अनलाइनमा सट्टेबाजी खेलाउने एप वानएक्सबेटमा संलग्न रहेको आरोपमा पक्राउ परेका १४ जनाविरुद्धको अनुसन्धान सकिएको छ। काठमाडौं प्रहरी परिसरले २० दिन लामो अनुसन्धान टुंग्याउँदै रायसहितको प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको हो।
सुरुमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा पछि ८ जना कालाकार र युट्युबर समेत यो प्रकरणमा जोडिएका थिए।
सुरुमा पक्राउ पर्नेहरुमा कैलालीको लम्कीचुहा नगरपालिका–१० घर भइ काठमाडौं चाबहिल बस्ने २९ वर्षीय दिनेश खड्का, काभ्रेको पाँचखाल नगरपालिका–४ घर भइ चाबहिल बस्ने २८ वर्षीया अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ का २७ वर्षीय दीपेश श्रेष्ठ, कन्चनपुरको भीमदत्त नगरपालिका–१८ घर भइ काठमाडौं पेप्सीकोला बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोटको ककनी गाउँपालिका–७ घर भइ काठमाडौं नागार्जुन बस्ने २४ वर्षीय आशिष लामिछाने थिए।
लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबर गरी ८ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) राजु पौडेल (राजुमास्टर), पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्ती मगर, गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो)लाई पक्राउ गरेको थियो। अर्का युट्युबर राजकुमार थापा पनि पक्राउ परेका थिए। उनीहरु १४ जनाविरुद्ध नै अनुसन्धान सकेर प्रतिवेदन बुझाएको काठमाडौं परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए।
सुरुमा पक्राउ परेका ५ जनामध्ये पनि मुख्य दिनेश खड्का रहेको खुलेको छ। दिनेशले सबैभन्दा बढी कारोबार गरेका छन्। उनले सुरुमै ६४ करोडको कारोबार गरेको खुलेको थियो। यसका लागि उनले १२ जनाको नाममा ६३ वटा खाता खोलेर कारोबार गरेका थिए। यस्तै दिनेशविरुद्ध थप जाहेरी समेत परेको छ।
उनले थप व्यक्तिको नाममा खाता खोलेर ३१ करोड बढीको कारोबार गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले बताए। दिनेशले नेपालमा मुख्य एजेन्टका रुपमा काम गरेको प्रहरीको दाबी छ। उनी मार्फत नै अन्य व्यक्ति जोडिएका थिए। कतिपयलाई भने उनले नै संलग्न गराएको खुलेको छ। आशिषले ३ करोडको कारोबार गरेको फेला परेको प्रहरीको दाबी छ। उनको साथबाट प्रहरीले ३७ लाख रुपैयाँ बरामद गरेको छ। दीपेशले ५ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।
कलाकार र युट्युबरले भने वानएक्सबेटको प्रचार गरेर रकम लिएको खुलेको प्रहरीको दाबी छ। एकै जना कलाकारले १० लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म लिएको प्रमाण फेला परेको प्रहरीको दाबी छ।
वानएक्सबेट नेपालमा प्रतिबन्धित छ। तर यही गैरकानुनी एपको प्रचार गरेर सट्टेबाजी गर्न खुला रुपमा प्रोत्साहन गरेको र गैरकानुनी रुपमा रकम लिएको आरोप उनीहरुमाथि छ। पक्राउ परेका १४ जनालाई राष्ट्र बैंक र जुवा ऐनअन्तर्गत कारबाही गर्नुपर्ने प्रहरीको राय छ।
खड्काले गरे ९५ करोडको कारोबार
कैलालीको लम्किचुहाका २९ वर्षीय दिनेश खड्काले ९५ करोड बढीको कारोबार गरेको भेटिएको छ। सुरुमै ६४ करोड बढीको कारोबार गरेको देखिएको थियो। खड्काले अन्य व्यक्तिका नाममा समेत खाता खोलेर ३१ करोड बढीको कारोबार गरेको पनि भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। अपराध अनुसन्धान कार्यालयले थप जाहेरी पनि काठमाडौं परिसर टेकुमा पठाएको छ।
उक्त जाहेरीका आधारमा बैंकिङ कसुरमा पुनः अनुसन्धान गर्ने प्रहरीको तयारी छ। दिनेशले अन्य व्यक्तिका नागरिकता प्रयोग गर्दै ४२ वटा खाता खोलेर कारोबार गरेको प्रहरीको दाबी छ। यी खातामा ३१ करोड ३२ लाख ६४ हजार २५२ रुपैयाँको कारोबार गरेको भेटिएको छ।
यसरी आफ्नो मन्जुरीबिनै खाता प्रयोग गरेको भन्दै २ जना पीडितले जाहेरी दिएका छन्। उक्त जाहेरीमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (क) र (ख), दफा ५ को (क) र (ग) दफा ६ बमोजिमको कसुरमा आवश्यक कारबाहीको लागि परिसरमा पठाएको छ।
खड्कालाई यसअघि राजस्व अनुसन्धान विभागले पनि पक्राउ गरी मुद्दा चलाएको थियो। २०७८ सालमा झण्डै ९ करोडको कारोबार गरेको पाइएपछि मुद्दा चलाइएका उनी २५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।
अब सकरारी वकिल कार्यालयले उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेछ। त्यसपछि थुनामा राखेर, धरौटीमा राखेर वा साधारण तारेखमा छाडेर पुर्पक्ष गर्ने भन्ने आदेश हुनेछ।
Shares
प्रतिक्रिया