वाणिज्य बैंकहरु मर्ज भई २१ मा झरेका छन्। गत वर्ष २७ को संख्यामा रहेका वाणिज्य बैंक २१ मा झरेका हुन्।
एक दर्जन बैंक मर्ज भई आधा दर्जनमा सीमित हुँदा वाणिज्य बैंकको संख्या २१ मा सीमित भएको हो।
सनराइज बैंक र लक्ष्मी बैंकले मर्जको प्रारम्भिक सहमति गरेका छन्। यी दुई बैंक मर्ज पश्चात भने वाणिज्य बैंक २० मा झर्नेछन्।
वाणिज्य बैंकहरु एक आपसमा मर्ज भइ बनेको बैंकको चुक्ता पुँजीसमेत ३५ अर्बसम्म पुगेको छ।
बैंक अफ काठमाण्डूलाई मर्ज गरेपश्चात ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो। सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको तुलनामा यस बैंकको पुँजी सबैभन्दा धेरै हो।
त्यसैगरी दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ। मेगा बैंक मर्ज पश्चात बैंकको चुक्ता पुँजी ३४ अर्ब बढी पुगेको हो।
त्यसैगरी नेपाल बंगलादेश बैंकलाई समाहित गरेको नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई मर्ज पश्चात कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।
सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरेपश्चात प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड र सिभिल बैंकलाई मर्ज पश्चात हिमालयन बैंकको २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म वाणिज्य बैंकहरुलाई ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो। त्यो बेला अधिकांश वाणिज्य बैंकले ८ अर्ब रुपैयाँ पुँजी पुर्याउन सकेका थिएनन्। त्यसपछि नेपाल राष्ट्र बैंकले एक वर्षको अवधि थपेर पुँजी पुर्याउन भनेको थियो।
२०७४ असार मसान्तभित्र अधिकांश बैंकले ८ अर्ब चुक्ता पुँजी पुर्याउन विकास बैंक र फाइनान्स कम्पनीलाई आफूमा समाहित गरेका थिए। विदेशी लगानी बाहेकका अन्य वाणिज्य बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई गाभेको पाइन्छ।
कुन बैंकले कुन–कुन संस्था समाहित गरे?
डेढ दर्जन बढी संस्था गाभिएर ग्लोबल आईएमई सबैभन्दा ठूलो
हालै ग्लोबल आईएमई बैंकसँग बैंक अफ काठमाण्डू (बिओके) गाभिएको छ। विओकेलाई आफूमा गाभेसँगै ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड पुगेको छ।
यसअघि नै ग्लोबल आइएमई बैंकमा डेढ दर्जन बढी संस्था मिसिसकेका छन्।ग्लोबल आइएमई बैकले जनता बैंक, कमर्स एण्ड ट्रष्ट बैंक, गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक गाभेको थियो।
यस्तै, ड्राइ डेभलपमेन्ट, ब्राइट डेभलपमेन्ट र पब्लिक डेभलपमेन्ट पनि ग्लोबलमा मिलेका छन्। त्यसैगरी तत्कालिन विओकेमा लुम्बिनी बैंक समाहित भएको थियो।
आईएमई फाइनान्स, लर्ड बुद्धफाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल आवास फाइनान्स पनि ग्लोबलमा अटाएका छन्। तत्कालिन जनता बैंकमा गाभिएका सिद्धार्थ बैंक र त्रिवेणी बैंक समेत ग्लोबलमै मिसिएका छन्।
कुमारी बैंकमा एक दर्जन मिसिए
कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभेको छ। एनसीसीलाई गाभेसँगै कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब बढी पुगेको छ। यसअघि कुमारी बैंकले चार संस्थालाई एक्वार गरेको थियो।
कुमारीले देव विकास बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र क्राँक्रेविहार बैंक एक्वार गरेको थियो।
तत्कालिन एनसीसी बैंकले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट, सुप्रिम डेभलपमेन्ट र इन्टरनेशनल डेभलपमेन्ट बैंक आफूमा गाभेको हुँदा यी बैंक कुमारीमा मिसिएका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्ज पश्चात नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको छ। चुक्ता पुँजीको आधारमा वाणिज्य बैंकहरु मध्येको यो बैंक दोस्रो ठूलो बैंक बनेको छ। हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब बढी पुगेको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, जिब्लिस फाइनान्स, एसीई डेभलपमेन्ट बैक, मात्रृभूमि डेभलपमेन्ट बैंक, कालिन्चोक डेभलपमेन्ट र सिटी एक्सप्रेस फाइनान्स मासिएका छन्।
एनएमबी बैंकमा पाँच संस्था गाभिए
एनएमबी बैंकमा राष्ट्रिय स्तरका विकास बैंकसहित पाँच संस्था गाभिएका छन्। २०७४ मा नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब पुँजी पुर्याउन एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी डेभलपमेन्ट बैंक, पाथिभरा विकास बैंक र प्रिडिसियल फाइनान्सलाई आफूमा गाभेको हो।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक, कैलाश विकास बैंक, कन्काई विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक मर्ज गरेको छ।
प्रभु बैंकमा सञ्चुरी बैंक गाभियो
प्रभु बैंकले सेञ्चुरी कमर्सियल, ग्रान्ड बैंक नेपाल, किष्ट बैंक, प्रभु विकास बैंक, गौरिशंकर डेभलपमेन्ट, जेनिस फाइनान्स गाभिएका छन्। अल्पाइन डेभलपमेन्ट बैंक, सेती फाइनान्स, सगरमाथा फाइनान्स, इनोभसन डेभलपमेन्ट बैंक, अरनीको डेभलपमेन्ट बैंक, इनोभेटीभ डेभलपमेन्ट बैंक, सेती फाइनान्स, सगरमाथा फाइनान्स, अल्पाइन विकास बैंक प्रभु बैंकमा मिसिएका छन्।
सिटिजन्स बैंक
यस बैंकले नेपाल हाउजिङ एण्ड मर्चेन्ड नेपाल, पिपुल्स फाइनान्स, सिर्जना फाइनान्स, तिनाउ मिसन डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, कम्युनिटी डेभलपमेन्ट बैंक, प्रिमियर फाइनान्स लाई आफूमा समाहित गरेको छ।
हिमालयसँगै गाभियो सिभिल बैंक
हिमालय बैंकले सिभिल बैंकलाई आफूमा गाभेसँगै एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट, वित्तीय संस्था, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स, युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्स हिमालय बैंकमा मिसिएका छन्।
नबिल बैंकमा संस्था माभिए
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेको छ। यसअघि नबिल बैंकले युनाइटेड फाइनान्स गाभेको हो। साथै नेपाल बंगलादेश फाइनान्स, नेपाल श्रीलंका मर्चेन्ट फाइनान्स समेत नबिलमा मिसिएका छन्।
दुई वाणिज्य मिलेसँगै बनेको एनआईसी बैंक
दुई वाणिज्य बैंक मर्ज पश्चात एनआईसी एशिया बैंक बनेको हो। तत्कालिन एनआईसी बैंक र बैंक अफ एशिया मिलेर एनआइसी एशिया बैंक बनेको हो। हाल यो बैंक वाणिज्य बैंकहरुको अग्रपङ्तीमा छ।
त्यसैगरी लक्ष्मी बैंकले प्रोफेशनल दियालो विकास बैंक र सानिमा बैंकले बाग्मती डेभलपमेन्ट बैंकलाई आफूमा गाभेको छ।
राष्ट्रिय वाणिज्य बैंकले एनआईडीसी डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंकले विजनेश युनिर्भसल डेभलपमेन्ट बैंकलाई आफूमा समाहित गरेको छ।
त्यसैगरी, सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई आफूमा समाहित गरेको छ।
Shares
प्रतिक्रिया