झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले दस भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले उनीहरूलाई उपत्यकाकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेस गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकाहरूले नागरिकता बनाउने टोली स्थलगत रूपमा खटिएको समयमा झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ।
पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शङ्खमूल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन्। यस्तै बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीय राजेशकुमार गुप्ता छन्।
उनीहरूले जिल्ला प्रशासन कार्यालय रुपन्देही, बारा, पर्सालगायतबाट नागरिकता लिइएको पाइएको छ। आज पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।
उनीहरूका साथबाट नेपाली नागरिकता, मतदाता परिचयपत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्डलगायत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरू उपत्यकाका शङ्खमूल, कलङ्की, लगनखेल, गोङ्गबुलगायतका स्थानमा बसोबास गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता परिचय पत्रमा नाम रहेको प्रहरीले जनाएको छ। रासस
Shares
प्रतिक्रिया