ad ad

निर्माण


विवरण संकलन सकिने बित्तिकै निर्माण व्यवसायीको भुक्तानी हुन्छ : भौतिक पूर्वाधार मन्त्री दाहाल

विवरण संकलन सकिने बित्तिकै निर्माण व्यवसायीको भुक्तानी हुन्छ : भौतिक पूर्वाधार मन्त्री दाहाल

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०८१ शनिबार १७:५०, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीहरुको भुक्तानी चाँडो दिइने बताएका छन्। 

शनिबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री दाहालले काम गर्ने तर भुक्तानी नपाउने अवस्था हुनुनहुने भन्दै काम सकेर बिल फछ्र्यौट गरिसकेकाहरुले भुक्तानी पाउने जिकिर गरे।

मन्त्रालयले भुक्तानी दिनुपर्नेहरुको विवरण संकलन गरिरहेको भन्दै मन्त्री दाहालले विवरण प्राप्त भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गरेर भुक्तानी दिइने बताए।

‘काम गर्ने तर भुक्तानी नपाउने यो हुनुहुँदैन,’ उनको भनाइ छ, ‘काम नगर्नेका लागि त्यही किसिमको ट्रिटमेन्ट हुनुपर्‍यो। काम गर्नेहरुले, सबै बिल फछ्र्यौट गरिसकेकाहरुले भुक्तानी पाउनुपर्‍यो।’ 

उनले थपे, ‘हामीले अहिले त्यसको विवरण लिँदैछौँ। विवरण प्राप्त भइसकेपछि हामी अर्थ मन्त्रालयमा रिपोर्ट गर्छौं। प्रधानमन्त्रीलाई पनि रिपोर्ट गर्छौं। एकदम छिटोभन्दा छिटो जति छिटो तलबाट वास्तविक रिपोर्ट आउँछ, त्यति छिटो उहाँहरुले भुक्तानी पाउनुहुन्छ।’ 


मन्त्री दाहालले विगतको सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई वर्तमान सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्ने बताए। आफूहरु पनि विगतको सरकारमा रहेको र आफूहरुले नै पारित गरेको बजेट भएकाले कार्यान्वयनमा जाँदा धेरै हेरफेर उनको भनाइ छ।

‘गठबन्धन फेरिएको छ, यसले स्थिरता दिन्छ भन्ने जनतालाई आशा पनि जागेको छ,’ मन्त्री दाहालको भनाइ छ, ‘विकास निर्माणका कामहरु तीव्र ढंगले हुन्छन् भन्ने आशा पनि जागेको छ। हामीले नै पारित गरेको बजेट भएको कारणले गर्दा स्वभाविक रुपमा ठूलो परिवर्तन हुँदैन। जति आयोजनाहरु छन्, त्यसलाई हामीले भरसक सय प्रतिशत कार्यान्वयन गर्नेगरी लाग्छौँ। भएन भनेपनि ९० प्रतिशत भन्दा बढी कार्यान्वयन गर्नसक्छौँ भन्ने हामीलाई विश्वास छ।’

उनले कानूनी अड्चन, वन र क्षतिपूर्ति लगायतका समस्याका कारण भौतिक संरचनाहरु निर्माणमा ढिलाइ हुने गरेको बताए।
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .