गण्डकीमा रहेका नेपाली कांग्रेस निकट उद्योगी÷व्यवसायीहरुले नयाँ संस्था घोषणा गरेका छन्। प्रजातान्त्रिक उद्योगी/व्यवसायीको प्रदेशस्तरीय भेलाले घोषणा गरेको संस्थाको नामकरण भने गरिएको छैन।
संस्थाको अध्यक्षको रुपमा उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई चयन गरिएको छ। कर्माचार्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन्।
एमाले निकट व्यवसायीहरुले यसअघि नै नेपाल राष्ट्रिय वाणिज्य संघ र माओवादी निकट व्यवसायीहरुले राष्ट्रिय उद्योग व्यापार संगठन स्थापना गरे पनि कांग्रेस निकट व्यवसायीहरु भने छुट्टै संस्था खोलेका थिएनन्।
कांग्रेसमा आस्था राख्ने उद्योगी व्यवसायीहरु केन्द्रमा नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश तथा जिल्ला/नगरमा जिल्ला उद्योग वाणिज्य संघमै आवद्ध रहँदै आएका थिए।
त्यसो त महासंघको समानान्तर संस्थाको रुपमा नेपाल उद्योग परिसंघ,नेपाल च्याम्बर अफ कमर्स नामक संस्थाहरु पनि अस्तित्वमा रहेका छन्। ती संस्थाहरुमा सबै दलमा विश्वास राख्ने व्यवसायीहरु आवद्ध छन्।
यद्यपि, गण्डकीको च्याम्बर अफ कमर्समा रहेका अधिकांश पदाधिकारी र सदस्यहरु भने एमाले निकट रहेको स्रोतको भनाइ छ।
कांग्रेस निकट उद्योगी/व्यवसायीहरुको भेलाले अध्यक्षमा कमाचार्यलाई चयन गरे पनि अन्य पदाधिकारी भने नटुंग्याएको सदस्यमध्येका एक ईश्वर कर्माचार्यले जानकारी दिए। उनका अनुसार अर्को बैठकले संगठनको नाम र पदाधिकारी टुग्याउने सहमति भएको छ।
सदस्यहरुमा भने गण्डकीका सबै जिल्लाबाट चयन गरिएको उनले बताए। उनका अनुसार कार्यसमितिको सदस्यमा कास्कीबाट ईश्वर कार्माचार्य,नारायण कोइराला हिरा भट्टराई, छत्रधर आत्रेय, जानुका अधिकारी, बागलुङबाट ध्रुव गौतम र उमेश केसी, तनहुँबाट कृष्णराज पण्डित, पविन्द्रकुमार श्रेष्ठ, नवलुपरबाट चेतन पौडेल र ओमप्रकाश पौडेल, म्याग्दीबाट राजन श्रेष्ठ र सुविन श्रेष्ठ, मुस्ताङबाट विष्णुप्रसाद रिजाल र सुवास थकाली, स्याङ्जाबाट लेखनाथ भट्टराई, चेतनारायण श्रेष्ठ र नारायण ढकाल चयन भएका छन्।
यस्तै, पर्वतबाट शिव शर्मा पौडेल र दीपेन्द्र गिरि, गोरखाबाट शितलकाजी मास्के र रामबाबु जोशी पनि सदस्य चयन भएका छन्। लमजुङ र मनाङ जिल्लाबाट पछि मनोनयन गरिने ईश्वर कर्माचार्यले जानकारी दिए।
एशोसिएट सदस्यतर्फ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु बावुराम गिरी र देवकुमार श्रेष्ठ, अडीटर एशोशियशन तर्फबाट पदमबन्धु पोखरेल, स्वास्थ्य तर्फबाट डा. गिरिधारी शर्मा, पर्यटनबाट गणेशबहादुर भट्टराई, उद्योगबाट किरण केसी र अटोमोबाइल क्षेत्रबाट मिलन केसी चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बधाइ दिएका थिए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री किरणबाबु श्रेष्ठ, नेपाल उद्योग महासंघका केन्द्रीय सदस्य बलराम गिरी र देवकुमार श्रेष्ठ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, डा. गिरिधारी शर्मालगायतले मन्तव्य राखेका थिए।
Shares
प्रतिक्रिया