सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा गोली हानी युवकको हत्यामा संलग्न आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न आरोपमा धरान उपमहानगरपालिका ४ का २७ वर्षीय ज्याङ्लो भन्ने युनेश राईलाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले ८ राउन्ड गोलीसमेत बरामद गरेको छ।
उनलाई पक्राउ गरेर घर खानतलासी गर्दा महिलाले बोक्ने झोलामा ७.६५ एमएम को ८ राउन्ड गोली बरामद गरेको हो।
साउन ५ गते विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको थियो। उनीसँगै रहेकी युवतीका गहना लुटपाट गरेका थिए। लुटपाट गर्न थालेपछि प्रतिकार गर्न खोज्दा रोहितलाई गोली हानेको प्रहरीले जनाएको छ।
अहिलेसम्म घटनामा संलग्न आरोपमा पक्राउ पर्नेको संख्या ५ पुगेको छ।
यसअघि शुक्रबार झापाको भद्रपुरका ३० वर्षीय प्रकाश लिम्बु र विराटनगरका ४१ वर्षीय अजयकुमार शर्मा पक्राउ परेका थिए।
सुरुमा लेटाङ नगरपालिका १ का ३५ वर्षीय दीपक तिमिल्सिना र धरान १० का ३४ वर्षीय अनसन तामाङलाई साउन १६ गते पक्राउ गरेको थियो। उनीहरुलाई इलाका प्रहरी कार्यालय ईटहरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।
Shares
प्रतिक्रिया