नेपाल–बंगलादेश बैंकमा रहेको ४० प्रतिशत सेयर इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स (आईएफआईसी) बैंक ढाकाले बेच्ने भएपछि नेपाली लगानीकर्ताले चासो देखाएका छन्।
आईएफआईसीले उक्त सेयर स्वामित्व पूरै बिक्री गर्ने योजना बनाएपछि नेपाली लगानीकर्ताहरूले खरिदमा चासो दिएका हुन्।
नेपाल बंगलादेश बैंकबाट उक्त कम्पनी बाहिरिने तयारी गरिरहँदा उक्त प्रमोटर सेयर किन्न अन्य बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता नेपाली व्यपारिक समूहले रुचि देखाएका छन्।
यसरी रुचि देखाउनुको कारण नेपाली बैंक तथा वित्तीय कम्पनीहरुलाई पुँजी बढाउनुपर्ने बाध्यता हो। राष्ट्र बैंकले एकातिर मर्जरमा जान वाणिज्य बैंकहरुलाई आग्रह गरिरहेको छ। राष्ट्र बैंकको नीति अनुसार नै केही बैंकहरू मर्जरमा गएर पुँजी बढाएपछि अरुलाई पनि दबाब परिरहेको छ।
नेपाल बंगलादेश बैंकमा रहेको आईएफआईसी सेयर खरिदमा चौधरी ग्रुप र एमभी दुगड ग्रुपले बढी चासो दिएका छन्।
नबिल बैंक अहिले देशकै ठूलो बैंकका रुपमा छ। ग्लोबल आइएमई र जनता बैंक मर्ज भइसकेका छन्। त्यस्तै हिमालयन र इन्भेष्टमेन्ट बैंक पनि मर्जर प्रक्रियामा गएपछि नबिललाई ठूलो बैंकको साख जोगाउन चुनौती आएको छ। त्यही कारण नबिलले अनुकूलको बैंकसँग मर्जर चाहेको छ।
नबिलको मुख्य संस्थापक सेयर धनी चौधरी ग्रुप नै हो। उसका त्यहाँ करिब ५० प्रतिशत सेयर हिस्सा छ।
यही ग्रुपले आईएफआईसीको सेयर खरिद गरेर एनबी बैंकसँग मर्जमा जान खोजेको हो। मर्जपछि आफ्नो सेयर स्वामित्वमा पकड कायम राख्न चौधरी ग्रुपले एनबी बैंकको सेयर खरिदमा बढी चासो दिएको हो। तर चौधरी ग्रुप भन्दाबढी चासो एमभी दुगड ग्रुपले देखाएको छ।
सिर्जना फाइनान्स प्राप्ति रद्द भएपछि सनराइज बैंकलाई राष्ट्र बैंकले चाँडोभन्दा चाडो मर्जरमा जान दबाब बढाइरहेको छ। सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सहमति गत वर्ष नै रद्द भएको थियो। सनराइज सञ्चालक समिति पनि अहिले विवादमा छ ।
बैंकका अध्यक्ष मोतीलाल दुगडलाई तातेड ग्रुपले सिइओ नियुक्तीमा अफ्ठ्यारो बनाउने गरेका छन्। त्यहीकारण एमभी दुगड ग्रुपका अध्यक्षसमेत रहेक सनराइजका अध्यक्ष मोतीलाल दुगड एनबी बैंकको प्रमेटर सेयर किनेर मर्जरमा जान चाहन्छन्।
राष्ट्र बैंकले समेत क्रस होल्डिङमा रहेका बैंकहरुलाई मर्जरमा लैजान प्राथमिकता दिएको छ। सनराइजका अध्यक्ष दुगडले खरिद चाहना राखेको स्वीकारे। अहिले प्रमोटर सेयर लिएर वा नलिएर पनि बैंक मर्जरमा जानुपर्ने दबाब रहेको बताउँछन्।
‘हामी मात्रै होइन, सबै बैंक तथा वित्तीय संस्थालाई मर्जरको दबाब भएकै हो’, उनले भने, ‘राष्ट्र बैंकले पुँजी बढाउने नीति नै लिएको छ।’
मर्जरमा जाने कुरालाई राष्ट्र बैंकले ल्याउने नयाँ मौद्रिक नीतिले पनि थप प्रभाव पार्ने उनी बताउँछन्। राष्ट्र बैंकले ल्याउने नयाँ मौद्रिक नीतिअनुसार आफूहरु थप निर्णयमा पुग्ने उनले बताए।
थोरै लगानी भएको बैंकमा आधार दर धेरै हुने भएकाले ऋण लिन चाहँदैनन्। त्यहीकारण उनीहरुलाई मर्जरमा जानैपर्ने बाध्यता छ। ‘मर्जरमा जान एनबी बैंकले निकालेको सेयर बिक्रीको बाटोलाई हामीसहित अरुले पनि किन्ने कोसिस गरिरहेका छन्’, दुगडले थपे।
एनबीको कति सेयर विक्रीमा?
एनबी बैंकमा आईएफआईसी बैंक ढाकाको ४० प्रतिशत सेयर छ। यो ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता हो। यो सेयरको मूल्याङ्कन साढे ५ अर्ब हुन पुग्छ। एनबी बैंकले यो सेयर बिक्रीका लागि असार अन्तिममा ३५ दिन म्याद राखेर सूचना निकालेको थियो।
Shares
प्रतिक्रिया