यस साता सेयरबजार २०२९.७८ विन्दुमा अडिएको छ। २००७.०६ विन्दुमा खुलेको बजार साताभरी २२.७२ अंकले बढेर २०२९.७८ विन्दुमा पुगेको हो।
यस साता चार कारोबार दिन खुलेको बजार ३ दिन उकालो लाग्दा १ कारोबार दिन घटेको थियो।
कारोबारको पहिलो कारोबार दिन ४२.१४ अंकले घटेको बजारमा त्यसपछि निरन्तर बढ्न सफल रह्यो।
मार्जिन प्रकृतिको सेयर धितो रहेको एकल ग्राहक कर्जाको १२ करोड सीमा संशोधन हुने चर्चा चलेसँगै बजारमा एकाएक उत्साह देखियो। जसकारण पछिल्लो तीन कारोबार दिनमा नेप्से ६५ अंक सफल देखियो।
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेको बेला सेयर धितोमा रहेको एकल ग्राहक कर्जाको सीमा बढाउने चर्चा हुनथालेपछि लगानीकर्ता उत्साहित भए।
लगानीकर्तामा उत्साह बढेसँगै सेयरबजारसँगै कारोबार बढेर दोब्बर भएको छ। अघिल्लो साता नेप्सेमा ४ अर्बको कारोबार भएकोमा यो साता कारोबार बढेर ८ अर्ब नाघेको छ।
स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न पाउने व्यवस्था आएको केही समयमै एकल ग्राहक कर्जाको सीमा बढाइने चर्चाले लगानीकर्ताको मनोबल बढेको छ।
सरकारले स्थानीय तहको पैसा वित्तीय संस्थालाई निक्षेपमा गणना गर्न दिएको केही समयमा ब्याजदर घटाउने र एक ग्राहक कर्जाको सीमा संशोधन गर्ने कुराले लगानीकर्ताको मनोबल बढ्न गई बजारसँगै कारोबार बढ्न थालेको जानकार बताउँछन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक रुपमा ब्याजदर घटाएर अर्थतन्त्र चलाएमान बनाउने अभिव्यक्ति दिँदै आइरहेका छन्। अर्थमन्त्री महतको निर्देशनमा असोजमा सरकारी बैंकले समेत ब्याजदर घटाए।
मन्त्री महतले अर्थतन्त्र र सेयरबजारको लागि नीतिगत रुपमा केही सुधार गर्ने देखिएपछि लगानीकर्ता हौसिएका छन्।
यस साता सेन्सेटिभ इन्डेक्स १.९२ अंकले बढेको छ। उता फ्लोट इन्डेक्स १.४५ अंक बढेको छ। यो साता सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ अंकले बढेको छ। यस साता नेप्सेको कूल बजार पुँजीकरण ३० खर्ब ७४ अर्ब छ।
९ उपसूचकमा बढ्दा चारमा गिरावट
यस साता १३ वटा उपसूचक मध्ये ९ को बढोत्तरी आएको छ। त्यसैगरी ४ उपसमूह घटेको छ। यस साता बैंकिङ, होटल, लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसूचकमा गिरावट आएको छ। अघिल्लो साता भने १३ वटै उपसूचकमा बढोत्तरी देखिएको थियो।
यस साता होटल उपसूचक ६४ अंकले घटेको छ। त्यसैगरी लाइफ इन्स्योरेन्स उपसूचक ७३.६ अंक, बैंकिङ ८ अंक र ट्रडिङ उपसूचक ७३.३२ अंकले घटेको छ।
यो साता निर्जीवन उपसूचक, म्यानिफ्याचरिङ, डेभलपमेन्ट बैंक, माइक्रोफाइनान्स, हाइड्रो, फाइनान्स, अन्य, इन्भेष्टमेन्ट र म्युचल फण्ड बढेको छ।
यो साता म्युचल फण्ड उपसूचक ०.२२ अंक, इन्भेष्टमेन्ट १.०३, अन्य उपसूचक १५ अंक, फाइनान्स ५७.३९ अंक, हाइड्रोपावर १३८ अंकले बढेको छ।
साथै, निर्जीवन उपसूचक १९ अंक, म्यानिफ्याचरिङ १२२ अंक, डेभलपमेन्ट बैंक ११३.६ अंक र माइक्रोफाइनान्स उपसूचक ४०.९२ अंकले बढेको छ।
यो साता सूचीकृत सेयर
यस साता नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ। कम्पनीले यो साता नेप्सेमा ३ करोड २० लाख कित्ता सूचीकृत गरेको छ। कम्पनीको आईपीओ सूचीकृत भई कारोबार समेत सुरु भइसकेको छ।
सर्वाधिक कमाउने कम्पनी
यो साता नेप्सेमा शुभम पावर कम्पनी, थ्रीस्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेको छ। यो साता यी दुई कम्पनीका सेयरधनीले सर्वाधिक कमाउन सफल रहे।
सर्वाधिक कारोबार गर्ने कम्पनी
यो साता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईस एशिया बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
यो साता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक ५५ करोड बढीको कारोबार भएको छ। साथै, एनआईसी एशिया बैंकको ४४ करोडको कारोबार भएको छ।
सर्वाधिक डिमान्डको कम्पनी
फ्लोरसिट विश्लेषण गर्दा यस साता मोस्ट पपुलर बाई स्टक सूचीको शीर्ष स्थानमा माछापुच्छ्रे बैंक र थ्रीस्टार हाइड्रोपावर कम्पनी रहेका छन्।
Shares
प्रतिक्रिया