रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नयाँ प्रशासकीय भवनबाट आफ्नो सेवा सुरु गरेको छ। हालको भवनसँगै कुल ५४ करोड ७८ लाख ४५ हजारको लागतमा ४ तले नयाँ प्रशासकीय भवन निर्माण भएको हो।
नयाँ भवनको पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन्।
अहिले रहेको उपमहानगरको पुरानो प्रशासकीय भवनमा २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो। त्यसैले नयाँ भवन निर्माण गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
उनले महानगरीय अवधारणाका साथ र बृहत बुटवलको लक्ष्यलाई साकार पार्ने उद्देश्यले नयाँ भवन निर्माण गरिएको बताए।
नयाँ भवनमा प्रमुख प्रशासनिक सहित अन्य छ वटा ब्लक रहने व्यवस्था गरिएको छ। पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो।
निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले निर्माणको काम गरेको हो।
भवनमा अन्डरग्राउण्ड मोटरसाइकल तथा कार पार्किङ, बाहिरी पार्किङ तथा दुई अलग–अलग स्थानमा लिफ्ट र दुईवटा सिँढीको प्रवन्ध रहेको छ। मुल गेटलाई जीतगढी किल्लाको झल्को दिने गरी निर्माण गरिएको उपमहानगरका वरिष्ठ इन्जिनरियर सुमन श्रेष्ठले बताए।
Shares
प्रतिक्रिया