संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आउँदो पाँच महिनाभित्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जिकिर गरेका छन्।
चिनियाँ निर्माण कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको तथा आउँदो असारमा निर्माणका सबै काम सकिने विमानस्थल सञ्चालन हुने/नहुनेबारे अन्यौल बढिरहेको बेला मन्त्री आलेको यो भनाइ आएको हो।
यसअघि यही वैशाख एक गतेदेखि विमानस्थल सञ्चालन आउने बताइएको थियो। सन् २०२१ को जुन १० तारिखमा हस्तान्तरण हुनुपर्ने विमानस्थलको म्याद एक वर्ष थपिएको हो।
अर्थात् चालु अंग्रेजी वर्षको जुन १० अर्थात असारमा यो विमानस्थलको निर्माण सकिन्छ। उनी बुधबार पोखराको लेकसाइडमा आयोजित नयाँ वर्ष महोत्सवको उद्घाटन गर्दै थिए। मन्त्री आलेले विमानस्थलको ९३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र सञ्चालनका लागि अवरोधका रुपमा रहेको रिट्ठेपानी डाँडो काट्ने काम छिटो अगाडि बढाउने बताए।
यससँगै पोखराको ल्याण्डफिल साइट नयाँ स्थानमा व्यवस्था गर्न समेत उनले पोखरा महानगरलाई आग्रह गरे। यस्तो काम छिटो गरे विमानस्थल समयमै सञ्चालनमा ल्याउन सहज हुने उनको भनाई थियो। लेकसाइड स्थित रत्न मन्दिर र हिमागृह नयाँ वर्षको वैशाख महिनाभित्र खुला गरिने बताएका छन्।
यद्यपि, उनले सर्वसाधारणका लागि खुला हुने हो कि होइन भन्ने खुलाएनन्। बतास समूहको गृहजिल्लामा आएर उनले बतासले गलत गरेको दोहोर्याए। बतास समूहलाई नारायणहिटीमा ६ आना जग्गा दिइएकोमा १४ रोपनी भोगचलन गर्न थालेपछि आफू कारवाहीमा उत्रिएको उनको जिकिर थियो।
फेवा किनारमा नववर्ष महोत्सव
पोखराको लेकसाइडमा १७ औं फेवा नव बर्ष महोत्सव सुरु भएको छ। महोत्सव आज समापन हुनेछ। नेपाली नयाँ वर्षको अवसर पारेर पश्चिमाञ्चल होटल संघले मेलाको आयोजना गरेको छ।
नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मेलाको मुख्य उद्धेश्य हो। महोत्सवसहित पर्यटन, संस्कृति र खाना प्रवर्द्धनलाई जोड दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरेका थिए।
Shares
प्रतिक्रिया