नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनले ५ वर्षअघि ल्याएको ‘हावादारी योजनासहितको घोषणापत्र’ का अधिकांश कार्यक्रम अझै अलपत्र छन्।
पूरा हुनै नसक्ने योजनासहित २०७४ को वाम गठबन्धन पनि आधा बाटोमै फुटेर राजनीतिक समीकरण अर्कै भइसकेको छ।
बितेका पाँच वर्षमा खोलाको पानी बगेर धेरै पर पुगिसक्यो, एमाले र माओवादी मिलेर बनेको नेकपा बीच बाटोमै खारेज भइसकेको छ।
कम्तीमा ५० वर्ष देशमा शासन चलाउने सपना बोकेको वाम एकता तुहिएपछि माओवादी कांग्रेसको पछि लागेको छ भने एमाले पनि राजावादी र पञ्चहरुको सहकार्यमा छ।
दलहरुले पाँच वर्ष खेर फालेपछि मंसिर ४ मा अर्को पाँच वर्षका लागि चुनाव हुँदैछ। उक्त चुनावका लागि सबैभन्दा ढिला मंगलबार एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
अघिल्लो पटक हावादारी योजनासहितका घोषणा पत्र ल्याएका दलहरुले यो पटक तुलनात्मक रुपमा पूरा गर्न सकिने योजना ल्याएका छन्।
एमालेले मंगलबार ल्याएको २० हजार शब्दसहितका घोषणा पत्र पनि देशको वास्तविकतालाई बुझेरै हुन सक्छ आफ्ना लक्ष्य घटाउँदै आएको छ। पूरा गर्न नसकिने योजनामाथि पनि विशेष व्याख्या गरिएको छ।
दलहरुले पाँच वर्षअघि आफ्नो घोषणा पत्रमा लेखेको राजमार्ग, रेलमार्ग, पानीजहाज, जलविद्युत आयोजना र जलयातायातका सपना अलपत्रै रहे।
एमालेले यही बुझेर हुन सक्छ मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको भन्दा पनि लक्ष्य घटाएर वास्तविकतालाई स्वीकार्ने प्रयास गरेको छ।
यो पटक रेलमार्ग निर्माणको घोषणामा संयमित बनेको एमालेले पानी जहाज चलाउने कुरामा भने अडान कायमै राखेको छ।
उसले यसअघि पनि सबैभन्दा पहिले नेपालका ठूला नदी र समुद्रमा नेपाली झण्डावाहक पानीजहाज चलाउने योजना ल्याएको थियो।
प्रमुख सत्तारुढ कांग्रेसले घोषणा पत्रमा आगामी ५ वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख गरेको थियो।
माओवादीले ८ हजार मेगावाट उत्पादन गर्ने जनाएको छ। तर यस्तोमा एमालेले लक्ष्य घटाएर ६ हजार ५ सय क्षमताका आयोजना निर्माण गर्ने उल्लेख गरेको छ।
देशमा अर्बाैं रुपैयाँको चामल आयात भइरहँदा धानमा आत्मनिर्भर हुने घोषणा गरेको छ। खानपान बानी परिवर्तन भएपछि मात्रै धान र चामलमा नेपाल आत्मनिर्भर हुन सक्ने एमालेको तर्क छ।
एमालेले ५ वर्षमा १०० खर्बको अर्थतन्त्र बनाउने अर्को लक्ष्य राखेको छ। अहिलेकै आर्थिक वृद्धिदरको आधारमा १०० खर्बको लक्ष्य भेटाउन सकिँदैन।
तर उसले सुरुमा सात प्रतिशत र पछि दोहोरो अंकको आर्थिक वृद्धि छोएर सय खर्बको अर्थतन्त्र बनाउन सकिने तर्क गरेको छ।
एमालेले २०७४ को घोषणा पत्रमा सन् २०८४ सम्म ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति आय पुर्याउने लक्ष्य राखेको थियो। तर अहिले उसले त्यसलाई आधा घटाएर २६ सय डलर मात्रै पुर्याउने उल्लेख गरेको छ।
सडकका वाचा पूरा भएनन, ५ वर्षमा सक्ने दाबी
२०७४ मा वाम गठबन्धनले काठमाडौं–तराई द्रूतमार्ग चार वर्षभित्र निर्माण गरिसक्ने दाबी गरेको थियो। तर यो मार्ग सक्न अझै कम्तीमा ५ वर्ष लाग्ने अवस्था छ।
