नाइजेरियाको डेल्टा राज्यको असाबा र अनाब्रा राज्यको ओनित्सा देशका दुई ठूला शहर हुन्। यी दुई शहरलाई जोड्ने दोस्रो नाइजर पुल निर्माणलाई त्यहाँको सरकारले महत्वाकांक्षी योजनामा राखेको छ।
३३६ बिलियन नाइजेरियन मुद्राको यो प्रोजेक्टमा १.६ किलोमिटर लामो पुल र पुलसँग जोड्ने १०.३ किलोमिटर लामो राजमार्ग पनि बन्दैछ।
सन् १९८० को दशकमै नाइजेरियामा यो परियोजना अघि सारिएको थियो। बजेट अभाव र राजनीतिक कारणले ढिलासुस्ती भएपछि सन् २०१८ बाट बल्ल अघि बढेको हो। नाइजेरियाका राष्ट्रपतिले यसको शिलान्यास गरेका थिए।
यो पुल निर्माणमा अहिले १३ सय मजदुर संलग्न छन्। ४५० बढी उपकरणको प्रयोग गरिएको छ।
यो पुल र सडक निर्माणको जिम्मा नाइजेरियाको प्रसिद्ध कम्पनी जुलियस बर्गरले पाएको छ। अहिले निर्माणको अन्तिम चरणमा रहेको रहेको यस महात्वाकांक्षी परियोजनाको सम्बन्ध नेपालसँग पनि जोडिएको छ।
नाइजेरियाको महत्वाकांक्षी आयोजनालाई मूर्त रुप दिन जोडिएका छन् रसुवाका कान्छा तामाङ। उनी यो परियोजनामा खटिएका एक्ला नेपाली पनि हुन्।
निर्माण कम्पनी जुलियस बर्गरले यो परियोजनामा कान्छालाई सुपरभाइजरको जिम्मेवारी दिएको छ। पुललाई तीन भागमा बाँडेर काम भइरहेको छ। उनी बीच भागको इन्चार्ज छन्।
उनको जिम्मेवारी भनेको डिजाइन अनुसारको काम भइरहेको छ छैन? के कस्ता समस्या देखिएका छन्? कहाँ के आवश्यक छ? यी सबै कुराको व्यवस्थान गर्नु हो।
‘साइटमा नक्साअनुसार काम भइरहेको छ कि छैन हेर्ने सम्पूर्ण जिम्मेवारी मेरो काँधमा छ,’ नाइजेरियाबाट नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘कुनै पनि समस्याले काम नरोकियोस्, डिजाइनमा तलमाथि नहोस् भनेर खटिरहेको छु।’
उनीमातहत अहिले पनि सयभन्दा बढी कामदार छन्। ती सबैको काम निरीक्षण गर्दै सहजीकरण गर्ने जिम्मेवारी उनले लिएका छन्। सबै कुराको रिपोर्टिङ उनले मुख्य कम्पनीमा गराउनुपर्छ।
७२ वर्षअघि स्थापना भएको निर्माण कम्पनी जुलियससँग सन् २०११ देखि कान्छा आवद्ध छन्। २४ तले नाइजेरियाको केन्द्रीय बैंक, २० तल्लाको नेस्टवेल टावरलगायत दर्जनौँ ठूला भवन निर्माणका क्रममा उनले काम गरिसकेका छन।
रसुवाका कान्छा १८ वर्षको उमेरमै निर्माण क्षेत्रमा काम गर्न सन् २००३ मा दुबई हानिएका थिए। त्यहाँ उनी सानो समूहका लिडर थिए।
दुबईमा काम गर्दागर्दै उनलाई नाइजेरियाको अर्को कम्पनीबाट प्रस्ताव आएको हो। त्यसलाई स्वीकार गर्दै उनी दुबई छाडेर नाइजेरिया पुगे। त्यसको दुई वर्षपछि त्यहाँको प्रख्यात कम्पनी जुलियससँग आवद्ध भए।
‘नाइजेरिया सरकारले यो पुल र सडक परियोजनालाई ठूलो महत्व दिएको छ। सरकारकै ड्रिम प्रोजेक्टमा कम्पनीले पनि मलाई ठूलो जिम्मेवारी सुम्पिएको छ,’ उनी भन्छन्, ‘निर्माणको अन्तिम चरणमा पुग्दा नेपालीले पनि ठूला विदेशी परियोजनामा कुशलतापूर्वक काम गर्न सक्छन् भन्ने उदाहरण बन्दा गर्व लागेको छ।’
पुल निर्माणको मुख्य काम सकिएको छ। तर फिनिसिङको काम बाँकी छन्। तिनलाई पनि आगामी अप्रिलसम्म सक्ने योजना कान्छाले सुनाए।
लामो समय यसै क्षेत्रमा काम गरेकाले नाइजेरियाको ठूलो परियोजनामा काम गर्दा खासै समस्या नआएको उनी बताउँछन्।
उनी आवद्ध कम्पनीको निर्माण परियोजनामा खटिएका मजदुर प्रायः नाइजेरियाली नै छन्। तिनीहरुले अंग्रेजी बोल्ने भएकाले आफूलाई काम गर्न सजिलो भएको उनले सुनाए।
झण्डै डेढ दशकदेखि दुबई र नाइजेरियाको निर्माण क्षेत्रमा खटिएका कान्छा नेपाल र अन्य देशको निर्माणकार्यमा धेरै अन्तर रहेको बताए।
‘नेपालमा यत्रो पुल बनाउँदा १५–२० वर्ष लगाइदिन्थे। त्यहाँ एक किलोमिटर पिच गर्न पनि वर्षौँ लाग्छ,’ उनले सुनाए, ‘तर यहाँ काम तोकिएको समयमै र गुणस्तरीय पनि हुन्छ। हामीलाई प्रविधिले पनि साथ दिएको छ।’
गर्वको कुरा
नाइजेरियामै रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ता हिक्मत थापा त्यहाँको महत्वाकांक्षी योजनामा नेपालीको संलग्नता गर्वको विषय भएको बताउँछन्। उनले यसरी विदेशका ठूला परियोजनामा काम गरेका नेपालीको अनुभव देश निर्माणमा लगाउनुपर्ने बताए।
‘कान्छा तामाङ चार वर्षदेखि नाइजेरियाको महत्वाकांक्षी योजनामा अरु देशका प्राविधिक टोलीसँग दिनरात खटिरहेका छन,’ उनले भनेका छन्, ‘देश बनाउन नपाए पनि नेपालीले दूरदराजको अफ्रिका भने बनाउँदैछौँ कान्छाहरू। कहिले आउला दिन कान्छा तामाङहरु कोशी, नारायणी र कर्णालीमाथिका पुल बनाउन, आफ्नो अनुभव लगाउन र पसिना बगाउन!’
कान्छालाई पनि केही वर्षपछि स्वदेश फर्केर आफ्नै भूमिमा पसिना बगाउँदै अनुभव लगाउन मन छ। तर कसैलाई पनि आफ्नो अनुभवको कदर नभएको प्रति उनको गुनासो छ।
‘नेपाल फर्केर आफ्नो ज्ञान प्रयोग गर्न पाइयोस् भन्ने इच्छा त छ नि। विदेशमा सिकेको ज्ञान र अनुभवका आधारमा काम दिइन्छ,’ कान्छाले भने, ‘नेपालमा अनुभवीभन्दा आफ्ना मान्छेलाई काम दिन्छन्। त्यहाँ हुने प्रोजेक्टमा हामीजस्ता अनुभवीलाई खोजेर सरकारले काम लगाउनुपर्ने हो। तर कसले खोज्छ?’
सरकारले नखोजे पनि केही वर्षमा नेपाल फर्केर निर्माणकार्यमा संग्लन हुने योजना कान्छाले बनाएका छन्। त्यसबेला विदेशमा सिकेका ज्ञान र सीपको स्वदेशमै प्रयोग गर्ने इच्छा पनि उनले व्यक्त गरे।
Shares
प्रतिक्रिया