हिमालयन रि–इन्स्योरेन्सले भारतीय व्यवस्थापन छाडेर नेपाली युवालाई नै कम्पनीको नेतृत्व सुम्पिएको छ।
भारतबाटै बीमा करिअर थालेकी उपासना पौडेलले चुक्ता पूँजी बढाएर १० अर्ब पुर्याउन लागिएको कम्पनी हाँक्ने जिम्मेवारी पाएकी छन्।
‘प्रगति गर्ने हो भने सधैँ आफैंसँग प्रतिस्पर्धा गर्नु पर्छ। चाहे त्यो व्यक्तिगत होस् या कम्पनी,’ भन्ने सूत्रमा उनी सफल भएकी छन्।
उनलाई हिमालय रि–इन्स्योरेन्समा भारतीय नागरिक चन्द्रशेखरन रामामूर्तिको जिम्मेवारीबाट कम्पनीलाई उचाइमा पु¥याउने दायित्व आएको छ।
चन्द्र शेखरनको राजीनामालाई स्वीकृत गर्दै कम्पनीको सञ्चालक समितिले पौडेललाई नियुक्त गरेको हो।
युनाइटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भइसकेकी उनी हिमालय रिमा डेप्युटी सीईओको रुपमा काम गर्दै आएकी थिइन्।
व्यवस्थापनमा सीईओसँगै डेप्युटी सीईओ दुवैजना भारतीय नागरिक थिए। पौडेल भन्दा सिनियर मुकेशकुमार कपुर डेप्युटी सीईओ थिए।
पौडेल करिब १० महिनाअघि मात्रै डेप्युटी सीईओका रुपमा हिमालय रि–इन्स्योरेन्स प्रवेश गरेकी थिइन्। २०७९ मंसिरमा प्रमुख कार्यकारी अधिकृतबाट ठूलो कम्पनीमा डेपुटी सीईओकै रुपमा प्रवेशगरे पनि आफूलाई प्रमाणित गर्दै नेतृत्वमा पुगेकी छन्।
तीन वर्षअघि उनी बीमा कम्पनीको पहिलो महिला सीईओ बनेकी थिइन्। हाल ३७ वर्ष उमेर पूरा गरेकी पौडेल नेपालका वित्तीय संस्थामा कम उमेरकी सीईओ हुन्।
बोर्डले निर्णय गरी गतहप्ता पठाए पनि बीमा प्राधिकरण प्रक्रियाका लागि केही समय रोकेको थियो।
मंगलबार हिमालय रि को प्रमुख कार्यकारी अधिकृतमा पौडेललाई स्वीकृति दिएसँगै पूर्णरुपमा जिम्मेवारी लिने छन्।
हिमालय रि निजी लगानीमा करिब तीनवर्ष अघि सञ्चालनमा आएको हो। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा हिमालय रिको अध्यक्ष रहेका छन्।
ठूला घरानाको लगानी रहेको कम्पनीको निर्देशकमा शाहिल अग्रवाल, अमित मोर, साक्षी गुप्ता र स्वतन्त्र निर्देशकमा सुवास झुनझुनवाला रहेका छन्। ७ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले सर्वसाधारणलाई सेयर जारीबाट ३ अर्ब उठाई १० अर्ब बनाउने तयारी गरेको छ।
यसरी सुरु भएको थियो उपासनाको बीमा करिअर
काठमाडौंमा डीएबी स्कुलकी विद्यार्थी हुन् उपासना। काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा स्नातक गरेपछि स्नाकोत्तरका लागि भारत गइन्।
भारतको गन्यमान्य कलेज दिल्ली युनिभर्सिटीमा म्यानेजमेन्ट स्टडिजमा एमबीए पूरा गरिन्।
अध्ययनका क्रममा कलेजले नै काम मिलाइदिन्थ्यो। पुणेको एक कम्पनीमा तीन महिना इन्टर्नसिप गरिन्। जुन उनको पहिलो व्यवसायिक करिअर रह्यो।
अध्ययनका क्रममा उपासनाले भारतमै बिहे गरिन्। श्रीमानसँगै मुम्बाई बस्न थालिन्। मुम्बई बस्दा एक बीमा कम्पनीमा काम गर्न थालिन्।
त्यहीँबाट उनलाई बीमा क्षेत्रप्रति चासो जाग्यो। केही समयपछि भारतको चर्चित कम्पनी वोडाफोनमा अवसर पाइन्। तर, त्यहाँ लामो समय काम गर्न मन लागेन।
उनलाई आफ्नो विज्ञता बीमामै छ भन्ने लाग्यो। ‘लेट्स गो ब्याक’ भनेर बीमा क्षेत्रमै फर्किइन्।
बीमा कम्पनीको करिअर नेपालबाटै बढाउन २०१८ मा स्वदेश फर्किइन्। सुरुमा सानिमा जनरल इन्स्योरेन्समा असिस्टेन्ट जनरल म्यानेजरका रुपमा काम गरिन्।
सानिमामा झन्डै डेढ वर्ष काम गरेपछि युनाइटेड इन्स्योरेन्समा डेपुटी सीईओका जिम्मेवारी सम्हालिन्।
वर्षौँदेखि लगानीकर्तालाई प्रतिफल दिन नसकेको युनाइटेड इन्स्योरेन्सलाई लाभांश वितरण गर्ने कम्पनीका रुपमा स्थापित गरी उनी बाहिरिएकी थिइन्।
कोभिड माहामारीका बेला युनाइटेड इन्स्योरेन्समा देखाएको कुशलता र १० महिना रि–इन्स्योरेन्सको अनुभवले उनी हिमालयन रि–इन्स्योरेन्सलाई अगाडि बढाउन सफल हुने विश्वास गरिएको छ।
Shares
प्रतिक्रिया