चीनले आयोजना गरेको तेस्रो बेल्ट एन्ड रोड फोरम (बीआरआएफ) मा नेपालका दुईजना मन्त्रीहरू सहभागी हुने भएका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले आयोजना गरेको यो विश्वस्तरीय सम्मेलनका लागि हालसम्म दुई मन्त्रीहरुलाई निमन्त्रणा प्राप्त भएको छ।
तर, नेपालबाट उपप्रधानमन्त्रीस्तरमा सहभागिताका लागिसमेत प्रयास भइरहेको छ।
स्रोतका अनुसार, ३० असोज–१ कात्तिक (१७–१८ अक्टोबर) मा हुने तेस्रो बीआरएफका लागि ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई चीन सरकारले निमन्त्रणा दिएको छ।
‘निमन्त्रणा प्राप्त भएकाले उहाँहरुले तेस्रो बीआरआई सम्मेलनमा सहभागिता पक्कापक्की जस्तै छ’, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘तर, उपप्रधानमन्त्रीको तहबाटै प्रतिनिधित्वका लागि पनि प्रयास भइरहेको छ।’
तेस्रो बीआरएफमा नेपालले उपप्रधानमन्त्री तहको सहभागिता जनाएमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेतृत्व गर्नेछन्।
नेपालको तर्फबाट कसले सहभागिता जनाउने भन्ने टुङ्गो लागिनसकेको ऊर्जामन्त्री बस्नेत बताउँछन्।
‘बेल्ट एन्ड रोड फोरमका लागि नेपाललाई निमन्त्रणा प्राप्त भइसकेको छ, मैले पनि निमन्त्रणा प्राप्त गरेको छु’ मन्त्री बस्नेतले नेपालखबरसँग भने, ‘यससम्बन्धी अन्तिम निर्णय भने मन्त्री परिषदको बैठकले गर्नेछ।’
उनको भनाइमा, यसै हप्ता बस्ने मन्त्रिपरिषद् बैठकले तेस्रो बीआरएफमा सहभागी हुने मन्त्रीहरुको नामबारे निर्णय गर्नेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै सम्पन्न चीन भ्रमणका क्रममा ऊर्जा र भौतिक पूर्वाधार विकासका सम्बन्धमा केही समझदारी भएका थिए।
त्यसै आधारमा ‘बीआरएफ’ मा नेपालको तर्फबाट ऊर्जामन्त्री बस्नेत र भौतिक पूर्वाधारमन्त्री ज्वालाले सहभागिता जनाउन लागेका हुन्।
बीआरआई फोरममा चीनले प्रधानमन्त्री प्रचण्डकै सहभागिता चाहेको थियो। तर, उनले हाङ्झाओमा जारी एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुँदै गत हप्ता चीनको भ्रमण गरेकाले बीआरएफमा सहभागी हुने सम्भावना छैन।
सन् २०१९ मा सम्पन्न दोस्रो फोरममा नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सहभागिता जनाएकी थिइन्। यसपटक चीनले राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा दिएको छैन।
Shares
प्रतिक्रिया