बिमाको पहुँच न्यून आय भएका वर्गसम्म पुर्याउन भनी नयाँ लघुबिमा कम्पनी सञ्चालनमा आएका छन्।
तल्लो तहका गरिब किसानसम्म बिमाको पहुँच पुर्याउन बिमा प्राधिकरणले नयाँ लघुबिमा कम्पनी सञ्चालनका लागि अनुमति दिएको हो।
हालसम्म चार नयाँ लघुबिमा कम्पनीले व्यवसाय सुरु गरिसकेका छन्। बाँकी तीन कम्पनी छिट्टै सञ्चालनमा आउने बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
पौडेलका अनुसार बिमा प्राधिकरणले गत मंसिरमा ७ नयाँ लघुबिमा कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको थियो । एलओआई पाउनेमध्ये ४ कम्पनी व्यवसाय सञ्चालन सुरु गरिसकेका छन् ।
बाँकी ३ कम्पनीलाई छिट्टै सञ्चालन अनुमति दिइने बिमा पौडेलले जानकारी दिए।
‘प्राधिकरणको मापदण्डअनुसार पुँजी पुर्याएका पाँच कम्पनीमध्ये चार सञ्चालनमा आइसकेका छन्’, उनले भने, ‘थप एक कम्पनीले जेठ तेस्रो साताभित्र पुँजी पुर्याउने भएको छ। सम्भवतः जेठभित्र सबै ७ कम्पनी सञ्चालनमा आइसक्छन्।’
सञ्चालनमा रहेका बिमा कम्पनीले अपेक्षाअनुसार व्यवसाय गर्न नसकेका बेला नयाँ आए पनि यस क्षेत्रको कायापलट हुने होइन। झन् नयाँ कम्पनीलाई थप चुनौती पनि छन्।
सञ्चालनमा रहेका बिमा कम्पनीले गरिरहेको लघुबिमालाई निरन्तरता पाउने हुँदा नयाँ कम्पनीलाई व्यवसाय गर्न सहज भने छैन।
मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मलकाजी श्रेष्ठले बिमा कम्पनीहरु तल्लो तहमा पुगेर गरिने लघुबिमा व्यावसाय न्यून हुँदा अब लघुबिमामार्फत् वास्तविक किसानले बिमा पहुँच पाउने बताए ।
छुट्टै योजना ल्याएर तल्लो तहका विपन्न वर्गका किसानको जिउ, धन, गाईभैंसी, बाख्रा, खेतिपातीको बिमा गरिँदा कृषि क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने श्रेष्ठ बताउँछन् ।
‘लघुबिमाका साना–साना पोलिसी हुन्छन्’, उनले भने, ‘किसानले ५०/६० रुपैयाँ प्रिमियम तिरेर सम्भावित क्षतिको जोखिम कम्पनीलाई दिन पाउँछन्।’
किसान तथा गरिव विपन्न वर्गलाई जोखिम लिएर काम गर्न लघुबिमा कम्पनीले मद्दत गर्ने श्रेष्ठले बताएका छन्।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेयले नयाँ लघुबिमा कम्पनीहरुले तल्लो तहमा गएर गरिव विपन्न वर्गलाई समेट्न मद्दत गर्ने बताए ।
‘लघुबिमा व्यवसाय गर्दा साना–साना पोलिसी विक्री हुन्छन्’, उनले भने, ‘गरिब विपन्न वर्गका किसानले उत्पादन गरेका वस्तु, कुखुरा, बाख्रालगायत बिमा गर्न पाउँछन्।’
बिमा कम्पनी ठूलो व्यवसायमा ‘फोकस’ भइरहेको अवस्थामा लघुबिमाले तल्लो तहका व्यक्तिलाई जोखिम लिन सिकाउने पाण्डेय बताउँछन्।
निर्जीवन बिमा कम्पनीले तुलनात्मक रूपमा लघुबिमा व्यावसाय गर्न नसकेको बिमक संघका अध्यक्ष चंकी क्षत्री बताउँछन्।
‘प्राधिकरणले नयाँ लघुबिमा कम्पनीलाई लाइसेन्स दिए राम्रो हुने देखिन्छ,’ उनले भने, ‘राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र लघुवित्त क्षेत्र छुट्ट्याएजस्तै प्राधिकरणले पनि बिमा कम्पनी र लघुबिमा कम्पनीको कार्यक्षेत्र तोक्न सक्छ।’
नयाँ लघुबिमामार्फत कृषिलाई प्राथमिकता दिन र यस क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने क्षत्रीको भनाइ छ।
के हो लघुजीवन र लघुनिर्जीवन बिमा?
