आइतवार साँझ छिमेकीकहाँ खाना खाएर आएको थियो दिनेश र सुनिता पाण्डेको परिवार।
खाना खाएर आएपछि पाण्डे परिवार तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित एक तले घरभित्रै सखाप भएको छ।
लामो समयदेखि चलेको झगडाको परिणाम ४१ वर्षीय पति दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित दुई छोराछोरीको पनि ज्यान लिएको प्रहरीको सुरुवाती अनुसन्धानले देखाएको छ।
महानगरीय प्रहरी परिसर र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको अनुसन्धानबाट सुरुमा दिनेशले ओछयानमै छोराछोरी र भुइँमा पत्नीको हत्या गरेका थिए।
त्यसपछि आफू अर्को कोठामा गएर पेट र छातीमा छुरा हानेको भेटिएको छ। झ्यालको रेलिङमा बिजुलीको तारमा झुन्डिएका उनले घटनाको प्रकृति हेर्दा आफैंलाई छुरा हानेको पाइएको हो।
आइतवार राति कुन समयमा घटना भयो भन्ने खुलेको छैन। छिमेकीले समेत कसैले पनि चिच्याएको नसुनेपछि बिहान साढे ८ बजेतिर मात्रै घटनाबारे थाहा भएको हो।
नजिकैको चोकमा इलेक्ट्रोनिक र कपडाको पसल समेत चलाउँदै आएका पाण्डे परिवार नै सखाप भएको कुरा १३ वर्षीया छोरी आशिकालाई स्कुल लैजान सेनाको बस आएपछि मात्रै खुलेको थियो। दिनेशले ८ वर्षीय छोराको पनि ज्यान लिएका छन्।
आर्मी स्कुलमा पढ्ने आशिकालाई लिन सेनाको स्कुल बस उनीहरुको घरबाट करिब ५० मिटर पश्चिमतर्फ बसस्टपमा पुगेको थियो।
सधैँजसो आशिका आइपुग्ने प्रतिक्षामा केही बेर उक्त बस कुरेर बसेको थियो। तर आशिका नआएपछि सेनाको स्कुल बसका कर्मचारीले त्यहाँ सोधखोज गरेका थिए।
बस पुगेर कुरिरहे पनि आशिका नआएपछि स्कुल बसका कर्मचारीले उनी किन आइनन् भनेर त्यहाँ सोधखोज गरे।
स्कुल बसका कर्मचारीले चासो राखेपछि स्थानीय छिमेकीहरू पाण्डे परिवारको एक तले घरमा पुगेका थिए।
तर छिमेकीले गएर बोलाउँदा पनि आशिका स्कुल जान निस्किनन्। पाण्डे परिवारको मूलढोका नै बन्द थियो।
'स्कुल बस कुरिरह्यो तर आशिका घरबाट निस्किनन्। उनको नाम लिइसकेकपछि किन आइनन् भनेर छिमेकीले खोजी थालेछन्', एक प्रहरी अधिकारीले भने, 'सोध्न जाँदा ढोका बन्द रहेछ। नजिकै पाण्डे परिवारका दाइको घर पनि रहेछ। दाइसहित छिमेकी जम्मा भए घरमा बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए।'
प्रहरी आएर एकतले घरको मूलढोका फुटाएर हेर्दा चारैजना रगताम्य अवस्थामा मृत भेटिएका हुन्। अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालित भएको छ।
सुनिताका आफन्तले शव उठाउन दिएका छैनन्। उनीहरुले नाराबाजी गरेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार घटनाको प्रकृतिअनुसार दिनेशले अरुको हत्या गरेर आफूले आत्महत्या गरेको देखिन्छ।
मैनालीका अनुसार घटनास्थलमा दिनेशले छाडेको सुसाइड नोट पनि भेटिएको छ। तर त्यसमा लेखिएको विवरणबारे प्रहरीले खुलाइसकेको छैन।
- बेलायत जान भिसा लागिसकेको थियो सुनिताको, घर झगडाले परिवार नै सकियो
- काभ्रेस्थली घटना : घरभित्रै भेटियो सुसाइड नोट
- काभ्रेस्थली घटना : दुई छोराछोरी र पत्नीमाथि चक्कु हानेपछि झुन्डिए दिनेश
- बन्द घरभित्र मृत भेटिएका चारै जनाको शरीरमा चोट, घटनास्थलमा चक्कु फेला
- सुनिताका माइती पक्षले शव उठाउन दिएनन्, घटनास्थलमा नाराबाजी
Shares
प्रतिक्रिया