नेपालमा औद्योगिक रुपमा उत्पादित मदिराको बजार निरन्तर खस्कँदै गएको छ। सरकारले मदिरा क्षेत्रमा कर वृद्धि गरिरहँदा राजस्व भने घटिरहेको छ।
आन्तरिक राजस्व विभागको तथ्याङ्कले मदिरातर्फ राजस्वमा १५ प्रतिशतले गिरावट आएको देखाएको छ। बियरमा भने गत वर्षकै हाराहारीमा राजस्व संकलन भएको छ। तर, अन्य उत्पादनको बजार खस्केको छ।
हाल नेपालमा मदिरा उत्पादन गर्नेगरी दर्ता भएका उद्योग ८२ वटा छन्।
तर, अहिले सञ्चालनमा रहेका ठूला मदिरा उद्योग करिब १५ बढी छैनन्। त्यसमा पनि पूर्ण क्षमतामा १० वटा मात्रै सञ्चालनमा छन्।
नेपाल मदिरा उत्पादक संघका अनुसार अहिले नेपालमा १० वटा मात्र उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा छन्।
बाँकी उद्योगहरु केही बन्द अवस्थामा छन् भने केही आंशिक रुपमा सञ्चालन भइरहेका छन्। केहीले आफ्नो क्षमता वृद्धि गरिरहेको समेत देखिएको छ।
संघका पूर्वअध्यक्ष रवि केसी पछिल्लो २/३ वर्षदेखि मदिरा उद्योग संकटमा नै परेको बताउँछन्। औद्योगिक उत्पादनको बजार घटेपछि समस्या बढ्न थालेको उनको भनाइ छ।
‘नेपालको बजारको तुलना गर्दा छिकेकी राष्ट्र भारत स्वतः जोडिन्छ। नेपालको मूल्य र बजार भारतसँग निर्भर हुन्छ। ५ वर्षअगाडिको कुरा गर्ने हो भने नेपालमाभन्दा भारतमा मदिरा महँगो थियो। त्यसकारण नेपालबाट भारत मदिरा निर्यात समेत हुन्थ्यो। र, मदिरा पिउनसमेत उनीहरु आउने गरेका थिए,’ उनी भन्छन्, ‘तर अहिले त्यो अवस्था छैन।’
अहिले अवस्था ठ्याक्कै उल्टो भएको पनि उनले बताएका छन्।
‘भारतमा मूल्य घट्दै गयो भने नेपालमा मूल्य बढ्दै गयो। अहिले नेपालमा भन्दा भारतमा मूल्य निकै कम छ। तर यो ५ वर्षमा नेपालको मूल्य हेर्न हो भने ३ गुणा बढेको छ। सीमावर्ती क्षेत्रमा भारतको मदिरा आइरहेको पनि देखिन्छ,’ केसी भन्छन्, ‘सरकारले कर वृद्धि गर्दा भारतभन्दा धेरै महँगो हुन थाल्यो। सरकारको नीतिको कारण पनि उत्पादनमा कमी भैरहेको छ।’
नेपालमा मदिराको खपत भने कम नभएको तर औद्योगिक उत्पादनको बजार कमजोर भइरहेको उनको भनाइ छ।
आन्तरिक राजस्व विभागको तथ्याङ्कअनुसार मदिरातर्फको अन्तःशुल्क आर्थिक वर्ष २०७८/७९मा ३० अर्ब ३३ करोड रुपैयाँ संकलन भएकोमा गत आर्थिक वर्ष अर्थात् यही असार मसान्तसम्ममा २५ अर्ब ९१ करोडमा झरेको छ।
त्यस्तै वियरतर्फको राजस्व आर्थिक वर्ष २०७८/८९मा ३१ अर्ब रुपैयाँ संकलन भएकोमा गत आर्थिक वर्षमा ३२ अर्ब ६२ करोड रुपैयाँ संकलन भएको छ।
यसले वियरको बजारमा केही सुधार हुँदै गए पनि अन्य मदिराको बजार भने निकै खस्किएको देखिएको छ।
अन्तरिक बजारबाट उठेको राजस्वको तथ्याङ्क बजारको मूल्याङ्कन गर्ने एक आधार हो। विदेशबाट आएको मदिराको आयात पनि केही हदसम्म खस्केको छ।
कच्चा मदिरा र तयारी मदिरागरी गत आर्थिक वर्षमा २ अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात भएको छ। आघिल्लो आर्थिक वर्ष भने ३ अर्ब ७३ करोड रुपैयाँ आयात भएको थियो।
त्यसरी आन्तरिक र आयातीत बजार खुम्चिनुमा स्थानीय उत्पादन वृद्धि र आयात स्रोत समेत जोडिएको सरकारको आकलन छ।
आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डेय भन्छन्, ‘अर्थतन्त्र कमजोर भइरहेको समयमा मान्छेले खपत पनि कम गरेका हुनसक्छन्। जसको धक्का उद्योगहरुमा समेत परेको देखिन्छ।’
नेपाल पेयपदार्थ तथा चुरोट उद्योग संघका महासचिव गुरुप्रसाद अधिकारी पनि उक्त विषयलाई स्वीकार गर्छन्। अर्थतन्त्र संकुचन हुँदै जाँदा बैंकको तरलता, कर्जा प्रणालीमा ट्रेडिङलाई गरिएको कडाइजस्ता विषयहरु समेत जोडिने उनी बताउँछन्।
पछिल्लो समय मदिराजन्य वस्तुको प्रचारप्रसारमा रोक लगाइएको छ। यसले पनि नयाँ ब्रान्डहरु उत्पादन गरेर बजारीकरण गर्न समस्या हुने गरेको र बजार विस्तार गर्न असहज हुन थालेको गुनासो व्यवसायीहरुले गरेका छन्।
Shares
प्रतिक्रिया