बुटवलमा अन्तर्राष्ट्रिय सभाहल निर्माणको काम धमाधम भइरहेको छ। रामनगरस्थित बुटवल मण्डपको कुल १६ बिघा जग्गा मध्ये ९ बिघा जग्गामा सभाहलको भवन र पार्किङ लगायतका संरचना बन्दै छ। मण्डपको बाँकी जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण हुँदै छ।
सभाहलको हालसम्म ८४ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। असार मसान्तसम्म निर्माण सकिने बुटवल सभाहल निर्माण कार्यान्वयन इकाइका प्रमुख धर्मेन्द्र पन्थीले बताए।
‘निर्माणको ८४ प्रतिशत काम भएको छ। अहिले एचबीसी, विद्युत जडान, फिनिसिङको काम भइरहेको छ। बाहिर तर्फ रंगरोगन पनि चलिरहेको छ’ उनले भने, ‘कोरोनाको थप संकट आएन भने असार मसान्तसम्म कार्पेट र कुर्सीसमेत राखेर हल तयार गर्छौं।’
सम्मेलन केन्द्रमा मुख्य हल ११ सय क्षमताको हुने छ। त्यसबाहेक मिटिङ हल, गोष्ठी, सेमिनारको लागि अन्य ८ वटा विभिन्न प्रकारका साना हल हुने छ।
सभाहल निर्माणको लागि दुई चरणमा काम सक्ने गरि २०७१ सालमा ठेक्का सम्झौता भएको हो। तर रुख कटान, नाकाबन्दी लगायतका कारण ढिला गरी गत आर्थिक वर्षमा पहिलो चरणको काम सकिएको हो।
पहिलो चरणमा बालकोनी सहित ११ सय क्षमताको मुख्य हलसहितको भवन निर्माण रहेको छ। पहिलो चरणको ठेक्का रविना समानान्तर चन्द्र सूर्य जेभीले गरेको थियो। यसको लागत २३ करोड रुपैयाँ रहेको छ।
दोस्रो चरणको लागि ८२ करोडको ठेक्का सम्झौतामा जेडसी, जेडआइसी आसिश जेभीले काम गरिरहेको छ। यो चरणको तोकिएको म्याद सकिएपनि कोरोनाका कारण ६ महिना थप भएर काम भइरहेको आयोजना इकाइ प्रमुख पन्थीले बताए।
दोस्रो चरण अन्तर्गत मुख्य भवनको फिनिसिङ, विद्युत र एसी जडान, अन्य स– साना हल निर्माण, गेट, पार्किङस्थल लगायतका काम रहेका छन्।
सभाहल परिसरमा चारसय कार र चार सय मोटरसाइकलको लागि पार्किङ स्थलसमेत बनाइँदै छ। सम्मेलन केन्द्रलाई नेपालको झण्डाको आकारमा बनाइएको छ। अग्लो ठाउँ अर्थात हेलिकप्टरबाट हेर्दा चन्द्र सूर्यसहित नेपालको झण्डाको आकार देख्न सकिन्छ।
हल तयार भएपछि सार्क, बिमस्टेक लगायतका अन्तर्राष्ट्रिय सभा सम्मेलन गोष्ठी आयोजना गर्न सकिने छ। बुटवलमा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको सभाहलले रुपन्देहीको आर्थिक विकासमा थप मद्दत पुर्याउने आशा गरिएको छ।
Shares
प्रतिक्रिया