सरकारले मेलम्ची खानेपानी आयोजना तीन पटक उद्घाटन गरिसकेको छ। तर पटक पटक उद्घाटन भएको यो आयोजनाबाट स्थायी रुपमा पानी आउने ग्यारेन्टी छैन।
खानेपानी मन्त्री उमाकान्त चौधरीले तेस्रो पटक पानी वितरणको शुक्रबार उद्घाटन गरे। तर यो वर्षातमा पनि काठमाडौंमा मेलम्ची पानी आउने सम्भावना कम छ।
सरकारले मेलम्चीको पानी सुरुदेखि नै अस्थायी सुरुङबाट काठमाडौंमा पानी ल्याइरहेको छ। २०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको उद्घाटन गरेकी थिइन्।
स्थायी संरचना हेडवक्स नबन्दै काठमाडौं पानी ल्याएर उद्घाटन गरिएको थियो। तर २०७८ असार १ गतेको बाढीले ठूलो क्षति पुर्याएपछि यो आयोजना नै धरापमा परेको थियो।
त्यही दिनबाटै आयोजना जोगाउन भन्दै सुरुङको ढोका बन्द गरिएको थियो। बाढीपछि सरकारले गत चैतमा अस्थायी रुपमै काठमाडौंमा पानी ल्याएको थियो। वर्षा सुरुभए सँगै फेरि बाढी आउने डरले सुरुङ बन्द गरिएको थियो।
‘वर्षात सकिनेबित्तिकै हाम्रो वाचा पूरा गरेका छौँ। काठमाडौंबासीका लागि पानी वितरण सुरु गरेका छौँ,’ मन्त्री चौधरीले भने, ‘वर्षातको समयमा गेट बन्द गरेकैले थोरै समयमा पनि काठमाडौंमा पानी ल्याऔं।’
मन्त्री चौधरीले ठूलो बाढी नआए वर्षातको समयमा पानी रोक्नुपर्ने अवस्था नआउने दाबी गरेका छन्।
‘२०७८ को जस्तो बाढी नआए अस्थायी रुपम बाह्रै महिना पानी खुवाउँछौँ,’ उनले भने, ‘हामीले कार्ययोजना बनाइसकेका छौं। त्यसलाई कार्यन्वयन गरी बाह्रैमास अस्थायी रुपमा भए पनि पानी खुवाउँछु।’
मंसिर ४ को निर्वाचनमा पराजित मन्त्री चौधरीको कार्यकाल करिब १ महिना बाँकी छ। फेरि मन्त्री बन्ने अवस्था नभए पनि बाह्रै महिना पानी खुवाउने दावी उनले गरिरहँदा मेलम्ची आयोजनाका इन्जिनियर आगामी वार्षतमा पानी आउनेमा ढुक्क छैनन्।
मेलम्ची आयोजनाका इन्जिनियर स्थायी संरचना नबन्दासम्म काठमाडौंमा निरन्तर पानी आउने सम्भावना कम रहेको बताउँछन्। निमाणाधीन स्थायी संरचनामा बाढीले गरेको क्षतिबारे एसियाली विकास बैंकको सहयोगमा अध्ययन भइरहेको छ।
पहिलो चरणको रिपोर्ट आइसकेको छ भने दोस्रो चरणको रिपोर्ट बनिरहेको छ।
मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर कमलराज श्रेष्ठले एडीबीको सहयोगमा क्यानेडियन परामर्शदाताको सल्लाह अहिले भएकै मूलमा थप संरचना बनाएर नियमित पानी ल्याउने तयारीमा रहेको बताए।
‘गतवर्षको जस्तो बाढीमा थप संरचना बनाए पनि नियमित पानी ल्याउन सकिँदैन,’ श्रेष्ठले भने, ‘त्यस्तै बाढी आए त्यही मुहानबाट स्थायीरुपमा पानी ल्याउनै सक्दैनौं।’
सामान्य बाढी आउँदा नबिग्रिने गरी संरचना थपेर बाह्रै महिना पानी ल्याउन सकिने उनले बताए।
‘ठूलो बाढी नआउँदा माथिल्लो तहबाट निर्णय भई थप संरचना निमार्ण गर्ने अनुमति पाए नियमित पानी आउँछ,’ उनले भने, ‘जेठसम्म संरचना बने असार, साउनमा पानी आउँछ। आगामी वर्षातमा सकेनौँ भने पनि २०८१ को वर्षातमा पनि पानी ल्याउन सक्छौं।’
कहाँबाट कति लिटर वितरण?
हाल काठमाडौं उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर छ। आपूर्ति करिब दैनिक १२ करोड लिटर छ। मेलम्ची आयोजनाबाट १७ करोड लिटर पानी थप हुँदा पनि दैनिक माग सम्बोधन हुन सक्ने देखिँदैन।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार १० पानी भण्डारणबाट वितरण शुरु हुँदै छ। एक हप्ताभित्र सबै ठाउँमा मेलम्चीको पानी पुग्ने केयुकेएलले जनाएको छ।
मेलम्चीबाट खानेपानी आयोजनाबाट उपलब्ध हुने १७ करोड लिटर पानी महाँकाल चौपा पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटारबाट १ करोड ९० लाख, बालालु ३६, किर्तिपुरबाट ६० टिगिनी मध्यपुर थिमिबाट ३० लाख, कुटुन्जे भक्तपुर ६० लाख पानी वितरण हुँदै छ।
बाँसबारी २० लाख, पानी पोखरी महाराजगंजबाट ४५ लाख, मिनभवन ३० लाख र अनामनगरबाट २७ लाख लिटर पानी वितरण हुँदै छ।
खानेपानी वितरणकोलागि आयोजना कार्यन्वयन निर्देशनालयबाट निर्माण गरिएका वितरण सञ्चालबाट हुने छ। पुराना पाइप र नयाँ पाइप दुवैबाट पानी वितरण हुने आयोजना कार्यन्वयन निर्देशनालयले जनाएको छ।
आयोजना निर्देशक राजेन्द्र सापकोटाले १ हजार १० किलोमिटर नयाँ पाइपलाइन विच्छाइएको जानकारी दिए।
‘नयाँ पाइपलाइन विस्तारअन्तर्गत ६०० किलोमिटर टेस्ट भइसकेको छ,’ सापकोटाले भने,‘मेलेम्चीको पानी ६०० किलोमिटर नयाँ पाइपलाइन र बाँकी पुरानो पाइपलाइनबाटै घरघरमा पुग्छ।’
पाइप विच्छाएर पनि टेस्ट गर्न नसक्नुमा पानीको अभावकै कारण भएको बताएका छन्। आगामी जेठसम्म बाँकी ४०० किमी पाइपको पनि परिक्षण भैसक्ने बताए।
खानेपानी मन्त्री चौधरीले काठमाडौंका लागि पुग्ने पानी ल्याउने सिस्नेरी र ठोस्ने खोलाको पानी ल्याउने प्रक्रिया अघि बढाइएको बताएका छन्। उनले ३४ करोड लिटर थप पानी ल्याउन कार्ययोजना बनाई अगाडी बढाई सकेको दाबी गरेका छन्।
Shares
प्रतिक्रिया