मोरङको बेलबारीबाट प्रहरीले विमल निरौला र महेश श्रेष्ठलाई बुधबार पक्राउ गर्यो।
पक्राउ परेका दुवैजना नेकपा क्रान्तीकारी माओवादीका नेताहरु हुन्। उनीहरुलाई आसन्न निर्वाचनविरुद्ध गतिविधि गरेको आरोप प्रहरीको छ।
मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभाकोनिर्वाचनलाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेत्रबहादुर चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बहिस्कार गरेका छन्।
पक्राउ परेका निरौला केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ मोरङ जिल्ला इन्चार्ज हुन्।
‘संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्षको तयारी गरौँ,आसन्न संघीय तथा प्रादेशिक निर्वाचन सशक्त बहिष्कार गरौँ’ नारा लेखिएको पोस्टर तथा पर्चा बाँडिरहेका उनीहरुलाई बेलबारीबाट पक्राउ गरिएको पार्टीले जनाएको छ।
निर्वाचन बहिस्कारमा लागेका राजनीतिक दलभन्दा पनि साना प्रशासनलाई साना हतियारको थ्रेट छ।
प्रशासनले निर्वाचन सम्पन्न नभइन्जेलसम्म लाइसेन्स प्राप्त निजी हतियार बुझाउन सूचना जारी गरेको छ। सूचनाअनुसार जिल्ला प्रशासन कार्यालयमा हतियार बुझाउन शुरु भइसकेको छ।
तर खुल्ला सीमाका कारण मंसिर ४ मा हुने निर्वाचनमा साना हतियारको चुनौती रहेको प्रहरीले जनाएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचन नजिकिएपछि भारतसँग सीमा जोडिएका जिल्लामा अवैध रुपमा भित्रने साना हतियार नियन्त्रण प्रहरीका लागि चुनौती बनेको बताए।
यसअघिका निर्वाचनताका पनि प्रहरीले विभिन्न स्थानबाट साना हतियार र गोली बरामद गर्ने गरेको थियो।
तर भारतीय सिमावर्ती क्षेत्रमा अबैध साना हतियारको कारोबार गर्नेहरूको गिरोहसम्म प्रहरी पुग्न सकेको छैन।
'खुल्ला सीमाका कारण हामीलाई साना हतियारको थ्रेट छ', उनले भने, 'चुनावमा यस्ता हतियारको प्रयोग हुन्छ भनेर हामीले निगारानी बढाएका छौँ।'
प्रहरीले गत आर्थिक वर्ष प्रदेश १ बाट ६५ थान अवैध साना हतियार बरामद गरेको थियो। ती घटनामा ६९ जना पक्राउ परे।
आधाभन्दा बढी बरामद हतियार र पक्राउ पर्नेहरु गत स्थानीय तह निर्वाचन आसपासको अवधिका हुन।
चुनावको मुखैमा यति धेरै संख्यामा साना हतियार बरामद हुनु र कारोबारी पक्राउ परेको पृष्ठभूमिमा यसपटक पनि त्यस्ता सक्रिय रहेको भन्दै सुरक्षा अधिकारीहरुले सजगता बढाएका छन्।
सरकारले मंसिर ४ गतेको चुनाव घोषणा गरेयता भारतसँग सीमा जोडिएका झापा, मोरङ, सुनसरी लगायत जिल्लाबाट आधा दर्जन अवैध साना हतियार बरामद भएका छन्। त्यतिकै संख्यामा कारोबारी पक्राउ परिसकेका छन।
पक्राउ परेकाहरु अधिकांश यसअघि पनि हातहतियार खरखजाना मुद्दामा कारबाही भोगिसकेका व्यक्तिसमेत रहेको प्रहरीले जनाएको छ।
यस्तै साना हतियारका भारतीय कारोबारी र हतियार किन्ने नेपालका नागरिकहरू लागूपदार्थ प्रयोगकर्ता समेत भएको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ।
प्रदेश १ का प्रहरी प्रमुख सुदीप गिरीले निर्वाचनका बेला मात्रै नभएर खुल्ला सिमाना भएका कारण साना हतियार सधै सुरक्षा निकायका लागि चुनौती भएको बताए।
'साना हतियारको चुनौती सधैँ हो। तर निर्वाचनका बेला अझ बढ्छ', उनले भने। साना हतियारबाट हुने सुरक्षा थ्रेट कम गर्न भारतीय सुरक्षाकर्मीसँग सहकार्य भइरहेको उनले बताए।
खुल्ला सीमाका कारण चुनावमा हुने सुरक्षा चुनौती कम गर्न भारतीय सुरक्षाकर्मीहरुसँग बैठक बसे सहकार्य शुरु भएको उनले बताए।
'हामीले सहकार्य शुरु गरेका छौँ', गिरीले भने, 'साना हतियारको चुनौती कम गर्न सूचना संकलन र विश्लेषण गरि समन्वय भइरहेको छ।'
प्रतिक्रिया