एमालेले पाँच वर्षअघि पूर्व–पश्चिम राजमार्गलाई यो वर्षसम्म ६ लेन र हुलाकी राजमार्र्ग ४ लेनमा स्तरोन्नति गरिने घोषणा गरेको थियो। तर साढे ३ वर्ष सरकार चलाएर पनि एमालेका ती कुनै वाचा पूरा हुन सकेनन्।
मध्यपहाडी पुष्पलाल राजमार्गलाई ४ लेनमा स्तरोन्नति गरी पाँच वर्षमा सम्पन्न दाबी त्यसबेला गरिएको थियो। यो मार्ग अहिलेसम्म २ लेनमा पनि विस्तार हुन गरेको छैन।
यो पटक एमालेले आफ्ना घोषणालाई हावादारी हुन नदिने गरी हाल निर्माणधीन राष्ट्रिय राजमार्ग ५ वर्षभित्र सक्ने उल्लेख गरेको छ।
एमालेले सबै स्थानीय तहका केन्द्रसम्म पिच सडक निर्माण कार्यालाई तीव्र गतिमा अघि बढाइने उल्लेख गरेको छ।
रेलमार्गमा पहिले हावा गफ, अहिले लक्ष्य निर्धारण
वाम गठबन्धनले २०७४ को घोषणा पत्रमा पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गर्ने हावादारी योजना बाँडेको थियो। किनभने पाँच वर्षमा त्यो रेलमार्गको एउटा भाग पनि अहिलेसम्म बनेको छैन।
वाम गठबन्धनले २०७४ मा ५ वर्षभित्रै रसुवागढी–काठमाडांै–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गर्ने हावादारी सपना बाँडेको थियो। उसले राजधानी उपत्यकाका चक्रपथमा आवश्यक गतिको रेल चलाउने दाबी गरेको थियो।
उतिबेलै काठमाडौं र वीरगञ्जलाई जोड्ने रेलमार्ग निर्माण कार्य अघि बढाउने भनिएको थियो।
२०७४ को वाचाअनुसार वाम गठबन्धनको सरकार लागेको भए पूर्वपश्चिम रेलमार्ग र उत्तर–दक्षिण रेलमार्ग सञ्चालन भइसक्नुपर्ने हो। तर पूर्व–पश्चिम रेल अहिले पनि मुआब्जा विवादमा फसेको भने उत्तर–दक्षिणको त सर्भे पनि पूरा भएको छैन।
तर २७४ को हावादारी योजनाबाट आफूलाई मुक्त गर्दै एमालेले यो पटक आफ्नो घोषणापत्रमा निर्माणाधीन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–निजगढ खण्ड निर्माण गरी रेल सञ्चालन गरिने जनाएको छ।
निजगढ–बुटवल खण्ड निर्माण अघि बढाइने र बाँकी भागको जग्गा अधिग्रहण गरिने एमालेको वाचा छ।
त्यसबाहेक रसुवागढी–काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया सुरु गरिने कुरा एमालेले उल्लेख गरेको छ।
काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केबलकार एवम् पड वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यन्वयन प्रतिवद्धता एमालेले गरेको छ।
५ वर्षअघि २०७९ सम्म काठमाडौंमा मेट्रो रेल सञ्चालन गर्ने गफ गठबन्धनले घोषणा पत्रमा दिएको थियो।
गंगा हुँदै कलकत्ता बन्दरगाहमा पानी जहाज
एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने घोषणा गरेको छ।
आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै नेपालका प्रमुख नदी हुँदै गंगा नदीबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने उल्लेख गरेको छ।
तर २०७४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको टिकट काट्न पाउने घोषणा नै गरेका थिए।
उक्त घोषणा कार्यान्वयन हुन नसकेपछि ओली हाँसो र आलोचनाका पात्र भएका थिए। तर एमालेले यो पटक संयमित हुँदै पानीजहाज चलाउने खाका र रुटबारे बोलेको हो।
२०७४ सालको घोषणा पत्रमा १० वर्षभित्र सम्पन्न गर्नेगरी जलमार्ग निर्माण गरिने उल्लेख गरेको थियो। तर त्यो घोषणाअनुसार कुनै काम थाल्ने प्रयास नै भएन।
विद्युत उत्पादन क्षमता १५ हजार बनाउन ५ वर्ष म्याद