लघुबिमा भनेको आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ‘ग्यारेन्टी’ हो। लघुबिमा गर्दा बीमित (बिमा गर्ने व्यक्ति) र बिमक (बिमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ।
भविष्यमा आइपर्ने भवितव्यमा आर्थिक तथा भौतिक क्षति हुनसक्छ। त्यही सम्भावित जोखिम बहन गर्न गरिने एक प्रकारको सम्झौता नै लघुबिमा हो।
नेपाल प्राकृतिक प्रकोपका लागि बहुजोखिमयक्त क्षेत्र हो। प्राकृतिक जोखिमहरु हावाहुरी, अधिक वर्षा, भूकम्प, बाढी, पहिरो, चट्याङलगायतबाट हुने पशुपन्छी र बालीमा हुने आर्थिक क्षतिबाट पार पाउन कृषकले बिमा गरेर लघुबिमा कम्पनीलाई जोखिम भार सुम्पिन सक्छन्।
उदाहरणका लागि कुनै एक किसानसँग ५० वटा ब्राखा छन्, कुनै रोग लागेर रामका ४० वटा बाख्रा मरे भने रामले ठूलो नोक्सानी बेहोर्नुपर्छ।
यदि रामले ५० वटा बाख्राको बिमा गराएका छन् भने मरेका ४० बाख्राको क्षतिबराबरको पैसा लघुबिमा कम्पनीले दिन्छ। उनलाई बिमा गर्न धेरै पैसा लाग्ने होइन। मासिक प्रिमियम तिर्नुपर्ने हुन्छ।
लघुबिमाको अन्तर्राष्ट्रिय अभ्यास?
सन् २००० देखि विश्वमा लघुबिमा सुरु भएको हो। भारत, फिलिपिन्स, बंगलादेश, कम्बोडिया र भियतनाममा लघुबिमा प्रभावकारी छ।
भारतमा लघुबिमा व्यावसायका लागि छुट्टै कम्पनीसमेत छन्। सञ्चालनमा रहेका बिमा कम्पनीले समेत लघुबिमा व्यावसाय गर्दै आएका छन्।
भारतमा लघुबिमा कम्पनीले स्वास्थ्य बिमा र कृषिलाई प्राथमिकता दिएका छन्। त्यसैगरी गरिबी उच्च भएका मुलुकमा लघुबिमा प्रभावकारी छ।
विश्वभर लघुबिमा कम्पनीले स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइरहेको अवस्थामा नेपालमा पनि तल्लो तहका गरिब विपन्न वर्गद्वारा उत्पादित वस्तुको बिमा गर्ने उद्देश्यले नयाँ कम्पनी ल्याउन लागिएका हो। सञ्चालनमा रहेका बिमा कम्पनीले लघुबिमाको काम गरिरहेका छन्।
गरिव विपन्न वर्गलाई बिमाको पहुँचमा ल्याउन छुट्टै लघुबिमा कम्पनी ल्याइनु सकारात्मक रहेको बिमाविज्ञ रेमिन्द्र घिमेरे बताउँछन्।
उनका अनुसार धेरै गरिबी भएको मुलुकमा लघुबिमा अभ्यास राम्रो छ। नेपालजस्तो कृषिप्रधान देशमा किसानलाई क्षति व्यवस्थापनको ग्यारेन्टी गरिदिए उत्पादन बढ्ने घिमिरे बताउँछन्।
‘नेपालको भू–बनोट फरक किसिमको छ,’ उनले भने, ‘हिमालमा जडीबुटी, पहाडमा फलफूल र तराईमा खेती राम्रो हुन्छ। क्षेत्रअनुसार उत्पादनको बिमा व्यवस्था भए उत्पादन बढ्ने र किसानले पनि जोखिम लिएर काम गर्न लघुबिमाले मद्दत गर्छ।’
अधिकांशले बिमा के हो, किन बिमा गर्नुपर्छ भन्ने नबुझेको अवस्थामा तल्लो तहलाई बिमाको महत्व बुझाउन आवश्यक रहेको घिमिरे बताउँछन्।
बिमा सचेतना कम हुँदा नयाँ लघुबिमा व्यवसाय गर्न चुनैती रहेको घिमिरे बताउँछन्।
अनलाइनबाटै पोलिसी किन्न र प्रिमियम : सिलवाल
बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले लघुबिमा कम्पनीहरु तल्लो तहमा पुगेर बिमा व्यवसाय गर्ने बताए।
उनका अनुसार बिमा कम्पनीले तल्लो तहमा गएर कृषि तथा पशुपन्छी मात्रै नभइ सर्वसाधारण र उनीहरुको सम्पत्तिको समेत बिमा गर्नुपर्ने हुन्छ ।
लघुबिमा कम्पनीहरुका पोलिसी अनलाइनबाट खरिद गर्न सकिने गरी तयारी गरिरहेको सिलवालले जानकारी दिए ।
‘नयाँ सञ्चालनमा आएका लघुबिमा कम्पनीहरुले अन्तर्राष्ट्रियस्तरको सिस्टम (सफ्टवेयर) ल्याएका छन्’, उनले भने, ‘जसकारण लघुबिमा कम्पनीका पोलिसी खरिद गर्नेदेखि प्रिमियम अनलाइनबाट तिर्ने व्यवस्था हुन्छ।’
जसले गर्दा लघुबिमा कम्पनीको कष्ट घटेर बीमितलाई समेत सहज हुने उनले बताए।
‘अनलाइनबाट सबै काम हुने भएपछि यसअघि कृषिबिमा जस्तो झन्झटिलो हुँदैन’, उनले भने, ‘व्यावसायसमेत राम्रो हुने अपेक्षा छ।’
Shares
प्रतिक्रिया