नेपालमा ६२ प्रतिशत वैदेशिक लगानी औद्योगिक क्षेत्रमा आएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको सर्भे रिपोर्ट अनुसार जलविद्युत् क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादनमूलक उद्योगमा २९.५ प्रतिशत वैदेशिक लगानी भित्रिएको हो।
आर्थिक वर्ष २०७८/०७९ मा औद्योगिक क्षेत्रपछि ३७.३ प्रतिशत सेवा क्षेत्रमा भित्रिएको छ। जसमा बैंक तथा वित्तीय संस्थामा २५.६ प्रतिशत रहेको छ भने होटल तथा रेस्टुरेन्टमा ५.३ प्रतिशत छ। त्यस्तै ४.८ प्रतिशत सूचना र प्रविधि क्षेत्रमा लगानी आएको सर्भेले देखाएको छ।
जलविद्युतमा सबैभन्दा बढी लगानी आएको देखिएको छ। जलविद्युतमा वैदैशिक लगानी मात्रै नभई ऋण समेत भित्रिएको छ।
नेपालमा वैदेशिक लगानी भित्र्याउने कम्पनीमा उत्पादनमूलक उद्योगले ७१.१ प्रतिशत क्षमता उपयोग गरेका छन् भने नाफा कमाउने १४.३ प्रतिशत मात्रै छन्।
नेपाल राष्ट्र बैंकले २३१ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षण गरेको थियो। कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब रुपैयाँ भित्रिएको थियो। कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत छ।
५७ वटा देशबाट वैदेशिक लगानी भित्रिएकोमा भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड, सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।
अस्ट्रेलियाबाट १३ अर्ब १५ करोड, दक्षिण कोरियाबाट १२ अर्ब ७७ करोड, यूएईबाट १० अर्ब ६४ करोड, अमेरिकाबाट ८ अर्ब ४१ करोड, नेदरल्यान्ड्सबाट ६ अर्ब ३३ करोड भित्रिएको छ। वैदेशिक लगानीमा भारतको हिस्सा ३३.५ प्रतिशत र चीनको १२ प्रतिशत छ।
कुन क्षेत्रमा कति लगानी?
आर्थिक वर्ष २०७७/०७८ मा २ खर्ब २७ अर्ब वैदेशिक लगानी भित्रिएकोमा ०७८/०७९ मा २ खर्ब ६४ अर्ब रुपैयाँ भित्रिएको थियो। सो वर्ष लगानी १६ प्रतिशतले बढेको थियो।
२०७८/०७९ मा जलविद्युत क्षेत्रमा ८६ अर्ब ८१ करोड रुपैयाँ भित्रिएको छ। त्यसअघि ७० अर्ब १४ करोड रुपैयाँ भित्रिएको थियो। उत्पादनमूलक क्षेत्रमा ७७ अर्ब ९२ करोड भित्रिएको छ। ०७७/०७८ मा ६७ अर्ब ३५ करोड रुपैयाँ भित्रिएको छ।
सर्भेको वर्ष बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा १० प्रतिशतले लगानी बढ्दा ६७ अर्ब ७८ करोड रुपैयाँ भित्रिएको थियो। होटल तथा रेस्टुरेन्टमा १३ अर्ब ८८ करोड, सूचना तथा सञ्चार क्षेत्रमा १२ अर्ब ७३ करोड, शिक्षामा २ अर्ब ७ करोड, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा ७३ करोड, कृषि क्षेत्रमा २६ करोड र खानी उद्योगमा ३६ करोड रुपैयाँ लगानी भित्रिएको छ।
भारतले जलविद्युतमा ३७ अर्ब ९६ करोड रुपैयाँ लगानी गर्दा उत्पादनमूलक क्षेत्रमा ३१ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेको छ। बैंक तथा वित्तीय क्षेत्रमा १६ अर्ब र होटलमा ४ अर्ब रुपैयाँ लगानी गरेको छ।
चीनको सबैभन्दा बढी लगानी विद्युतमै छ। चीनबाट २३ अर्ब ३७ करोड विद्युतीय क्षेत्रमा लगानी आउँदा उत्पादनमूलकमा १४ अर्ब ९८ करोड, सूचना र प्रविधि क्षेत्रमा १ अर्ब ६० करोड र होटल तथा रेस्टुरेन्टमा ९४ करोड रुपैयाँ लगानी गरेको छ।
वैदेशिक लगानी बागमती प्रदेशमा सबैभन्दा बढी छ। ५५ प्रतिशत हिस्सा बागमतीमा हुँदा कोशी प्रदेशमा १७ प्रतिशत, गण्डकी प्रदेशमा १६ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत, लुम्बिनीमा १ प्रतिशत, कर्णालीमा ०.०२ प्रतिशत र सुदूरपश्चिम ०.९ प्रतिशत छ।
१५ अर्ब नाफा स्वदेश लगे
नेपालमा लगानी गरेका कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा १५ अर्ब ६७ करोड रुपैयाँ नाफा लगेका छन्। आव २०७७/०७८ को तुलनामा ११ अर्ब कम नाफा लगेका हुन्। नाफा लैजानेमा उत्पादनमूलक उद्योग अगाडि छ। जसले ७ अर्ब ३१ करोड रुपैयाँ नाफा लगेका छन्।
उत्पादनमूलक उद्योगमा सिमेन्ट उद्योगहरु होङ्सी, अर्घखाँची, मारुतीलगायत छन्। घरायसी प्रयोगका वस्तु उत्पादन गर्ने डाबर नेपाल र युनिलिभर, टोबाको कम्पनी सूर्य नेपालले बढी नाफा लैजाने गरेका छन्।
दोस्रोमा सूचना तथा सञ्चार उद्योगले ५ अर्ब ४० करोड रुपैयाँ लगेका छन्। एनसेल आजियटा नाफा बढी कमाउने कम्पनीमा पर्छ।
त्यस्तै जलविद्युतबाट १ अर्ब ६७ करोड रुपैयाँ फिर्ता लैँजादा बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८ करोड रुपैयाँ नाफा विदेशिएको छ। कृषि क्षेत्रबाट ३० लाख, निर्माण क्षेत्रबाट ५ करोड, यातायात र गोदामबाट २ करोड ५० लाख रुपैयाँ विदेश लगिएको छ।
Shares
प्रतिक्रिया