ad ad

कारोबार


संसद्‌बाट सकारात्मक बहस भए अर्थतन्त्रमा सुधार आउँछ : अर्थमन्त्री

संसद्‌बाट सकारात्मक बहस भए अर्थतन्त्रमा सुधार आउँछ : अर्थमन्त्री

नेपालखबर
भदौ २१, २०८० बिहिबार १७:२४, काठमाडौँ

अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनको लागि संसदबाट नै सकारात्मक बहस गर्न आवश्यक रहेको बताएका छन्।

बिहीबार बसेको प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोउत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताएका हुन्। उनले देशमा अर्थतन्त्र लगायतका विषयमा सकारात्मक बहसको आवश्यकता रहेको भन्दै उक्त बहस संसदबाटै सुरु गर्न आवश्यक रहेको बताए। 

उनले देशमा सबै नराम्रो मात्रै भएको छ,अर्थतन्त्र ओरालो लागेर बिग्रियो, अब यो देशमा बस्नु र लगानी गर्नुको औचित्य छैन भन्ने जस्ता नकारात्मक सन्देश समाजमा फैल्याउन नहुने उल्लेख गरे। 

‘देशमा सकारात्मक बहसको आवश्यकता छ। देशमा सबै नराम्रो मात्रै भएको छ। अर्थतन्त्र ओरालो लागेको छ। अर्थतन्त्र बिग्रिरहेको छ। अब यो देशमा बस्नुको औचित्य छैन। लगानी गर्नुको औचित्य छैन भन्ने जुन नकारात्मक सन्देश समाजमा गएको छ। सबैले नकारात्मक मात्रै कुरा गरिराख्यो भने परिणाम पनि नकारात्मक आउँछ,’ उनले भने, ‘यस्तो हुँदा लगानीकर्ताले लगानी गर्दा फस्ने होकी भन्ने अन्योल सिर्जना हुन्छ। यो अन्योललाई चिर्न जरुरी छ। सकारात्मक बहसको थालनी गर्नुपर्ने मैले देखेको छु। कोभिड जस्तो कहाली लाग्दो परिस्थितिबाट गुज्रियौं। त्यो बेला हामी आत्तिएनौं।’

अर्थमन्त्री महतले सबैले नकारात्मक मात्रै कुरा गरी राख्यो भने परिणाम पनि नकारात्मक आउने दाबी गरे। मुलुकभित्रै लगानी गर्न लगानीकर्ताको मनोबल बढाउनुपर्ने अवस्थामा अन्योल पार्न नहुने उनको भनाइ छ। 

अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्रले कोभिड महामारी लगायत धेरै अफ्ठ्यारो परिस्थिति भोगेर आएको भन्दै अहिले मुलुकको अर्थतन्त्र सहज अवस्थामा रहेकाले आत्तिन नहुने बताए।

उनले अहिले रेमिट्यान्स,पुँजी प्रवाह, प्रर्यटन वृद्धि भइरहेको दाबी गरे। 

अर्थमन्त्री महतले लगानीलाई सहज गर्न मौद्रिक नीति मार्फत वित्त नीतिमार्फत सरकारले सम्पूर्ण प्रयास लगाउने प्रतिवद्धता जनाए।

‘अहिले सबै अवस्था पार गरेर अर्थतन्त्र सहज अवस्थामा आएको छ। अहिले रेमिट्यान्स पनि प्रशस्त छ। पुँजी प्रवाह देशभित्र भइरहेको छ। पर्यटन वृद्धि भइरहेको अवस्था छ। यस्तो हुँदा पनि किन हामी नकारात्मक मात्रै कुरा गर्ने। लगानीलाई सहज गर्न मौद्रिक नीतिमार्फत वित्त नीतिमार्फत सरकारले सम्पूर्ण प्रयास लगाउँछ,’ उनले भने, ‘सकारात्मक बहसको थलनी संसदबाट हुनुपर्छ। निराश हुने अवस्था छैन। देश सकारात्मकतर्फ उन्मुख हुँदैछ। मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै छ। त्यसका संकेतहरु देखिएका छन्। राजस्व संकलनमा सुधार आएको छ। आर्थिक गतिविधिहरु बढ्ने वित्तिकै अर्थतन्त्रमा सुधार देखिन्छ।’

देशको अर्थतन्त्र सकारात्मक तर्फ उन्मुख हुँदै गएको बताउँदै उनले राजश्व संकलनमा सुधार भएको भन्दै आर्थिक गतिविधिहरु बढ्ने बित्तिकै अर्थतन्त्रमा सुधार हुने विश्वास रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .