संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग विस्तारै लयमा फर्किएको बताएका छन्।
बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा शुरु भएको क्षेत्रिय कार्यशाला गोष्ठी उनले यस्तो बताएका हुन्।
‘कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग विस्तारै लयमा फर्किन लागेको छ, केही आशाको सञ्चार हुन थालेको छ,' उनले भने।
उनले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि उद्योगको विकास, विस्तार र विविधिकरण गर्न आवश्यक रहेको बताए। नयाँ गन्तव्यस्थलको खोजि गर्ने, लगानी बढाउने, एकीकृत पर्यटन पूर्वाधारको विकास गर्ने, प्रविधिकरण गर्ने तथा पर्यटन उद्योगबाट प्राप्त लाभलाई ग्रामिण तहसम्म वितरण गर्नुपर्ने आवश्यक भएको उनको भनाइ थियो।
मन्त्री किराँतीले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन गरी संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आवागमनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, प्राप्त लाभको समन्यायीकरण वितरण गरी गरिबी निवारण गर्नुपर्ने बताए।
पर्यटनको विकासबाट आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गरी गरिबी निवारण गर्ने, क्षेत्रिय विकास तथा आर्थिक वृद्धि हाँसिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पयर्टन संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आवागमनमा वृद्धिका लागि सही सूचना र तथ्यांक आवश्यकपर्ने उनको भनाइ थियो।
सही तथ्यांकको अभावमा निर्माण गरिने योजना वा कार्यक्रम व्यवहारिक नहुनुका साथै त्यसले दिने प्रतिफल कम भइरहेको तर्क उनको थियो।
प्रतिक्रिया