एमालेले २ वर्षभित्र सबैको घरमा विद्युत् पुर्याउने प्रतिवद्धता जनाएको छ।
सबैको घरमा विद्युत पुर्याउँदै वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत निःशुल्क उपलब्ध गराउने योजना एमालेले ल्याएको छ।
साना, मझौला र ठूला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी आगामी पाँच वर्षभित्र ६ हजार ५ सय मेगाबाट विद्युत् उत्पादन गरिने योजना एमालेको छ।
आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन क्षमता पुर्याउने पनि घोषणा पत्रमा भनिएको छ।
२०७४ को वाम घोषणा पत्रमा २०८४ सम्म १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको थियो।
५ वर्षअघि २०८४ सम्म विद्युत खपत १५०० किलोवाट विद्युत पुर्याउने उल्लेख थियो। तर त्यही कुरा अहिलेको घोषणा पत्रमार्फत प्रतिव्यक्ति विद्युत् खपत ७०० किलोवाट प्रतिघण्टा बनाउने उल्लेख गरिएको छ।
प्रतिव्यक्ति आय ५ हजारबाट २४ सय डलरमा झर्यो
एमालेले यो पटक नेपालीको प्रतिव्यक्ति औसत आम्दानी २ हजार ४ सय अमेरिकी डलर पुर्याउने प्रतिबद्धता जनाएको छ।
२०७४ मा यही कुरा २०८४ सम्म ५ हजार अमेरिकी डलर पुर्याउने घोषणा गरेको थियो। ५ वर्षअघिको उधारो बाचालाई एमालेले २६ सय अमेरिकी डलर घटाएको छ।
त्यस्तै एमालेले सुरुमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदरलाई दुई अङ्कमा पुर्याउने उल्लेख गरेको छ।
२०७४ मा आर्थिक वृद्धिलाई १० प्रतिशतमाथि पुर्याउने दाबी थियो। तर, ४१ महिना सरकार चलाउँदा एमालेले ७ प्रतिशत कटाउन सकेन।
एमालेले आगामी पाँच वर्षभित्र कुल ग्राहस्थ्य उत्पादन १०० खर्ब पुर्याउने घोषणा गरेको छ। घोषणापत्र सार्वजनिक गर्दै ओलीले करिब ४८ खर्बको (जीडीपी)लाई १०० खर्ब पुर्याउने जनाएका हुन्।
पर्यटक ५० लाखबाट घटाएर २५ लाख
एमालेले आगामी ५ वर्षभित्र वार्षिक २५ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ। जबकी ५ वर्षअघि नै २०८४ सम्म ५० लाख पर्यटक भित्र्याउने भनिएको थियो।
नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उल्लेख गर्दै विश्व बजारमा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गर्ने पनि एमालेको योजना छ।
नेपाली कूटनीतिक नियोगहरूलाई पर्यटन प्रवर्द्धन परिचालन गर्ने प्रतिबद्धता जनाइएको छ। पर्यटकको बसाइ अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटन पूर्वाधार निर्माण तथा सुधार गरिने उल्लेख छ।
पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न विश्वविद्यालय स्थापनासहित आवश्यक व्यवस्था गरिने एमालेको योजना छ।
पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ।
२०७४ मा प्रत्येक स्थानीय तहमा एक पर्यटक गन्तब्यको विकास गरिने उल्लेख गरेको थियो।
खाद्यान्नमा आत्मनिर्भर फेरि गफ
२०७४ मा दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा,मासु, अण्डा र दूधमा आत्मनिर्भर भई पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्याइने लक्ष्य थियो।
यस पटकको घोषणापत्रमा प्रमुख खाद्यबाली धान, मकै, गहुँ, फापर, तरकारी र फलफुल तथा दूध, अण्डा, मासु र माछा , पशुपंक्षीका उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ।
Shares
प्रतिक्रिया