पर्यटकीय गन्तव्य मानिने नेपालको पर्यटनबाट हुने आय भने पछिल्ला वर्षहरुमा घाटामा छ। नेपाल आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले ज्यादा खर्च गर्दै आएका छन्।
र, कोभिड माहामारीपछि हवाई यातायात सहज भएसँगै यो घाटा बढ्न थालेको छ। विदेशीले नेपालमा आएर गर्ने खर्चभन्दा नेपालीले विदेशमा गएर गर्ने खर्च दोब्बर पुगेको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालीले विदेशमा घुम्नका लागि १ खर्ब १९ अर्ब रुपैयाँ खर्च गरेका छन्। नेपालीले विदेशमा घुम्न गएर पहिलो पटक खर्ब बढी खर्च गरेका हुन्।
यो खर्च अघिल्लो वर्षको जेठ मसान्तको तुलनामा ३७.९ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा ८७ अर्ब विदेश घुम्न जानेले खर्च गरेका थिए।
नेपालमा पर्यटक आगमन बढ्दा आम्दानी ९४.३ प्रतिशतले वृद्धि भएको छ। यद्यपि नेपालमा विदेशी पर्यटकले ५८ अर्ब ६ करोड रुपैयाँ मात्रै खर्च गरेका छन्।
कोभिड माहामारीअघि सामान्य अवस्थामा आर्थिक वर्ष २०७५/७६ मा सेवा खाता अन्तर्गत भ्रमण आय ७३ अर्ब ५७ करोड पुगेको थियो। उक्त वर्ष १२ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका थिए।
तर उक्त वर्ष नेपालीले विदेशमा गएर ८९ अर्ब ५८ करोड खर्च गरे। सबैभन्दा बढी पर्यटक भित्रिएको वर्षमा नै करिब ११ अर्ब रुपैयाँले घाटा बेहोर्यो।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले नेपालीले विदेशमा घुम्न जाँदा पहिलो पटक १ खर्ब बढी खर्च गरेको बताए। नेपालीको बढी खर्च गर्ने बानीले धेरै रकम बाहिरिएको बताए।
यद्यपि, राष्ट्र बैंकले विदेश जाने नेपालीलाई डलर सटहीमा कडाइ गर्दै आएको छ। वैदेशिक मुद्रा सञ्चितीमा चाप आउँदा अहिले विदेश घुम्न जाने नेपालीले ५०० डलर (६५ हजार) मात्रै डलर साट्न पाउँछन्।
‘सामान्यतया राष्ट्र बैंकले पर्यटक भिसामा विदेश घुम्न जानेलाई १५०० अमेरिकी डलर (१ लाख ९७ हजार) सम्म दिने गरेको छ,’ पोखरेलले भने, ‘तर पर्यटकको अवस्था बुझेर अप्ठेरो नपर्ने गरी ५०० दिएर पनि पठाउने गरेका छौँ।’
राष्ट्र बैंकले भिजिट भिसामा जानेको लागि २०० डलरसम्म सहज उपलब्ध गराउँदै आएको उनले जानकारी दिए। भिजिट भिसामा जानेको सम्बन्धित देशमा ‘स्पोन्सर’ हुने भएकाले कम डलर उपलब्ध गराउँदै आएको छ।
हरेक वर्ष भ्रमण आम्दानी घाटामा
नेपालमा पर्यटकको संख्या बढ्दै गए पनि त्यसबाट हुने आम्दानी नेपालीले विदेशमा गएर गर्ने खर्चको तुलनामा कम हुँदै गएको छ।
गत आर्थिक वर्ष ०७८/०७९ मा पर्यटक आवगमनमा सुधार हुँदा आम्दानी ३४६.५ प्रतिशतले वृद्धि भएको थियो। गत वर्षको आम्दानी ३२ अर्ब ४५ करोड छ। जबकि गत वर्ष नै भ्रमण व्यय १९६.७ प्रतिशतले वृद्धि भई ९७ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको थियो।
कोभिड महामारीको बीच आर्थिक वर्ष २०७७/७८ मा भ्रमण आय ८८.१ प्रतिशतले कमी आई ७ अर्ब २७ करोड कायम भएको थियो। उक्त वर्ष नेपालीले विदेशमा गएर ३२ अर्ब ८० करोड खर्च गरे।
आर्थिक वर्ष २०७६/७७ मा नेपालले विदेशी पर्यटकबाट ६० अर्ब ८९ करोड आम्दानी गरेको थियो।
कोभिड महामारी सुरु भएको उक्त वर्षमा नेपालीले विदेशमा गर्ने खर्च ४०.९ प्रतिशतले घटी ५३ अर्ब १४ करोड कायम भयो। अर्थात् कोभिड महामारी फैलिएपछि नेपाली घुम्न जान नपाउँदा साढे ७ अर्ब रुपैयाँ नाफा भएको थियो।
नेपालमा विदेशीले गर्ने खर्च कम हुँदै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै जारी गरेको तथ्यांक अनुसार नेपालमा बस्ने पर्यटकले प्रतिदिन ४०.५ डलर अर्थात ५ हजार ३०० रुपैयाँ खर्च गर्दै आएका छन्। यो अघिल्लो वर्षको तुलनामा १५.६ प्रतिशतले कम हो।
पर्यटकले नेपालमा २०२१ मा प्रतिदिन ४८ डलर, २०२० मा प्रतिदिन ६५ डलर र २०१९ मा प्रतिदिन ४८ अमेरिकी डलर खर्च गर्दै आएका थिए।
२०२२ को रिपोर्ट अनुसार पर्यटकको औसत नेपाल बसाइ १३.१ दिन मात्रै छ। पर्यटन क्षेत्रले नेपालको जीडीपीमा २ प्रतिशत पनि योगदान गर्न नसकेको मन्त्रालयको तथ्यांकले देखाएको छ। २०२२ म जीडीपीमा जम्मा १.९८ प्रतिशत योगदान देखिन्छ।
२०२२ मा ६ लाख १४ हजार पर्यटक भित्रिँदा विदा र मनोरञ्जनका लागि ३ लाख ९७ हजार, तीर्थयात्राका लागि ७९ हजार, ट्रेकिङ एन्ड माउन्टेनरिङका लागि ६१ हजार पर्यटक नेपालमा आएको तथ्यांकले देखाएको छ।
नेपाल भ्रमण गरेका पर्यटकमा ३३.८८ प्रतिशत ३१ देखि ४५ वर्षसम्मका छन् भने ४६ देखि ६० वर्षसम्मकाले २५.३७ प्रतिशत हिस्सा ओगटेका छन्। नेपाल भिजिट गर्नेमा राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रमा घुम्न धेरै पर्यटक भित्रिएका थिए।
Shares
प्रतिक्रिया