नदीमा यथार्थ भेटिन्छ। समाजका घटना परिघटनाको बिम्ब हो। प्रायः कविता आफ्नै अनुभवबाट प्रस्फुटित छन्। महिला अधिकार, मातृ अस्तित्व, आत्मसम्मान, आत्मनिर्भर तथा नारी सशक्तिकरण कवितासङ्ग्रहको मूल ध्येय हो। मानव सृष्टिको अस्तित्व बोकेको महिलाद्वारा मातृसत्तामा पुरुष कहिल्यै उत्पीडनमा परेन। आगोको आविष्कार भएसँगै महिलालाई आगो फुक्न ओढारमा राख्नु। पुरुष सिकार खेल्न जानु अनि उसले प्रकृतिसँग जुधेर महिलाको तुलनामा बढी सिक्ने मौका पाउनु। इतिहासमा मातृसत्ता ढल्नु नै महिलाको ठूलो हार थियो। पितृसत्तामा हरेक वस्तु निजी बन्यो। अनि थालनी भयो पुरुषद्वारा महिला दमन। र, त लेखियो रातो नदी।
कवयित्रीको यो विद्रोही आवाज पितृसत्ताप्रति हो, जसले नारीलाई दासभन्दा पर देख्दैन। नारीका लागि मात्रै बनाइएको परम्परा, मूल्य र मान्यताप्रतिको आक्रोश आगोको ज्वालाजस्ता छन् कविता। उत्पादनबाट टाढा राखेर आत्मनिर्भर बन्नबाट रोक्ने अनुचित अभ्यासपछि आत्मसम्मान गुमाएका महिला पक्षधर रातो नदीभित्रका थुप्रै कविताले मातृ अस्तित्वको माग गरेको छ। महिला जो आजको समयमा पनि घरघरमा दाम्लो र साङ्गोले त होइन बौद्धिकताले नै बाँधिएका छन्। लोग्नेको खुट्टा ढोग्नु, गोडा जल खानु, भगवानरूपी देख्नु श्रद्धा होइन बौद्धिक दासता हो। यसो गर्न बाध्य तुल्याउने पितृसत्तात्मक सामाजिक संरचना हो जो ८ हजार वर्ष पहिले सुरु भएको थियो। यो भयङ्कर सङ्क्रामक रोगले आउने पिँढीलाई पनि सखाप पार्दछ।
जुनूले जोखिम उठाएरै मिथक इतिहासमाथि छिनो चलाएकी छन्। उज्यालो छर्न अँध्यारो बस्तीमा एक्लै राँको बालेर निर्भीक खडा कविलाई नमन। नेपाली समाजमा विद्यमान विभेद विरुद्धको बुलन्द आवाज रातो नदीले एकपक्षीय होइन समग्र रुपमा उठाएको छ। पितृसत्तात्मक चिन्तनले अल्झाइरहेको समाजलाई बिम्बमा सटीक ढङ्गद्वारा गजब शैलीले असहमतिको रङ भर्न सफल छन् कविता। अन्ततः यो रातो नदी नारी चेतनाको ढुकुटी मात्रै होइन, महिला अधिकारको दस्ताबेज पनि हो।
Shares
प्रतिक्रिया