नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सले गौतम बुद्ध विमानस्थल भैरहवाबाट अनिवार्य उडान भर्नुपर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स र हिमालयलाई अनिवार्य उडान गर्न पत्र काटेको हो।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालखबरसँगको अन्तरवार्ताका क्रममा हिमालय र नेपाल एयरलाइन्सले भैरहवाबाट उडान नगरे काठमाडौंमा थप उडान सुविधा नदिने बताए।
‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अनिवार्य उडान गर्नुपर्छ। यदि नगरे काठमाडौंमा उडान थप नगर्ने पत्र काटिएको छ,’ महानिर्देशक अधिकारीले भने,‘नेपाल एयरलाइन्स र हिमालयले भैरहवाबाट अन्तराष्ट्रिय उडान नगर्ने हो भने त्रिभुवन विमानस्थलमा थप उडान गर्न पाउने छैनन्।’
भैरहवामा अन्तराष्ट्रिय हवाई कम्पनी ल्याउन नसकेको प्राधिकरणलाई आरोप लागिरहँदा दैनिक उडान गरेको जजिराले समेत उडान कटौती गरेको छ।
भैरहवा विमानस्थलमा कुवेतको जजिरा एयरवेजले मात्रै अन्तराष्ट्रिय उडान गरिरहेको छ। जजिराले दैनिक उडान थाले पनि यात्रु नपाएको भन्दै हप्तामा ३ दिन मात्रै उडान गर्ने भएको छ।
जजिराले भैरहवाबाटै सहजरुपमा श्रम स्वीकृति नहुँदा यात्रु नपाएको गुनासो गर्दै आएको छ।
नागरिक उड्डयन प्राधिकरणले श्रम स्वीकृतिका लागि समन्वय गरिरहेको उल्लेख गर्दै तिहारलगत्तै समस्या समाधान हुने अधिकारीले बताए।
उनले श्रम स्वीकृतिसँगै विजनेश बढाउन हिमालय र नेपाल एयरलाइन्सलाई पत्र काटेको बताए।
‘नियामक निकायले गर्न सक्ने यति हो। विदेशी एयरलायन्सलाई जवरजस्ती भैरहवा जाऊ भन्न सकिँदैन,’ उनले भने, ‘नेपाली ध्वजावाहकले आफ्नो देशको विमानस्थल हो आफैपनि सोच्नु पर्यो। उनीहरुले आफ्नो विजनेश बढाउन भैरहवा जानै पर्छ। नभए रोकिन्छ।’
उनले आफुले नेपाल एयरलाइन्स र हिमालयलाई भैरहवा पठाउन नसक्दा कतार एयरवेज, फ्लाई दुवईलाई जाऊ भन्न नैतिकताले नमिल्ने बताए।
‘काठमाडौंमा विजनेश बढाउने ठाउँ नभए भैरहवा विजनेश हुँदा विदेशी एयरलाइन्स गैहाल्छन् नि? भैरहवामा डिमान्ड नै बढाउनु पर्छ। त्यसकोलागि प्राधिकरण एक्लैले सक्दैन,’ उनले भने।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँगको अन्तर्वार्ताका लागि प्रतिक्षा गर्नुहोस्-सम्पादक
Shares
प्रतिक्रिया