पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधै हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले मंगलबार नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गलाई भेट गरी पोखराबाट चीनका विभिन्न सहरमा सिधा उडान गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको हो।
त्यस क्रममा कोरला नाका छिटो खोल्न पनि विशेष पहल गर्न पनि राजदूतसँग अनुरोध गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।
भेटघाटमा पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिराज तिमल्सिना, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, ओभरसिज चाइनिज नेपाल एसोसिएसनका अध्यक्ष, सचिव लगायत उपस्थित थिए।
पोखरेली पर्यटन व्यवसायीका तर्फबाट चिनियाँ राजदूतावासको आयोजनामा जुन २२ र २३ मा फेवातालमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभललाई भव्य बनाउन आफूहरू प्रतिबद्ध रहेको उनीहरुले बताएका थिए।
Shares
प्रतिक्रिया