बैंकहरूले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी, व्यवसायीहरूले पनि आन्दोलन गरेका छन्।
आइतवार सिन्धुपाल्चोकका उद्योगी व्यवसायीहरु मिलेर बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै आन्दोलनस्वरुप बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध अन्तरक्रिया गरेका हुन्।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बैंक वित्तीय संस्थाहरुले गरेका क्रियाकलाप सधैँ अघि बढ्ने हो भने व्यवासायीहरु संगठित भएर देशभर नै आन्दोलन गर्नुपर्ने अवस्था आउने बताए। उनले बैंकहरु नसच्चिए व्यवसायीहरु द्वन्द्वात्मक ढंगले प्रस्तुत हुन बाध्य हुनुपर्ने बताए।
उनले बैंक बित्तीय संस्था र राष्ट्र बैंकले यसमा हेक्का नराखे देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने निश्चित रहेको बताए। उनले व्यवसायीहरुलाई अहिले भइरहेका पीडाको सम्बोधन गर्न र सम्बोधन नभए व्यवसायीहरु पनि प्रतिरक्षात्मक ढंगले उत्रिने चेतावनी दिए।
उनले व्यवसायीहरुका मागहरु तत्काल सम्बोधन गरेर अर्थतन्त्रलाई सुधार गर्न आवश्यक रहेको बताए। उनले बैंक वित्तीय संस्थामा त्रुटीपूर्ण ढंगले भइरहेका गतिविधिहरुलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए।
त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघका महासचिव शम्भु तिमल्सिनाले बैंकहरुले आफूलाई अफ्ठ्यारो पर्दा व्यवहार मिलाउने गरेको आरोप लगाए। उनले बैंकहरुले पहिला ऋणीहरुबाट लिएको बढी ब्याज अहिले धमाधम फिर्ता गरिरहेको बताए।
उनले राष्ट्र बैंकले बैंकहरुमाथि नथी लगाएमा बैंकहरु सीमाअनुसार चल्न बाध्य हुने बताए। उनले ऋणीहरुलाई सम्झौताभन्दा बेगरको ब्याजदर असुलेर लिनेकुरा सह्य नहुने भन्द्रै राष्ट्र बैंकको नीतिअनुसार ऋणको ब्याजदर लिनुपर्ने बताए। उनले यस्ता कुराहरुमा कारोबार गर्नेहरु पनि सचेत रहन आवश्यक रहेको बताए।
अन्तरक्रियामा सहभागी अन्य वक्ताहरुले कानूनका त्रुटीहरु सच्याएर अघि बढ्नुपर्ने बताए। उनीहरुले देशमै केही गर्छु भनेर लाग्ने व्यवसायीहरुलाई व्यावसायमैत्री वातावरण सिर्जना गर्न सरकारले नसकेको आरोप लगाए।
Shares
प्रतिक्रिया