ad ad

कारोबार


उपभोक्ता ठगिने काम भए तत्काल पदबाट राजीनामा दिन्छु : उद्योगमन्त्री रिजाल

उपभोक्ता ठगिने काम भए तत्काल पदबाट राजीनामा दिन्छु : उद्योगमन्त्री रिजाल

नेपालखबर
असोज २२, २०८० सोमबार १७:३०, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनैपनि काम आफूबाट हुनै नसक्ने बताएका छन्।

सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूले उपभोक्ताको नाममा बद्मासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने समेत बताए।

मन्त्री रिजालले चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा त्यसमा सुधार गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे।

उनले कालो बजारी गर्नेहरुलाई सोही अनुसारको दण्डसजायको व्यवस्था गर्न कानूनकै अभाव रहेको गुनासो समेत गरे। मन्त्री रिजालले उपभोक्ताहरुमाथि ठगी गर्नेहरुलाई गरिएको दण्डसजाय असुली गर्न सरकारसँग कुनै मेकानिजमनै नभएको पनि पटकपटक बताए।

मन्त्री रिजालले भने, ‘मैले कुनै दिन गल्ती गरे भने तुरुन्तै राजीनामा दिएर बाहिर जान्छु भन्ने म विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु। मलाई न त्यो जरुरत छ। न म बाट कमिशन खाने काम हुन्छ भनेर म विश्वास दिलाउन चाहन्छु। कानूनी सजाय दिने अधिकार हामीसँग धेरै छैन्। कानूनहरुमा पनि परिमार्जन गर्नुपर्ने जरुरत हामीले देखेका छौं। अव त्यो विस्तारै हुँदै जाला। अव ठूल्ठूला बद्मासहरुले ठूल्ठूला अपराधहरु गरिरहेका हुन्छन्। तर ३ लाख भन्दा बढी सजाय गर्न सकिँदैन। सजाय गरिएको पैसा असुली गर्न पनि हामीलाई कानूनको अभाव छ। उसले आएर दियो भने त ठिकै हो। तर दिएन भने उठाउनका लागि कुनै मेकानिज्म पनि बनिसकेको छैन।’

बैठकमा बोल्दै सत्तारुढ दलका सांसदहरुले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गरेका थिए।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले चिनी जस्ता चाडपर्वमा अतिआवश्यक बस्तुको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरे। उनले साल्ट ट्रेडिङ र खाद्य संस्थानले आफ्नो काम गर्न नसकेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने अवस्था आएको पनि बताए।

सांसद केसीले भने, ‘यदी बजारलाई हस्तक्षेप गर्ने हो भने चाडपर्व आउँछ भन्ने पनि थाहा छ। बढि चिनी तिहारमा चाहिन्छ भन्ने पनि थाहा छ। मन्त्रीज्यू आउनु भएको पनि ३÷४ महिना भयो। के हुँदैछ यो नेपालमा? सबै कुरा थाहा छ। तर हामीले निर्णय गरेका छैनौं। यो विषय गम्भिर विषय हो।’

नेपाली कांग्रेसकै अर्का सांसद अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार अनुगमन गरेपनि सरकारले जनताको चाहना अनुसार सस्तो मूल्यका वस्तुहरुको उपलब्धता गराउन नसकेको बताए। उनले मूल्यवृद्धि निरन्तरको प्रक्रिया जस्तो बन्दा पनि त्यसलाई नियन्त्रण गर्न सरकार लागि नपरेका गुनासो गरे।

सांसद केसीले मुलुकमा वित्तीय अराजकताको शुरुवात भइरहेकोतर्फ पनि सरकारलाई सचेत गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .