साउन २ मा विमानस्थल भन्सारबाट एक क्विन्टल तस्करीको सुन पास भयो। हङकङबाट ब्रेक सुमा राखेर ल्याइएको सुन एक्स रे मेसिनमा समेत देखिएको थियो। तर, कर्मचारीको मिलेमतोमा सुन छिराइयो।
ब्रेक सुको ६३ हजार रुपैयाँ भन्सार तिरेर विमानस्थल बाहिर निकालिसकेपछि राजस्व अनुसन्धान विभागले सुन समात्यो। जसले विमानस्थल भन्सारका कर्मचारीको टोली नै तस्करीमा सामेल रहेको खुलासा भएको छ।
तर, यत्रो घटना हुँदा विमानस्थल भन्सार कार्यालय प्रमुख भने नेपालमा नरहेको पाइएको छ।
सय किलो सुन तस्करीमा जोडिएका अर्का व्यापारी– सञ्जय बबैया
विमानस्थल भन्सार प्रमुख अरुण पोखरेलले दुई महिना लामो बिदा लिएका थिए। तर, उनको बिदा पनि नियमविपरीत र शंकास्पद देखिएको छ।
त्यसैले राजस्वले यो बिदा स्वीकृतिको प्रक्रियामाथि नै अनुसन्धान थालेको छ।
भन्सार प्रमुख पोखरेलले असार १७ गतेदेखि भदौ १७ गतेसम्मको लागि बिदा लिएको जनाइएको छ।
उनको बिदा विभागीय प्रमुखले स्वीकृत गर्न सक्छन्। पोखरेल सहसचिव हुन्। हाल भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेल पनि सहसचिव नै हुन्। महानिर्देशक पौडेल वरिष्ठ र विभागीय प्रमुख भएकाले उनले नै बिदा स्वीकृत गर्न सक्थे।
तर, शोभाकान्त पौडेलले बिदा स्विकृति प्रदान गरेनन्। लामो समयको लागि बिदा माग भएको कारण उनले सो बिदाको निवेदनलाई अर्थ मन्त्रालय पठाएका थिए।
त्यसैले सो बिदाको निवेदन अर्थसचिव अर्जुन पोखरेलसम्मको टेवलमा पुग्यो।
‘बिदा माग भएको थियो। तर त्यो बिदा स्विकृतिको लागि भने मन्त्रालय पठाइएको हो,’ भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले नेपालखबरसँग भने।
सामान्यतः निवेदन दिइसकेपछि कर्मचारीहरु बिदामा बस्छन्। तर, विमानस्थल भन्सार प्रमुखले बिरामी बिदा लिएका हुन्। तसर्थ उनले बिदाको प्रक्रिया पूरा गरेका छैनन्।
निजामती सेवा नियमावली अनुसार बिरामी बिदा सुरुमा सात दिन र त्यसपछि आवश्यकताअनुसार दिनुपर्ने उल्लेख गरेको छ।
नियमावलीमा भनिएको छ, ‘सात दिनभन्दा बढी अवधिको बिरामी बिदाको माग गर्ने निजामती कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेस गर्नु पर्नेछ।’
तर, अरुण पोखरेलले सुरुमै दुई महिना लामो बिदा मागेका छन्। यसरी बिरामी बिदा, त्यो पनि दुई महिनाको अवधि नै तोकेर किन मागियो? राजस्व अनुसन्धान विभागले यसलाई शंकास्पद मानेको छ।
बिदाको निवदेन दिएर उनी उपचारको लागि भन्दै चीन गएका थिए। तर उनी हाल चीनमा समेत नभएको अनुसन्धानले देखाएको छ।
भन्सारका कर्मचारीसँग समेत उनी सम्पर्कमा छैनन्।
उनको बिदासँग जोडिएको अर्को पक्ष भनेको सुन आयात गर्ने कम्पनी रेडी ट्रेड प्रालिको आयात हो। उनले बिदा लिनेबित्तिकै सुनको आयात भएको र भन्सार पास भएको छ।
नयाँ कम्पनी दर्ता भएर त्यही कम्पनीले ब्रेक प्याडमा हुने ब्रे सु सुनको बनाएर हङकङबाट ल्याएको देखिन्छ।
सोही प्रकृतिको सामान विभिन्न मितिमा ल्याएको देखिन्छ। विभागले सो कम्पनीको गोदामहरुमा छापा मारेको थियो। जहाँ ठूलो मात्रामा ब्रेक सु बरामद भएको छ।
सुन कसको हो भन्ने निचोडमा अहिलेसम्म विभाग पुगेको छैन। केही व्यापारीहरु विभागको रेडारमा छन्।
अर्कोतिर अनुसन्धान कर्मचारीको सेटिङमाथि पनि भइरहेको छ।
भन्सार विभागकै आन्तरिक अध्ययनमा विमानस्थलका १५ जनाभन्दा बढी कर्मचारीको प्रत्यक्ष संलग्नता देखिएको छ। सय किलो सुनकाण्डमा विमानस्थल भन्सारका कर्मचारीको सेट नै जाने अवस्था बन्दैछ।
Shares
प्रतिक्रिया