चालू आर्थिक वर्षमा सबै बीमा कम्पनीहरु मर्जरको मानसिकतामा छन्। कारण हो चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता। त्यसमा केही बीमा कम्पनीहरु मर्जर सम्झौता नै गरेर बसेका छन्।
यो वर्ष सबै बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउनुपर्नेछ। नेपाल लाइफ इन्स्योरेन्सबाहेक सबै कम्पनीलाई चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता आएको हो। बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेसँगै जीवन तथा निर्जीवन दुवैतर्फका बीमा कम्पनीहरुलाई चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता आएको हो।
गत चैतमा बीमा समितिको बोर्ड बैठकले गरेको निर्णयअनुसार बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब पुर्याउनुपर्ने निर्णय गरेको छ।
बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी समग्रमा नेटवर्क बढाई सोअनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन यस्तो निर्णय गरिएको उल्लेख गर्दै आएको छ।
पुँजी वृद्धि गर्नेको लागि मर्जर बाध्यताजस्तो बनेपछि १७ बीमा कम्पनीहरुले मर्जरको लागि सम्झौता नै गरिसकेका छन्। तीमध्ये केही बीमा कम्पनीहरुले एकीकृत कारोबार गरेको र केहीले मिति नै घोषणा गरेका छन्। जसअनुसारको मिति बीमा समितिलाई बुझाइसकेका छन्।
मर्जरको सम्झौता गरेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले भने साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरिसकेका छन्।
सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स, प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले आगामी दुई महिनाभित्र एकीकृत कारोबार गर्ने बताएका छन्।
अन्य बीमा कम्पनीहरु पनि मर्जरको बाटो खोजिरहेको देखिन्छन्।
पुँजी वृद्धि गर्नुपर्ने बाध्यतामा मर्जरको मानसिकता नै बनाएको बीमा क्षेत्रले चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा झण्डै २० अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको देखिएको छ।
जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो महिनामा १५ अर्ब ५ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ४७ करोड रुपैयाँ संकलन गरेका हुन्। जसअनुसार एक महिनामा कुल बीमा शुल्क १९ अर्ब ५२ करोड रुपैयाँ सकंलन भएको हो।
जीवन बीमा कम्पनीले संकलन गरे १५ अर्ब
बीमा समितिले जारी गरेको विवरणअनुसार जीवन बीमा कम्पनीहरुले १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको उल्लेख छ। गत वर्ष सोही अवधिमा कम्पनीहरुले १६ अर्ब बराबरको कारोबार गरेका थिए।
जीवन बीमा कम्पनीअन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ४ अर्ब ७७ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसनले १ अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।
तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ। यसले १ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको देखिन्छ। युनियन लाइफ कम्पनीले ८० करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
एसियन लाइफ इन्स्योरेन्सले ७० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। सूर्या लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ५४ करोड रुपैयाँ छ। त्यस्तै महालक्ष्मी लाइफ इन्स्योरेन्स १६ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको देखिएको छ।
कुन निर्जीवन बीमा कम्पनीले कति उठाए?
निर्जीवन बीमा कम्पनीतर्फ भने सबै कम्पनीको गरी २ लाख २१ हजार ६ सय ४२ बीमा लेख जारी भएको छ। त्यसबाट ४ अर्ब ४७ करोड रुपैयाँ संकलन भएको हो। बीमांक रकम भने १३ खर्ब रुपैयाँ पुगेको छ।
- नेपाल इन्सुरेन्स कम्पनी : १६ करोड
- दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी : १९ करोड
- राष्ट्रिय बीमा कम्पनी : ८४ करोड
- नेशनल इन्स्योरेन्स कम्पनी : १७ करोड
- युनाइटेड इन्स्योरेन्स कम्पनी : १० करोड
- प्रिमियर इन्स्योरेन्स कम्पनी : २१ करोड
- नेको इन्स्योरेन्स : २७ करोड
- सगरमाथा इन्स्योरेन्स कम्पनी : ३२ करोड
- प्रभु इन्स्योरेन्स : १० करोड
- आईएमई जनरल इन्स्योरेन्स : १५ करोड
- प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी : १३ करोड
- शिखर इन्स्योरेन्स कम्पनी : ३५ कराड
- लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी : १७ करोड
- एनएलजी इन्स्योरेन्स कम्पनी : २१ करोड
- सिद्धार्थ इन्स्योरेन्स कम्पनी : ३० करोड
- जनरल इन्स्योरेन्स कम्पनी : १२ करोड
- अजोड इन्स्योरेन्स कम्पनी : १६ करोड
- सानिमा जनरल इन्स्योरेन्स कम्पनी : १० करोड
- हिमालयन एभरेष्ट इन्स्योरेन्स : ३३ करोड
Shares
प्रतिक्रिया