राजस्व अनुसन्धान विभागले शनिबार राति सुन तस्करीको आरोपमा पक्राउ गरेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ १७ वर्षअघि पनि नेपालमा पक्राउ परेको तथ्य फेला परेको छ। प्रहरी प्रधान कार्यालयको अभिलेखमा दावा २०६३ साल मंसिर २४ गते बौद्धबाट पक्राउ परेका थिए।
राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थल बाहिरबाट बरामद गरेको करिब सय किलो सुन प्रकरणमा दावाको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरेको हो। ठमेलको होटल भियनामा शनिबार साँझ सशस्त्र प्रहरीको सहयोगमा राजस्वले छापा मारेको थियो।
‘पक्राउ परेका व्यक्तिसँग उनको पनि कनेक्सन देखिएपछि दावालाई पक्राउ गरिएको हो। सुन प्रकरणमा उनको संलग्नता देखिएको छ, तर कुन तहसम्मको संलग्नता हो भन्ने अनुसन्धान भइरहेको छ। आज म्याद थप गरेका छौं। अब विस्तारै अनुसन्धानमा खुल्दै जाला,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले भने।
दावासँग राजस्वले सोमबारदेखि सोधपुछ थाल्नेछ।
पहिलेदेखि नै उनको गतिविधि शंकास्पद देखिएको र सुन तस्करीका घटनाक्रममा पनि जोडिएको ढुंगानाले बताए।
‘सुन तस्करी प्रकरणमा संलग्न रहेको कुरामा सन्देह छैन। तर भूमिका के के छ भन्ने प्रष्ट भइसकेको छैन,’ महानिर्देशक ढुंगानाले भने, ‘कुनकुन कामका लागि उनी संलग्न छन् भन्ने कुरा खुल्दै जान्छ।’
अर्का अनुसन्धान अधिकृतका अनुसार यसअघि पक्राउ परेका अभियुक्तहरुले भने उक्त होटलबाट समेत सुनको कारोबार भएको बयान दिएका थिए। सोही बयान र पक्राउ परेकासँगको कनेक्सनका आधारमा उनलाई पक्राउ गरिएको हो।
महानिर्देशक ढुंगानाले भने कतिपय अन्य विषयहरु पनि आएको र ती कुराहरु प्रमाणले पुष्टि भइनसकेको तथा दावाको बयान भइनसकेकाले उनले पनि स्वीकार गरी सकेको अवस्था नरहेको बताए। यसअघि छापा मारिएका गोदामहरुमा भने प्रमाणहरु पनि भेटिएका थिए। तर त्यस्ता प्रमाण अहिलेसम्म दावाविरुद्ध जुटिनसकेको उनले बताए।
‘उनले बाहिरै बसेर गिरोहलाई सहयोग गरेका छन् कि भित्र टिममै बसेर त्यसको व्यवस्थापनमै भूमिका खेलेका छन् भन्ने हेर्छौं,’ ढुंगानाले आइतबार राति नेपालखबरसँग कुरा गर्दै भने।
तर दावा यसअघि पनि नेपालमा भएका चिनियाँहरुले गरेको आपराधिक गतिविधिमा संलग्न देखिएका छन्। पछिल्लो पटक २०७६ सालमा पनि उनी पक्राउ परेका थिए।
अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लिल भिडिओ देखाएर चिनियाँ नागरिकलाई ठगी गरेको आरोपमा उनीसहित १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। उनीहरुलाई पक्राउ गर्न नेपालस्थित चिनियाँ दूतावासले सूचना दिएको थियो।
तर लामो समयदेखि नेपालमै रहेका दावाले अन्य चिनियाँ अपराधीहरुलाई पनि सहयोग गर्ने गरेको प्रहरी अधिकारीहरु बताउँछन्। उनले किर्ते कागजात पेस गरेर नेपाली नागरिकता र पासपोर्ट लिएको पनि खुलेको छ। उनले २०७४ पुस २० गते निमा तामाङका नाममा नेपाली नागरिकता लिएको भेटिएको छ। उनले राहदानी पनि त्यही माघमा लिएका थिए। तर उनलाई यो कसुरमा पनि कुनै कारबाही भएको थिएन।
बेल्जियमको पासपोर्ट भने दावा छिरिङकै नाममा लिएको पाइएको छ। पछिल्लो १७ वर्षमा उनी तेस्रो पटक पक्राउ परेका हुन्।
२०६३ सालमा उनीविरुद्ध सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो। प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार उनलाई बौद्धबाट पक्राउ गरी मुद्दा चलाएको अभिलेख फेला परेको हो।
त्यतिबेला तिब्बती चिनियाँ भनेर मुद्दा चलाइएका दावालाई के–कस्तो सजाय भयो भन्ने विस्तृत अभिलेख भने फेला परेको छैन। दावा पक्राउ परेसँगै उनीबाट नेपाली कनेक्सन र थप चिनियाँको संलग्नता खुल्न सक्ने राजस्व विभागका महानिर्देशक ढुंगाना बताउँछन्। उनी लामो समयदेखि नेपालमा रहेको र उनको नेपालका उच्च तहसम्म कनेक्सन देखिएकाले सुन प्रकरणमा उनले समेत सेटिङ मिलाएको हुनसक्ने राजस्वको आशंका छ।
अहिलेसम्म को को पक्राउ परे?
राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ गरिसकेको छ। तर सुनको मालिक को हो भन्ने खुल्न सकेको छैन।
अहिलेसम्म पक्राउ परेका नेपालीहरु भरिया मात्रै भएको निश्चित छ। तर दुई चिनियाँको हकमा भने कुन तहसम्मको संलग्नता हो भन्ने खुलिसकेको छैन।
राजस्व विभागका महानिर्देशक भन्छन्, ‘चिनियाँमाथि अनुसन्धान गर्न अलिक जटिल देखिएको छ। बयानमा फिटिक्कै बोल्दैबोल्दैनन्। भाषाको पनि समस्या छ। मान्छे खोल्दैनन्। चाइनिज–नेपाली कनेक्सन कहाँनेर हुन्छ भनेर हेर्दैछौँ। अब त्यतातिर केन्द्रित छौँ। प्रहरीसँग भएका रिपोर्टहरु पनि हेर्छौं।’
तस्करीमा अझै केही व्यक्तिको संलग्नता खुलेको छ। पक्राउ पर्नेको संख्या अझै बढ्ने महानिर्देशक ढुंगानाले बताए।
यसअघि पक्राउ परेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ।
आइतबार म्याद थपका लागि एकसाथ १८ जनालाई अदालतमा उपस्थित गराइएको थियो। सुरुमा पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न अनुमति लिएको राजस्वले पछि उनीहरूसँगै म्याद सकिने गरी अन्यको पनि म्याद थप गराएको थियो।
आइतबार सबैलाई १५ दिन हिरासतमा राख्न अनुमति दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले बताए।
साउन २ गते करिब सय किलो सुन बरामद गर्दा राजस्वको टोलीले सुरुमा ५ जनालाई पक्राउ गरेको थियो।
त्यतिबेला सुन लैजाँदै गरेका ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई पक्राउ परेका थिए।
भोलिपल्ट तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ पक्राउ परेका थिए। सुन तस्करीमा संलग्नहरू पक्राउ परेको थाहा पाएपछि नेपालबाट भाग्न लागेका चिनियाँ नागरिक जिक्वाङ लिन साउन ४ गते विमानस्थलबाटै पक्राउ परेका थिए।
उनलाई पक्राउ गर्न राजस्वले अध्यागमन विभागलाई पत्र पठाएको थियो। अध्यागमनले कालोसूचीमा राख्दै प्रहरीलाई जानकारी दिएपछि विमानस्थल प्रहरीले पक्राउ गरेर बुझाएको थियो।
त्यसैदिन राजस्वले सुन तस्करीमा संलग्न रहेको आरोपमा कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुस्करराज भट्टलाई पक्राउ गरेको थियो।
साउन ७ गते भने अध्यागमन विभागका कर्मचारीहरू नै पक्राउ परेका थिए। तस्करीको सुन भन्सार पास गरेको आरोपमा भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाललाई पक्राउ गरेको थियो।
तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेका थिए।
साउन १० गते तस्करीमा संलग्न चिनियाँ नागरिक लिनलाई भाडामा गोदाम खोजिदिने नुवाकोटका सन्तोष तामाङ पक्राउ परेका हुन्।
उनीहरूलाई राजस्व अनुसन्धान विभागले जिल्ला प्रहरी परिसर ललितपुर र सानेपा प्रभागको हिरासतमा राखेको छ। दिउँसो अनुसन्धानका लागि राजस्व विभागमा उपस्थित गराइन्छ।
राजस्व विभागले यो मुद्दामा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।
Shares
प्रतिक्रिया