पूर्वउद्योग राज्यमन्त्री, सांसद तथा उद्योगी मोतिलाल दुगडले ३ अर्ब लगानीमा विराटनगरमा पाँच तारे हाेटल र मल सञ्चालन गर्ने भएका छन्।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्याेगी दुगडले चाँडै विराटनगरमा ३ अर्बको लगानीमा बनेको मलमा पाँच तारे होटल सेञ्चुरियन सञ्चालनमा ल्याउने बताए।
उद्योगी दुगडले प्रदेश एकमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मलमा पाँच तारे होटलसहित एउटै छानामुनि कर्पोरेट, कमर्सियल, सपिङ मल, मनोरञ्जन सुविधा उपलब्ध हुने बताए। उनले सेञ्चुरियल मल करिव डेढ विघा क्षेत्रफलमा फैलिएको बताए।
उद्योगी दुगडले पाँच तारे होटल सेञ्चुरियनको सञ्चालन र व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटल र्याडिसनले गर्ने जानकारी दिए। उनले स्तरीय होटल १८ महिनापछि सञ्चालनमा आउने पनि बताए। उद्योगी दुगडले विराटनगरस्थित विमानस्थलबाट ४.२ किलोमिटर तथा भारतबाट १५ मिनेटको दूरीमा अवस्थित होटलमा स्वदेशी, भारतीय र तेस्रो मुलुकका पर्यटकलाई ल्याउन सकिने बताए। उनले सेञ्चुरियन होटलमा आउने पाहुनाहरुले मलभित्रै सपिङ र मनोरञ्जनको सुविधा लिनसक्ने बताए।
उनले होटलमा १४० कोठा, क्यासिनो, स्विमिङ पुल, जिम, स्पा, १० हजार स्क्वायर फिटको विशेष प्रकारको रेष्टुराँ तथा बेन्क्युट र फिल्म हलको सुविधासमेत उपलब्ध हुने बताए।
सेञ्चुरियन मलमा अन्तराष्ट्रिय ब्राण्डका कफिशप लगायत अन्य ब्राण्डहरु समेत रहने भएकाले अन्तर्राष्ट्रिय पर्यटन धेरैभन्दा धेरै आकर्षित गर्न सकिने विश्वास रहेको सञ्चालक दुगडले बताए। उनले नेपालमा यस्ता भौतिक पूर्वाधार र सेवासुविधा भएको पूर्वाधार बनेपछि मात्रै नेपालको पर्यटन क्षेत्रको विकास र मुलुक बन्ने बताए।
दुगडले नेपालमा अथाह सम्भावना रहेको तर जोखिम मोल्नुपर्ने बताए। सेञ्चुरियन मलमा नेपालकै एउटा युनिक आयोजना रहेको दाबी उनले गरे। सोमबार नै अन्तर्राष्ट्रिय चेन होटल रेडिसनसँग सञ्चालन र व्यवस्थापनको लागि सम्झौतामा हस्ताक्षर भएको छ।
दुगडले विगत लामो समयदेखि सेन्चुरी मसला उद्योग लगायत अन्य धेरै उद्योगहरु सञ्चालन गर्दै आएका छन्।
Shares
प्रतिक्रिया