नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीका पुत्र सन्दीपलाई काठमाडौं ल्याइएको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा बुधबार पक्राउ परेका सन्दीपलाई भैरहवा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको हो। उनलाई बिहान ७ बजे नै विमानस्थल पुर्याइएकोमा प्रतिकूल मौसमका कारण उडान केही डिले भएको थियो।
सोही प्रकरणमा मुछिएका टोपबहादुर सम्पर्कविहीन छन्। अहिलेसम्म उनी पक्राउ नपरेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी भरत विकले बताए।
बुधबार टोपबहादुरले भैरहवाबाट काठमाडौं आउन टिकट काटेका थिए। उनी सभामुख देवराज घिमिरेसँग बुधबार नै काठमाडौं आउने तयारीमा थिए।
तर काठमाडौं झरेलगत्तै प्रहरीले पक्राउ गर्ने तयारीबारे सूचना पाएपछि उनी सम्पर्कविहीन भएका हुन्। उनले काटिसकेको टिकट पनि रद्द गरेका छन्।उनको फोन अफ रहेको छ भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन्। ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ परेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।
उनीमाथि अनुसन्धानका लागि तीन दिनको म्याद थपिएको छ। बुधबार नै प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो।
यही प्रकरणमा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने उनीहरू हाल फरार छन्।
Shares
प्रतिक्रिया