ad ad

कारोबार


उत्तर पश्चिमी सीमा नाका टिंकरमा मोबाइल सुविधा

उत्तर पश्चिमी सीमा नाका टिंकरमा मोबाइल सुविधा

नेपालखबर
असोज १७, २०८० बुधबार १५:२९, काठमाडौँ

नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। हिजो (२०८० असोज १६) देखि मोबाइल सेवा सञ्चालनमा आए पछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन्।

चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्याएको थियो।

पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए। अब भने टिंकर क्षेत्रमा रहेका करिव ५ सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन्। यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरु समेत यसबाट लाभान्वित हुनेछन्।

करिब ३ हजार ७ सय मिटरको उचाईमा अवस्थित टिंकर भारत सहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिव १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ। त्यहाँबाट करिब ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ।

नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .