पोखराका एक व्यक्तिले श्रीमतीको निर्ममतापूर्वक हत्या गरेका छन्।
पोखरा १४ राधाकृष्ण मार्ग बस्ने ४६ वर्षीय लोकबहादुर गुरुङले शुक्रबार बिहान आफ्नी ४४ वर्षीया श्रीमती बिमला गुरुङको हत्या गरेका हुन्।
बिमला यही भदौ ९ गते अमेरिकाबाट नेपाल आएकी थिइन्।
लोकबहादुरले बिहान सवा ८ बजेतिर श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेका थिए। सासुमाथि खुकुरी प्रहार भएपछि उनकी बुहारीले चिच्याउँदै हारगुहार गरेकी थिइन्।
एक स्थानीयले भने, ‘के भयो भनेर सोध्दा ‘मामाले माइजुलाई खुकुरीले हान्यो’ भनेपछि हामी गयौँ, भित्रबाट चुकुल लगाएको अवस्थामा दुवै जना भुइँमा लडेको भेटियो।’
स्थानीयले घाइतेलाई तत्काल पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको र सवा ११ बजेतिर अस्पतालले मृत घोषणा गरेको उनले बताए।
श्रीमतीमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका लोकबहादुर मादक पदार्थको कुलतमा फसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि आफ्नो पेटमा पनि खुकुरी रोपेका थिए।
पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीका अनुसार घटना विभत्स थियो। आफू घटनास्थलमा पुग्दा कोठामा रगतको आहाल भएको र श्रीमान–श्रीमती दुवै त्यही रगतको आहालमा भेटिएको उनको भनाइ छ।
‘श्रीमतीलाई पुरै मरणासन्न हुनेगरी जताततै खुकुरी हानेका रहेछन्। त्यसपछि आफूलाई पनि त्यही खुकुरीले हानेका रहेछन्’ उनले भने,‘परिवारसँग कुराकानी गर्दा उनीहरुबीचमा त्यस्तो केही नभएको भन्ने जानकारी पायौँ, अहिले बिमलाको शव घर ल्याइएको छ, लोकबहादुरको अवस्था पनि गम्भीर छ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले घटनाको पुष्टि गरेका छन्।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनको भनाइ छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले लोकबहादुरले श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेपछि आफैँलाई समेत सेरेका थिए। उनले आफ्नो पेटमा खुकुरी रोपेका थिए।
‘घटना के कारण घट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। श्रीमान पनि घाइते भएकाले कारण खुल्न सकेको छैन’, उनले भने, ‘प्रारम्भिक अनुसन्धानले श्रीमती अमेरिकाबाट भदौ ९ गते नेपाल आएको देखिन्छ।’
उनीहरुका ३ छोरामध्ये कान्छा दुबइमा र बाँकी २ जना नेपालकै रहेका छन्।
Shares
प्रतिक्रिया