ad ad

Draft


जब प्रचण्डले नै बर्दिबासको कार्यक्रम रद्द गरे

जब प्रचण्डले नै बर्दिबासको कार्यक्रम रद्द गरे

नेपालखबर
भदौ २८, २०७६ शनिबार १०:२२,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २ नम्बर प्रदेशका जिल्लाहरूमा पहिलेदेखि रहेको विवाद मंलबार बर्दिबासको सडकमा पोखियो। 

महोत्तरीको बर्दिबासमा मंगलबार नेकपाको सप्तरी र सिराहा जिल्ला कमिटीको सपथग्रहण समारोह आयोजना गरिएको थियो। तर विवादले उग्र रुप लिएर कार्यक्रम स्थलमा झड्प हुँदा प्रहरीले लाठी चार्ज नै गर्नु पर्ने अवस्था आयो।

प्रहरीको लाठी लागेर २ नम्बर प्रदेश कमिटीका एक जना सदस्यको टाउको फुटेको छ।

पार्टीको पकड र भोटका हिसावले प्रदेश २ नेकपाको सबैभन्दा कमजोर प्रदेश हो। जबकी यही प्रदेशमा नेकपाको आन्तरिक विवाद सबैभन्दा गहिरो देखिएको छ।

पहिलेको योजनाअनुसार मंगलबार प्रदेश २ का अन्य जिल्ला कमिटीको पनि सपथग्रहण आयोजना गरिनु पर्ने थियो। केन्द्रका उच्च नेताको सहभागितामा सपथग्रहण समारोहमा आयोजना गर्नु पर्ने भएकाले प्रदेश २ का सबै जिल्ला कमिटीको सपथ बर्दिबासमै गर्ने तयारी थियो।

तर अन्य जिल्लामा चर्को विवाद रहेकाले पहिले ‘सामान्य विवाद रहेका’ भनिएका सप्तरी र सिराहा जिल्ला कमिटीको मात्रै सपथग्रहण कार्यक्रम राखिएको थियो। कम विवाद रहेका भनिएका जिल्ला कमिटीको सपथग्रहण समारोहमै झड्प भएपछि अन्य जिल्लाको अवस्था के होला भन्ने प्रश्न अहिले उठेको छ।

नेकपा प्रदेश २ का एक जना स्थायी समिति सदस्यका अनुसार सपथग्रहण समारोहमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आमन्त्रण गरिएको थियो। तर विवाद बढ्दै गएर झड्पको संभावना पनि रहेको सूचना पाएपछि दाहालले बर्दिबास जाने कार्यक्रम रद्द गरेका थिए।

प्रदेश २ मा देखिएको जिल्लाहरूको विवाद नेकपामा नयाँ होइन, न यो पूर्व एमाले र पूर्व माओवादीबीचको विवाद हो। पूर्व एमाले र पूर्व माओवादीभित्र पहिलेदेखि ठूला विवादहरू रहेका थिए।

नेकपामा केन्द्रका गुटबन्दी बाहेक प्रदेशस्तरमा पनि नेताहरुको फरक प्रकारको गठबन्धन रहेका छन्। पूर्व एमालेभित्र प्रदेश इन्चार्ज सत्यनारायण मण्डल र नागेन्द्र चौधरी फरक फरक गुटको नेतृत्व गर्थे। तर जिल्ला तहमा भने फरक प्रकारका गठबन्धन बन्ने गरेको थियो।

एमालेको नवौं महाधिवेशनको बेला धनुषामा रघुवीर महासेठ, श्रीप्रसाद साह, योगनारायण यादव एउटै समूह अर्थात केपी शर्मा ओलीको समूहबाट चुनाव लडेका थिए। तर जिल्लामा भने महासेठविरुद्ध साह, यादव र सत्रुघन महतोले गठबन्धन गरेका थिए। साह र यादव ओली समूहमा थिए भने महतो माधवकुमार नेपाल समूहमा।

पूर्व एमालेको सिराहा जिल्ला कमिटीमा पनि यस्तै अवस्था थियो। महाधिवेशनमा ओली समूहबाट सचिवमा प्रतिस्पर्धा गरेका धर्मनाथप्रसाद साह र केन्द्रीय सदस्य जितेकी लिला श्रेष्ठ सुब्बा जिल्लामा फरक समूह सञ्चालन गर्छन्। सिराहामा नेपाल समूहका रामचन्द्र यादवको छुट्टै गुट छ।

तर अहिले नेकपाको सिराहा जिल्ला कमिटीमा पूर्व एमालेबाट प्रतिनिधित्व गर्ने नेताहरूबीच खासै विवाद छैन।

