५५ वर्षभन्दा माथिको उमेर समूहका नेपालीहरू कृषिमा आवद्धता हुने क्रम बढेको छ। नेपालको जनसंख्याबारेको अध्ययन अनुसार बुढेसकाल सुरु भएपछि कृषिमा लाग्नेको संख्या बढिरहेको र युवाहरुको संख्या घटिरहेको देखिएको हो।
राष्ट्रिय तथ्याङ्क कार्यालयले १० वर्षको अन्तरमा गणना हुने कृषि गणानाको नतिजा सार्वजनिक गर्दा यस्तो अवस्था देखिएको हो। २०७८ को विवरण बिहीबार सार्वजनिक गरिएको हो।
सार्वजनिक नतिजा प्रतिवेदनअनुसार कुल कृषिमा आवद्ध हुने नेपालीमध्ये ५५ वर्ष उमेरदेखि ६४ उमेर समूह २०६८ सालमा १७ दशमलव ६ प्रतिशत कृषिमा थिए। तर अहिले त्यो संख्या बढेर १८ दशमलव ३ प्रतिशत पुगेको छ।
६५ वर्ष उमेर भन्दा माथिकाहरु योभन्दा अघि ११ दशमलव ४ प्रतिशत कृषिमा आवद्ध रहेकोमा अहिले त्यो संख्या १३ प्रतिशत पुगेको हो।
तर युवा उमेर समूहको संख्या भने घटिरहेको तथ्याङ्कले देखाएको हो।
प्रतिवेदनमा भनिएको छ, ‘२५ वर्ष भन्दा कम उमेर समूहको हिस्सा २०६८ सालमा ३ दशमलव १ प्रतिशत रहेकोमा २०७८ सालमा २ दशमलव ६ प्रतिशतमा पुगेको छ। २५ देखि ३४ वर्ष उमेर समूहको संख्या १६ दशमलव १ प्रतिशतबाट घटेर १४ दशमलव ९ प्रतिशतमा आइपुगेको छ। ३५ देखि ४४ वर्ष उमेर समूहको संख्या २६ दशमलव ७ प्रतिशतबाट घटेर २५ दशमलव ७ प्रतिशतमा आइपुगेको छ।’
त्यस्तै ४५ वर्षदेखि ५४ वर्ष उमेर समूहको संख्या २५ दशमलव १ प्रतिशतबाट घटेर २४ दशमलव ८ प्रतिशतमा आइपुगेको प्रतिवेदनले देखाएको हो।
तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ३९ लाख ९९ हजार परिवारले खेतिपाती गर्ने गरेको पाइएको छ। १ लाख ३२ हजारले पशुपन्छि मात्रै पाल्ने गरेको पाइएको हो। कृषि गणना २०६८ अनुसार भने ३७ लाख १६ हजार खेतिपातीमा आवद्ध र १ लाख १६ हजार पशुपन्छि मात्रै पालनमा रहेका थिए।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार खेतिपाती गर्ने परिवार अन्तर्गत चार आना वा चार धुर वा त्यससरह भन्दा बढी जग्गामा खेतिपाती गर्नेलाई कृषक परिवारमा गणना गरिएको छ।
प्रतिवेदन अनुसार नेपालमा कुल कृषकको संख्या ४१ लाख ३१ हजार रहेको देखिएको छ। यो संख्या २०६८ भन्दा ३ लाख थप भएको हो।
पशुपन्छी पालन गर्ने र खेती गर्ने गर्नेको कुल संख्या २०६८ सालमा ३८ लाख ३१ हजार रहेकोमा अहिले त्यो संख्या ४१ लाख ३१ हजार परिवार पुगेको हो।
कृषि गणना २०७८ अनुसार कृषक परिवारले उपयोग गरेको २२ लाख १८ हजार हेक्टर जग्गा मध्ये कृषि कार्यमा २१ लाख २२ हजार हेक्टर अर्थात् ९६ प्रतिशत उपयोग भइरहेको छ।
८१ हजार हेक्टर वन बनेलो रहेको छ। १३ हजार हेक्टर पोखरी र ३ हजार हेक्टर अन्य प्रकारको जग्गा रहेको पाइएको कृषि गणानाको प्रतिवेदनले देखाएको छ।
कृषि कार्यमा प्रयोग भएको अधिकांश जग्गा अर्थात् १७ लाख ३१ हजार हेक्टरमा बाली लगाइएको छ। १ लाख ४५ हजार हेक्टरमा फलफूल लगाइएको छ।
कृषि गणना अनुसार २८ लाख ८९ हजार कृषक परिवारले १२ लाख ९ हजार हेक्टर जग्गामा सिंचाई सुविधा लिएको छ। अर्थात् कृषि परिवारले चलन गरेको जग्गा मध्ये ५५ प्रतिशत क्षेत्रफलमा मात्रै सिंचाई सुविधा पुगेको छ।
१० वर्षअघि अर्थात् २०६८ मा ५२ प्रतिशतमा मात्रै सिंचाई सुविधा थियो।
खेतीपाती र पशुपन्छी पालन दुवै गर्ने र पशुपालन मात्रै गर्ने यी दुईको तथ्याङ्क जोड्ने हो भने ३४ लाख ५ हजार परिवार छन्।
त्यसमा गाईगोरु पाल्नेको संख्या १७ लाख ८ हजार रहेको छ। कुल गाईगोरुको संख्या ४५ लाख ८१ हजार रहेको छ।
१० वर्षअघि गाईगोरुको संख्या ६४ हजार ३० लाख रहेको छ।
राँगाभैंसीको संख्या अहिले नेपालमा २९ लाख २३ हजार छ। बाख्रा च्याङ्ग्राको संख्या भने १ करोड ४२ लाख ४२ हजार पुगेको छ।
भेडाको संख्या ४ लाख ७८ हजार पुगेको छ। सुंगुर बंगुरको संख्या १३ लाख ५८ हजार पुगेको नतिजा प्रतिवेदनमा उल्लेख छ।
Shares
प्रतिक्रिया