कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा अहिले पनि खसी बोकाको बथान छन्। त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका छन्– ६८ वर्षीय वृद्ध मानसिंह बोहरा।
शिरमा नेपाली ढाका टोपीले सजिएका बोहरा हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन् । उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्रहकसँग मोलमोलाइ गरिरहेका छन्।
मानसिंह खसी बोका व्यापारी हुन्। उनको अनुहार मलिन छ। खसी बोका बेचेर दशैँ–तिहारको खर्च जुटाउन तराई झरेका बोहरा यस वर्ष सोचेजसरी खसीबोका बिक्री नहुँदा चिन्तित छन्।
उनले खसीबोकाको व्यापारमै जीवन काटे। वि.सं. २०५४ सालदेखि महेन्द्रनगरमा दसैँ÷तिहारको समयमा उनले खसी बोका बिक्री गर्न थालेका हुन्। डडेल्धुराको भित्रिमधेश क्षेत्र परशुराम नगरपालिका–८ गुप्तीगडामा उनको १५ जनाको परिवार छ।
डडेल्धुराको परशुराम नगरपालिका र कञ्चनपुर एक आपसमा जोडिएका छन् । चुरे पर्वत श्रृङखलाले यी दुई जिल्लाको सिमाना छुट्याएको छ।
परशुराम क्षेत्रका किसानले वर्षभर खसीबोका पाल्छन्। दसैँ÷तिहारको समयमा तिनै खसीबोका बिक्री गर्न तराइ (महेन्द्रनगर) झर्छन्। यहाँका किसानको मुख्य कमाइको स्रोत नै बाख्रापालन हो।
दसैँ खर्च जोहो गर्न मलासबाट तराई झरेका व्यापारी र किसान यस वर्ष भने खसीबोका बिक्री नहुँदा निराश भएका छन्। भारतबाट आउने खसी बोकाले आफ्नो व्यवसाय धरापमा परेको उनीहरुको गुनासो छ।
‘भारतबाट आउने खसीबोकाको कारण हाम्रो उत्पादनले बजार पाउन सकेन,’ निराश हुँदै मान सिंहले भने, ‘४/५ वर्ष अगाडिसम्म ल्याएका सबै खसी बोका बिक्री हुन्थ्यो। तर यस वर्षदेखि बेच्न ल्याएका खसीबोका घरै फिर्ता लैजानुपर्ने अवस्था आयो।’
गुप्तीगडाकै २७ वर्षीय अशोक बोहरा ७ जनाको समूहमा एक सय २२ खसीबोका लिएर बजार आएका छन्। २३ गते घरबाट हिँडेका उनीहरु ३ दिन लगाएर महेन्द्रनगर आइपुगे।
पहिलो दिन बेदकोट नगरपालिकाकोे छेला, दोस्रो दिन भीमदत्त नगरपालिकाको भाँसीमा बास बसेर तेस्रो दिन महेन्द्र नगर आइपुगेका अशोकसहितका युवाको खसीबोका बेचेर प्राप्त हुने खर्चले दसैँतिहार मान्ने योजना थियो। ‘यस वर्ष भने जसरी खसीबोका बिक्री भएन,’ उनले भने, ‘दसैँ खर्च जुटाएर घर पुग्ने योजना थियो, यस वर्ष सबै भताभुंग भयो।’
नवमीको दिनसम्म महेन्द्रनगरमै बसिरहेका उनीहरुका न खसी बोका बिक्री भएका छन् न त दसै मान्न घर नै पुग्न सकेका छन्। शुक्रबार (भोली) दसैँको टिका छ । उनीहरु बिहीबार बिहानसम्म महेन्द्रनगरमै खसीबोका बिक्री गर्ने प्रयास गरिरहेका छन्।
‘यसपाली त दसैँ खल्लो भएको छ। टीकाको दिन पनि घर नपुगिने भइयो,’ अशोकले भने, ‘अघिल्ला वर्ष सबै खसीबोका बिक्री गरेर टीका लगाउन घर पुग्थ्यौँ। तर यस वर्ष आधा भन्दा धेरै खसीबोका बिक्री नै भएनन्। अब यिनलाई खेदेर घर पुग्न तीनदिन लाग्छ। त्यतिबेलासम्म दसैँ पनि सकिन्छ।’
अशोकका बुबाले यसअघि बाख्रा पालन गर्थे । उनले लामो समय गाउँमै बाख्रा पालेर तराइमा बेच्ने काम गरे । तर अहिले उनी वृद्ध भएका छन्।
कक्षा १२ सम्मको अध्ययन गरेका अशोकले स्वदेशमै आफ्नै काम गर्ने उद्धेश्यले बुबाकै पेशााई निरन्तरता दिए। तर, उत्पादित खसीबोकाले बजार नपाउँदा उनी यो पेसा छोड्ने मनस्थितमा पुगेका छन्।
‘बुवाले यही कामबाट हामीहरुलाई पढाउनु भयो। घरखर्च चलाउनु भयो,’ उनले भने, ‘अब यो पेशाबाट जीविकोपार्जन गर्न मुस्किल पर्न थालेको छ। भारतबाट अनियन्त्रित रुपमा खसीबोका आउँदा हाम्रा बिक्री हुँनै छाडे। अब व्यापार छोडेर विदेश जाने सोच बनाएको छु।’
१० लाख ऋण लिएर गाउँबाट खसी बोका संकलन गरेर बिक्रीका लागि उनी तराइ झरेका थिए। अब उनलाई खसीबोका बिक्री नहुँदा साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ।
‘चर्को ब्याजमा ऋण काढेर गाउँबाट खसीबोका खरिद गरेर ल्यायौँ। अब घर गएर साहुको ऋण कसरी तिर्ने?’ प्रश्न गर्दै उनले भने, ‘अब कि मजदुरी गर्न भारत जानुपर्ने भयो, होइन भने घरजग्गा बेचेर साहुको ऋण तिर्नु पर्ने अवस्था आएको छ।’
भारतीय खसीबोका भन्दा सस्तोमा दिँदा पनि स्थानीय किसानले उत्पादन गरेको खसीबोका बिक्री नभएको नरबहादुर धामीले गुनासो गरे।
‘हामीले ६ सय रुपैयाँ प्रतिकेजीको दरले खसीबोका बिक्री गरिरहेका छौँ। भारतबाट ल्याइएका खसीबोका ७ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेका छन्,’ उनले नेपालखबरसँग भने, ‘तर पनि हाम्रा खसीबोका बिक्री भइरहेका छैनन्। भारतीय उत्पादनले हाम्रो बजार खायो।’
३/४ वर्षयता भारतीय खसीबोकाले गर्दा आफूहरुको व्यापार खस्किएको किसानहरुको गुनासो छ। भीमदत्त नगरपालिकाले अनियमितरुपमा आउने भारतीय खसीबोकालाई रोक्न नसकेको विरबहादुर बोहराले बताए।
‘निर्वाध रुपमा भारतबाट खसीबोका ल्याउने क्रम नरोकिए नेपाली किसान भोकभोकै हुनुपर्ने आवस्था आउने छ,’ उनले भने, ‘तर, नगरपालिका र स्थानीय प्रशासनले यो समस्याप्रति आँखा चिम्लिएका छन्। हामीलाई महेन्द्र नगरमा बस्ने र खसी बोका राख्ने ठाउँ पनि छैन। खुला आकाशमुनि चौरमा रात काट्नु परेको छ।’
Shares
प्रतिक्रिया