प्रदेश २ को राजनीतिमा विचित्र के थियो भने एमाले र माओवादी एकीकरण हुनु पूर्व हालका आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र महासेठले तत्कालीन माओवादी नेता रामचन्द्र झाविरुद्ध गठबन्धन गरेका थिए। एमालेबाट माओवादी गएका झा चाहिँ श्रीप्रसाद साह, योगनारायण यादव र सत्रुघन महतो निकट थिए।

झा एमालेबाट माओवादीमा प्रवेश गर्ने बित्तिकै माओवादीबाट रत्नेश्वर गोइत एमालेमा प्रवेश गरे। झासँगको व्यक्तिगत टकरावको कारण पार्टी छाडेका गोइत एमाले प्रवेश गरेपछि महासेठसँग नजिकिए।
प्रदेश २ मा नेकपाका अधिकांश जिल्ला कमिटीमा नेताहरूबीच व्यक्तिगत टकराव चर्को छ। पूर्व माओवादीमा प्रदेश २ मा मुख्य रुपमा मातृका यादव र प्रभु साहबीच टकराव रहेको थियो।

सिराहा जिल्लामा चाहिँ विश्वनाथ साह र महेन्द्र पासवानबीच टक्कर छ। अहिले पासवानले नेकपाको जिल्ला कमिटी गठन गर्दा माओवादी तर्फबाट प्रतिनिधित्व गर्नेहरुको नाम एकलौटी रुपमा राखेको आरोप साहले लगाउँदै आएका छन्।

रौतहटको अवस्था पनि त्यस्तै छ। प्रदेश कमिटीका अध्यक्ष प्रभु साहले एकलौटी रुपमा जिल्ला कमिटीका सदस्यहरूको नाम राखेको आरोप छ। जसले गर्दा रौतहट जिल्ला कमिटीको सपथग्रहण हुन सकेको छैन।

बारामा पनि पूर्व एमालेभित्र केन्द्रका जस्तै फरक समूह सक्रिय रहेका थिए। प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले एउटा समूहको नेतृत्व गर्छन् भने पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको अर्कै समूह छ।

सप्तरीमा पूर्व एमालेभित्र सत्यनारायण मण्डल र सुमन प्याकुरेलको एउटै समूह रहेको छ भने पूर्व जिल्ला कमिटीका अध्यक्ष गोविन्द न्यौपाने अर्को समूहको नेतृत्व गर्छन्।

सप्तरीमा पूर्व माओवादीभित्रको अवस्था झन् विकराल थियो। एमालेसँग एकीकरणअघि माओवादीको जिल्ला कमिटी नै बन्न सकेको थिएन। त्यसले गर्दा अहिले पूर्व माओवादी नेताहरुलाई जिल्ला कमिटीमा आफ्नो तर्फबाट कसलाई ल्याउने भन्ने हम्मे परेको छ।

‘प्रदेश २ मा पूर्व माओवादीभित्रको विवाद पूर्व एमालेको भन्दा चर्को छ, पहिले जिल्ला कमिटी नभएकाले अहिले के मापदण्ड बनाएर कसलाई जिल्ला कमिटीमा राख्ने भन्ने समस्या भएको छ’, नेकपाका एक जना केन्द्रीय सदस्य भन्छन्, ‘त्यसैले आफूले चाहेको व्यक्ति ल्याउने होडबाजी हुँदा संगठनको काम सुरु हुन सकेको छैन।’

उनी थप्छन्, ‘अन्य प्रदेशमा भन्दा २ नम्बरमा नेकपा कमजोर छ, विधि र प्रक्रिया नमिल्दा अवस्था झन् जटिल बन्न पुगेको छ।’

पछिल्लो समय प्रदेश २ का इन्चार्ज मण्डल, अध्यक्ष साह र सचिव सुमन प्याकुरेलको गठबन्धन बनेको प्रदेश तहका नेताहरू बताउँछन्।

त्यस्तो गठबन्धनले अवस्था झन् जटिल बनेको प्रदेश २ का अर्का एक जना केन्द्रीय सदस्य ठान्छन्।

‘अध्यक्ष प्रचण्डको अध्यक्षतामा हालै बसेको सचिवालय बैठकले मण्डल, साह र प्याकुरेलभन्दा फरक धारका पासवान र चौधरीलाई २ नम्बर प्रदेशको सह–इन्चार्ज बनाएपछि विवाद झनै पेचिलो बन्ने देखिएको छ’, उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .