नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका ५ व्यक्तिसँगको कनेक्सन स्वीकारेका छन्।
उनले सानु भण्डारी, केशव दुलाल, डा. इन्द्रजित राई, टेकनारायण पाण्डे र बालकृष्ण खाँणसँगको कनेक्सन स्वीकार गरेका हुन्।
प्रहरीलाई उनले दिएको बयानमा भण्डारी छिमेकी भएको र दुलालसँग कांग्रेस नेतृ सुजाता कोइरालाको घरमा जाँदा चिनजान भएको उनले बताएका छन्।
जिल्लावासी भएकाले सचिव टेकनारायण पाण्डेसँग नियमित सम्पर्क भएको, पार्टीकै नेता भएकोले डा. इन्द्रजीत राईसँग पार्टी कामका बेलामा भेट हुने गरेको खुलाएका छन्। उनले कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण विद्यार्थी राजनीतिदेखिकै साथी भएको बताएका छन्।
बयानमा उनले नक्कली शरणार्थी प्रकरणमा ठगी गरेको कुराबारे आफू जानकार नभएको बताएका छन्।
रायमाझीको बयान
प्रतिवादी केशवप्रसाद दुलालसँग सुजाता कोइरालाको घरमा जाने आउने क्रममा चिनजान भएको हो, प्रतिवादी सानु भण्डारी मेरो छिमेकी भएको हुँदा चिनजान भएको हो, प्रतिवादी टेकनारायण पाण्डे मेरो जिल्लाबासी भएको र नेपाल सरकारको सचिव भएको हुँदा चिनजान भएको हो, प्रतिवादी ईन्द्रजीत राईसँग पार्टीको कामको सिलसिलामा चिनजान भएको हो, प्रतिवादी बालकृष्ण खाँणलाई विद्यार्थी राजनीति गर्ने क्रममा चिनेको हुँ ।
भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी र दीर्घकालिन समाधानको उपायहरू पहिल्याउन बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन भएको सम्म जानकारी छ, सो बाहेक अन्य कुरा मलाई जानकारी भएन।
मैले ईन्द्रजीत राईलाई चिनाइ दिएको भन्ने कुरा सरासर गलत हो। प्रतिवादी ईन्द्रजीत राई र प्रतिवादी सानु भण्डारीबीचको लेनदेन विषयमा वहाँहरूले जान्ने कुरा हो, मलाई जानकरी छैन। निजले मलाई दिएको भनेको रकमबाट मैले कुनै रकम लिएको छैन, सन्दीप रायमाझीको खातामा जम्मा गरेको रकम सम्बन्धमा निजले नै स्पष्ट पार्नेछन्।
प्रतिवादी सानु भण्डारीको घरबाट बरामद भई आएको डायरीमा मेरो नाम लेखी पटकपटक मलाई रकम दिएको भनी लेखिएको कुरामा सत्यता छैन, निजले के कुन प्रयोजनको लागि उक्त कुरा लेखेका हुन मलाई जानकारी भएन, सो रकम मैले लिएको छैन।
मेरो छोरा सन्दीप रायमाझीसँग कम्पनीमा साझेदारीको कुरा सन्दीप रायामाझीले दिएको बयानबाट नै देखिन्छ, मलाई रकम दिएको भन्ने जति पनि विवरणहरू छन, त्यसमा कुनै आधार र सत्यता छैन, निजले ठुलो रकमको चेक काटेर आफ्नै घरमा राखेको सवाल होस् वा आफ्नो डायरीमा विभिन्न प्रकारका रकमहरू के–कुन प्रयोजनका लागि लेखेका हुन मलाई जानकारी भएन।
प्रतिवादी केशवप्रसाद दुलाल र सानु भण्डारीले हामीहरूको भेटघाट नभएको धेरै समय भयो, व्यवसायिक साथीहरूले हेलीको व्यवस्था गरेका छन, गोसाइकुण्ड गई फ्रेस भएर आउनु पयो भनी मलाई प्रतिवादी केशव प्रसाद दुलालले आग्रह गरेको र मैले समय छैन भन्दा निजहरूले धेरै समय लाग्दैन जान आउन ३० मिनेट, १५ मिनेट घुम्न गरी जम्मा ४५ मिनेट मात्र हो भनेको हुँदा म निजहरूको कुरामा सहमत भई गोसाइकुण्ड गई फोटो खिचाइ फर्किएका हौँ।
म सो ठाउँमा घुम्न जाँदाको अवस्थामा मैले सामान्य रुपमा लिएको थिए। ईन्द्रजीत राईलाई मैले पहिलेदेखि चिनेका व्यक्ति हुन्। काम विशेषले गृह मन्त्रालय जाँदा मैले प्रायः ईन्द्रजीत राईलाई नै बढी भेट्ने गरेको थिए। मिति २०७७।०९।१६ गते म आफ्नै काम विशेषले गृह मन्त्रालय गएको बखत स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजीत राईको कार्यकक्षमा छलफल हुँदा ठुलो स्वरमा आवाज आएको हुँदा म पनि निजको कार्य कक्षमा छिरे, त्यहाँ जाँदा ईन्द्रजीत राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको हुँ, कार्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशव प्रसाद दुलाललाई डुप्लिकेट काम गरेका त छैनौँ? भनी सोध्दा निजहरूले हामी पूर्वका मानिस हौ, शरणार्थीका लागी पनि हामीले डुप्लिकेट काम गछौं होला भनी प्रति प्रश्न गरेका थिए।
ईन्द्रजीत राईलाई सामु भण्डारी सँग मैले परिचय गराई दिएको भन्ने कुरा सत्य होइन। भुटानी शरणार्थीको विषयमा कार्यदल बनाउने सम्मको कुरा मलाई थाहा छ, उक्त समितिका संयोजक बालकृष्ण पन्थी मेरो छिमेकी जिल्ला र सह-सचिव समेत भएको हुँदा चिनजान थियो । त्यसैले यो वियषमा सुरूदेखि नै आफ्नो धारणा स्पष्ट राख्दै आएको छु, बाँकी रहेका पीडित भुटानी शरणार्थीहरूको दीर्घकालीन समस्याको समाधान हुनुपर्दछ भन्ने मेरो धारणा रही आएको छ। गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यले नेपालको अन्तराष्ट्रिय छविउपर अपमान हुन्छ भन्ने मलाई लाग्छ ।
मेरो छोरा पक्राउ परी हतकडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेकोले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ, सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हुँ।
कदम रोकिएको मात्र हो, आफै सम्पर्कमा आउने क्रममा थिएँ भनी प्रतिवादी टोपबहादुर रायमाझीले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।
Shares
प्रतिक्रिया