कुमारी बैंक र देव विकास बैंकले प्राप्ति गर्ने सम्बन्धी सम्झौता गरेपछि नेपाल स्टक एक्सचेन्जले देव विकास बैंकको सेयर कारोबार रोक्का गरेको छ।
दुवै बैंकले गरेको सम्झौताबारे औपचारिक जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आएपछि बिहीबारदेखि नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरेको हो।
स्टकले विज्ञप्तिमा भनेको छ, ‘बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम देव विकास बैंक लिमिटेडको सेयर कारोबार मिति २०७६/१०/२ गतेबाट रोक्का गरिएको छ।’
कुमारी बैंकले राष्ट्रियस्तरको ख वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको थियो।
बुधबार नागपोखरीस्थित काठमाडौं मेरियट होटलमा समझदारी पत्रमा कुमारी र देव विकासका तर्फबाट बैंकका सञ्चालक समिति सदस्य एवं मर्जर समितिका संयोजकहरु कृष्णप्रसाद ज्ञवाली र भरत बहादुर हमालले हस्ताक्षर गरेका थिए।
कार्यक्रममा दुवै बैंकका अध्यक्ष, सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतका बैंक पदाधिकारी उपस्थित थिए।
देव विकास बैंकको चुक्ता पुँजी ३ अर्ब १७ करोड ७१ लाख ९ सय २७ रुपैयाँ छ। नेप्सेमा २ करोड ६७ लाख ३० हजार ३ सय २८ कित्ता सेयर सूचीकृत भएको देवको निक्षेप २१ अर्बभन्दा धेरै छ भने २० अर्ब बढीको कर्जा प्रवाह गरेको छ। त्यस्तै, कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार ४ सय ४० रुपैयाँ रहेको छ।
कुमारीले ७८ अर्बभन्दा बढी निक्षेप संकलन गरेर ७७ अर्ब बढीको कर्जा प्रवाह गरेको छ। चालू आवको पहिलो तीन महिनामा कुमारी बैंकको निष्क्रिय कर्जा १.०५ र देव विकासको निष्क्रिय कर्जा ३.०३ प्रतिशत रहेको थियो।
दुई बैंक मिल्दा कुल चुक्ता पुँजी १२ अर्ब माथि पुग्नेछ भने निक्षेप १ खर्ब २० अर्ब तथा कर्जा प्रवाह १ खर्ब ५ अर्बभन्दा माथि हुनेछ।
Shares
प्रतिक्रिया