परपुरुषसँग सम्बन्ध राखेको शंकाकै भरमा मोरङ विराटनगरका रमेश साहले श्रीमती प्रियंका सुनुवार साहको हत्या गरेको खुलेको छ।
विराटनगर–१९ घर भएका २९ वर्षीय रमेशले अन्य २ जनासमेतको सहयोगमा पत्नी २८ वर्षीया प्रियंकाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
प्रहरीले हत्या आरोपमा प्रियंकाका श्रीमान् साहसहित मोरङ कटहरी गाउँपालिका ५ का ६२ वर्षीय रमानन्द राम र सोही ठाउँका ३५ वर्षीय उमेश सरदारलाई पक्राउ गरेको छ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले दिएको जानकारीअनुसार पारिवारिक सम्बन्धमा आएको खटपट नै प्रियंकाको हत्याको मुख्य कारण देखिएको छ।
‘अहिले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ’, एसपी पोखरेलले भने, ‘विस्तृत तथ्य थप अनुसन्धानपछि खुल्नेछ।’
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि विस्तृत विवरण सार्वजनिक गरिने उनले बताए। हत्या गरी बोरामा पोको पारेर फालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा प्रियंकाको शव सोमबार दिउँसो १२ बजेतिर फेला परेको थियो।
घरको आँगन जोडिएको ग्वालीमा शव भेटिएपछि नरसिंहलाई पनि प्रहरीले सोधपुछ गरिरहेको छ। घाँटी र कानमा चोट रहेका कारण हत्यापछि प्रियंकाको शव बोरामा पोको पारेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार नरसिंहको घरभित्र हत्या गरेर शव ग्वालीमा फालेको आशंका छ।
बोरामा शव भेटिएको जानकारी पाउनसाथ घटना अनुसन्धानका लागि डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो।
मृतक पियंकाको घर विराटनगर १९ मिलनचोक हो। माइती भने भारत हो। उनको विवाह स्थानीय रमेश साहसँग भएको थियो। उनीहरूको ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन्। केही समयदेखि उनीहरूको सम्बन्धमा खटपट भइरहेको थियो। एकअर्कालाई आशंका गर्दै झगडा गर्ने उनीहरू स्थानीय प्रहरी चौकीसम्म पुगेको स्थानीय बताउँछन्।
आइतबार घुम्न जाने बहानामा रमेश प्रियंकालाई बाइकमा राखेर बूढीगंगा गाउँपालिका २ अमाहीस्थित नरसिंह चौधरीको घरमा पुर्याएका थिए। उनका साथमा थिए– रमानन्द राम र उमेश सरदार। रमानन्दको दाजुको साथी हुन् घरधनी नरसिंह। रमानन्दका माध्यमबाट रमेशले श्रीमतीलाई लिएर अमाही पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। अमहीमा ६० वर्षीय चौधरी, उनका पत्नी र २४ वर्षीय छोरा मात्र बसोबास गर्थे। आइतबार दिउँसो करिब २ बजेतिर घरमा नरसिंह एक्लै थिए। त्यही बेला रमेश श्रीमती र अन्य दुई जना लिएर पुगेका थिए।
‘चौधरीको घरमा पुगेपछि रमानन्दले नरसिंहलाई हावा खान भन्दै गाउँतिर पठाइदिए। घरभित्रको कोठामा रमेश र प्रियंका बसे। त्यही बीचमा उनीहरूबीच विवाद भयो। लडाएर घाँटीमा तन्नाले थिचेर हत्या गरेको आरोपितले स्वीकार गरेका छन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हत्या गरेपछि शव प्लास्टिकको ठूलो बोरामा हालेर ग्वालीमा लुकाए।’
प्रियंकालाई त्यहाँ भएका दुईजनासँग छाडेर पुर्याउन जाने र घरधनीसमेत बाहिर निस्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरू हिँडेपछि दुईजनाले हत्या गरेर शव बोरामा पोको पारेर ग्वालीमा छाडी हिँडेका थिए। घटनाबारे अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार योजनाबद्ध रूपमा महिलाको हत्या भएको देखिन्छ।
आइतबार राति ११ बजे कोसी अस्पताल (विराटनगर) मा कटहरी–५ का ६२ वर्षीय रमानन्द राम गाडी खोजिरहेका थिए। उनले अस्पताल परिसरमा भएका गाडीलाई लास बोक्नुपर्ने भन्दै भाडा सोधिरहेका थिए। गाडी चालकहरूले पनि कोसी अस्पतालभित्रै निधन भएको व्यक्ति बोक्ने होला भन्ने ठाने। तर, लास अस्पतालभन्दा बाहिर बूढीगंगा गाँउपालिका–२ को एउटा घरमा रहेको भनेपछि उक्त सूचना प्रहरीसम्म पुग्यो।
प्रहरीले रामलाई राति नै नियन्त्रणमा लियो। उनले सुरुमा ढाँटे। मानसिक रूपमा कमजोरजस्ता देखिएका रामले जब बूढीगंगा–२ मा एउटा लास व्यवस्थापन गर्नुपर्ने भने तब प्रहरीले महिलाको हत्या भएको सूचना पायो। त्यही लास व्यवस्थान गर्ने जिम्मा कटहरीका ६२ वर्षीय रामलाई दिइएकाले उनी गाडी खोजिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ।
प्रतिक्रिया